बाँकेका जनप्रतिनिधि बजेट माग्दै प्रदेश र संघको ढोकामा

समृद्ध वडाको सपना

नेपालगन्ज उपमहानगरपालिकाका लागि नगर विकास कोषसँग कति ऋण माग्ने ? ‘अत्यावश्यक पूर्वाधारका लागि मात्रै ऋण लिने योजना बनाउँदैछौं’, नगर प्रमुख डा. धवल समशेर राणाले योजना बुन्दै गर्दा नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजाल आफु सम्बद्ध पार्टी नेताहरु सहित संघीय राजधानी काठमाडौंका विभिन्न मन्त्रालयका ढोका घच्घच्याउँदै छन् ।


‘मलाई केन्द्र र प्रदेश सरकारसँग कम्तिमा २५ करोड बराबरको योजना स्वीकृत गराउनुछ’, संघीय सरकारका विभिन्न मन्त्रालयका ढोका घच्घच्याउन काठमाडांैको टिकट काटिसकेका नेपालगन्ज–१८ का वडाध्यक्ष दिपक कुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘यसअघि प्रदेश सरकारका मुख्यमन्त्रीसँग भेटघाट गरी फ्रिज हुनै लागेको एक करोड रुपैयाँ वडाको सडकमा पार्न सफल भइयो ।’


समृद्ध वडाको सपना बोकेका वडाध्यक्ष प्रमोद र दिपक मात्रै होइन नेपालगन्ज–१२ का बुद्धि सागर सुवेदी पनि राजधानी काठमाडौं पुगिसकेका छन् । ‘हाम्रो वडाका लागि करिब १५ करोडका योजना सहरीविकास मन्त्रालयसँग माग गरेका छौं’, वडाध्यक्ष सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्रीज्यू पनि स्थानीय नै भएकाले विश्वास छ, योजनाहरु स्वीकृत हुनेछन् ।’
राज्य पुनर्संंरचनापछि स्थानीय सरकार बलियो अधिकारका साथ स्थापित भएका छन् ।

त्यससँगै चुनिएका जनप्रतिनिधिहरु आफ्नो मातहतको तहलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बुनिरहेका छन् । ‘आ–आफ्नो सम्पर्क सम्बन्ध र राजनीतिक पहुँचका आधारमा योजना ल्याउने प्रयास स्वागत योग्य हो’, नगर प्रमुख डा. राणाले उपमहानगरपालिका आफैपनि कसरी केन्द्रबाट बजेट ल्याउन सकिन्छ भन्ने प्रयासमा उद्दत रहेको जानकारी दिंदै भने, ‘सक्रिय वडाध्यक्षहरु आ–आफ्नो ठाउँबाट लाग्नु नेपालगन्ज बनाउने साझा प्रयास हो ।’ डा. राणाका अनुसार, पछिल्लो आर्थिक बर्ष झण्डै ४८ करोड केन्द्र सरकारको अनुदान पाएको नेपालगन्जले आगामी आर्थिक बर्ष यति नै दिन्छ भन्ने निश्चित छैन । ‘त्यसबाहेक कान्ति तालका लागि ५ करोड, गरिबी निवारणका लागि ५ करोड र तराई मधेस पूर्वाधार विकासबाट एक करोड गरी ११ करोड रुपैयाँ थप रकम आएको छ’, डा. राणाले बजेट पार्न निरन्तर प्रयास गरिरहेको जानकारी दिंदै भने ।

नेपालगन्ज–१ लाई खेलकुद हब बनाउने योजना वडाध्यक्ष रिजालको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रिजालले वडा सदस्य डम्बर थापा, धम्बोझी स्पोर्टस् क्बलका अध्यक्ष देबेन्द्र खड्का र नेकपाका नेता निरक गुरुङ्ग लगायतलाई लिएर काठमाडौं पुगेका छन् । ‘काठमाडांै रहनु भएका नेपालगन्जबासीलाई पनि डेलिगेशनमा सहभागी गराइरहेको छु’, सहरी विकास मन्त्रालय पुगेका वडाध्यक्ष रिजालले नेपालगन्जको ढल निकासका लागि अझै पनि चार किलोमिटर नयाँ नाला प्रस्ताव गरिएको जानकारी दिंदै भने, ‘वडा नं. २० देखि १८ हुँदै १ बाट १२ नं. वडाको बाटो दोन्द्रा नालामा कम्तिमा ३ मिटर चौडा नयाँ निर्माण आवश्यक देखिएको छ ।’ त्यसबाहेक विभिन्न ६ वटा आन्तरिक सडकको ४२ सय मिटर सडक कालोपत्रेको प्रस्ताव मन्त्रालय पुर्याएका वडाध्यक्ष रिजालले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो वडालाई खेलकुद हबका रुपमा विकास गर्न खोजेका छौं ।’ फुटबल एकेडेमी अगाडि बढाइसकेका वडाध्यक्ष रिजालले चार कठ्ठा जग्गामा ब्याडमिन्टन कोर्ट लगायत विभिन्न इन हाउस गेम सञ्चालन हुन सक्ने बहुउद्देश्यीय कबर्ड हल निर्माण प्रस्ताव पनि अघि सारेका छन् । ‘हामी सेना, प्रहरीको भर्ना पूर्व प्रशिक्षण केन्द्र निर्माणका लागि पनि योजना अघि बढाएका छौं,’ खासगरी भारतीय गोर्खा सैनिक, ब्रिटिश सैनिक भर्ना पूर्वका प्रशिक्षणका लागि स्थान अभाव औंल्याउँदै रिजालले २२ कठ्ठा जग्गामा उक्त प्रशिक्षण केन्द्र बनाउन संघीय सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।


त्यसबाहेक अधिकांसले आफ्नो वडालाई उज्यालो बनाउन खोजेका छन् । ‘३ सय २५ वटा सोलार सडक बत्तीका लागि ऊर्जा मन्त्रालय पुग्न लागेका वडा नं. १८ का वडाध्यक्ष बर्माले ८ हजार मिटर सडक पिचका लागि प्रदेश र केन्द्र सरकार दुवैमा प्रस्ताव पठाएका छन् । ‘सहरी विकासदेखि भौतिक पूर्वाधारसम्म सबै मन्त्रालयसम्म पुग्ने योजना छ’, मंगलबार काठमाडौं जान लागेका वडाध्यक्ष बर्माले भने, ‘स्पोर्टस्का विभिन्न विधामा पूर्वाधार माग गर्न पनि लागेका छौं ।’ समृृद्ध वडाको सपना पूरा गर्न पहिलो चरणमा २५ करोडको अपेक्षा गरेका बर्माले जेजति आउँछ काम अगाडि बढाउँदै जाने बताए । वडामा स्मार्ट हाट बजारका लागि प्रदेश स्थित कृषि मन्त्रालयसँग डेढ करोड माग गरेका उनले कारकाँदो चोकदेखि भुजई गाउँसम्म दुवै तर्फ दुई मिटर चौडा पक्की नाला निर्माणदेखि ८ हजार मिटर पक्की सडकका योजना केन्द्र सरकारसम्म पुर्याउँदै छन् । त्यसका लागि वडा सदस्य दिग्विजय ढुंगाना, नेकपाका नगर सचिव दत्त प्रसाद आचार्य लाई काठमाडौं पठाइसकेका वडाध्यक्ष बर्माले भने, ‘काठमाडौंमा नेकपा नेता अशोक कोइराला सहितका सिनियर लिडरहरुलाई लिएर मन्त्रीहरुसँग भेटघाट गर्ने कार्यक्रम बनाएको छु ।’


वडाको बजेट भवनमा खर्च गर्नु परेको वडा नं. १२ ले फुटसल निर्माणको प्रस्ताव गरेको छ । त्यसका लागि ८० लाख माग गरेको वडा नं. १२ ले चिल्डे«न पार्कका लागि ६० लाख, वडा भवनका लागि अपुग रकम, चार हजार मिटर बाटो कालोपत्रेका लागि गरी १५ करोड रकम केन्द्र सरकारसँग अपेक्षा गरेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।


नेपालगन्जका विभिन्न वडा मात्रै होइन गाउँपालिकाले पनि आ–आफ्ना योजना बोकेर प्रदेश सरकार वा केन्द्र सरकारका प्रतिनिधिहरुसँग भेटघाटका लागि प्रतिनिधिमण्डल लैजाने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया