नेपालगन्ज : विद्यालयका लागि बस्ती नै सारिंदै

विद्यालयका लागि एउटा सिङ्गो बस्ती नै व्यवस्थित गर्न लागिएको छ । नेपालगन्ज–२० मनिकापुर स्थित आदर्श माविको तीन विगाह १० कठ्ठा १४ धुर जग्गामा बसेको सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्न लागिएको हो ।


‘८४ घरधुरीले कब्जा गरेको विद्यालयको जग्गा छानविनबाट अन्यत्र घरजग्गा नभएका ४५ परिवारलाई व्यवस्थापन गर्न आवश्यक देखिएको छ’, नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले विद्यालयकै छेउमा नयाँ जग्गा विकास गरी बस्ती व्यवस्थित गर्न लागेको जानकारी दिंदै भने । कार्कीका अनुसार, हाल विद्यालय भवन रहेको राँझा चोक स्थित जग्गा नेपालगन्ज विमानस्थलले अधिग्रहण गर्ने भएपछि विद्यालयका लागि थप भवन आवश्यक भएकाले पनि तत्काल बस्ती व्यवस्थित गर्न लागिएको हो ।


विद्यालय नजिकै विद्युत, पानी, सडक आदीको व्यवस्थापन गरी छानविनबाट एकिन भएका ८४ मध्येका ४५ परिवारलाई एकै ठाउँमा व्यवस्थित बस्ती बसाउन लागिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । त्यससँगै लामो समयदेखि अतिक्रमणमा रहेको विद्यालयको जग्गा पनि मुक्त हुने बताइएको छ ।


जनप्रतिनिधि आएपछि विद्यालयका लागि नयाँ बस्तीमा भवन समेत बनाइएको छ । त्यसका लागि अतिक्रमण गरी बनाइएका घरहरु पनि हटाइएका थिए । ‘अब बस्ती पुरै व्यवस्थित नगरी विद्यालयका लागि पर्याप्त जग्गा पुग्दैन’, वडाध्यक्ष कार्कीले भने । उक्त स्थानमा ९ देखि १२ सम्मका कक्षा सञ्चालित छन् । ‘अब पुरै विद्यालय यहीबाट सञ्चालन हुनुपर्ने अवस्था आइपर्दैछ’, वडाध्यक्ष कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि पुरै बस्ती व्यवस्थित नगरी सम्भव छैन ।’ आदर्श स्कुल रहेको राँझा चोक स्थित जग्गा नेपालगन्ज विमानस्थल बिस्तारका क्रममा अधिग्रहणमा पर्ने नेपालगन्ज नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयले जनाउ दिइसकेको छ ।

विद्यालय कसरी चलाउने ?

(विद्यालय नजिकै जग्गा व्यवस्थापन गरी बस्तीका लागि तयार गरेको क्षेत्र देखाउँदै वडाध्यक्ष कार्की । (तस्विर : दैनिक नेपालगन्ज)

नेपालगन्ज–२० राँझा स्थित आदर्श माध्यमिक विद्यालय रहेको क्षेत्र नेपालगन्ज विमानस्थल बिस्तारका लागि अधिग्रहण गरिने भएको छ । नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयले आदर्श मावि रहेको क्षेत्र विमानस्थलका लागि नभई नहुने जनाउ दिएको हो । ‘प्राधिकरणले एक महिना अघिदेखि नै विकल्प खोज्नुस् भनिरहेको छ’, विद्यालयका प्राचार्य प्रकाश आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘अब कसरी विद्यालय चलाउने ?’


२००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा सरकारी मान्यतामा छ । ८ कठ्ठा ६ धुर विद्यालयको जग्गा मध्ये पछिल्लो सडक बिस्तारमा कटौती भएपछि ६ कठ्ठा १३ धुर अर्थात् २२५० वर्गमिटर भित्र सीमित हुन पुगेको छ ।


‘एक हजार बढी विद्यार्थीलाई साँघुरो घेराभित्र अपुग भएपछि विद्यालयको नयाँ बस्ती स्थित जग्गामा भएको अतिक्रमण हटाउन जनप्रतिनिधिले पहल गरेका हुन्’, नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले नयाँ ठाउँमा पनि पूर्वाधार पर्याप्त नभएकाले विद्यालय सञ्चालनका लागि समस्या भैरहेको जानकारी दिंदै भने ।

‘आइटिसी ल्याबका लागि सरकारबाट पैसा आएपनि कोठाको अभावले स्थापना गर्न सकिएको छैन’, प्राचार्य प्रकाश आचार्यले भने, ‘पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका पूर्वाधारहरुका लागि समस्या छ ।’

नयाँ बस्तीमा अतिक्रमण हटाइएसँगै बनेको विद्यालय भवनमा ९ देखि १२ कक्षा सञ्चालित छ । ‘अब एकदेखि ९ कक्षासम्म सञ्चालित विद्यालय भवन हटाउनु परेपछि झन् ठूलो समस्या देखा परेको छ’, प्राचार्य आचार्यले भने, ‘यी सबै भौतिक पूर्वाधार कसरी बनाउने ?’

प्रतिक्रिया

प्रतिक्रिया