बाँकेमा ‘खर मुक्त घर’ अभियान, साढे १४ करोड बजेट

सरकारले बाँकेका गरिब तथा विपन्न वर्गका लागि ‘खर मुक्त घर’ अभियान सुरु गर्ने भएको छ । त्यसका लागि साढे १४ करोड रुपैयाँ बजेट छुट्याएको सरकारले सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरेको हो ।
‘बाँकेमा २ हजार ९ सय सुरक्षित नागरिक आवासका लागि बजेट छुट्याइएको छ’, भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुषालले दैनिक नेपालगन्जसँग भने, ‘सोही बजेट अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा रहेको समितिले काम सुरु गरेको हो ।’

इन्जिनियर भुषालका अनुसार, नेपालगन्ज नगरपालिकामा सबैभन्दा बढी १ हजार २ सय घरका लागि सरकारले प्रति घर ५० हजारका दरले नगद सहयोग गर्दैछ । डुडुवामा ७ सय, जानकीमा ३ सय र नरैनापुरमा ३ सय घरका लागि सरकारले बजेट छुट्याएको छ ।

‘खासगरी खरका छाना भएका घरलाई सुरक्षित बनाउन टिनको छाना उपलब्ध गराउने सरकारको अभियान हो’, इन्जिनियर गिरीले यसैबर्ष कार्यविधि बनेर बजेट कार्यान्वयनमा आएको जानकारी दिंदै भने, ‘आगलागीको जोखिमबाट सिङ्गो बस्ती जोखिममा पर्दै गएपछि सरकारले यसखालको योजना अघि सारेको हो ।’

शुक्रबार मात्रै बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजको नेतृत्वमा नरैनापुरमा सुरक्षित नागरिक आवास समन्वय समितिको बैठक बसेको छ । ‘बैठकले नरैनापुरका ३ सय घरलाई टिन उपलब्ध गराएर सुरक्षित आवासको सुनिश्चितता गर्ने निर्णय गर्यो’, इन्जिनियर भुषालले बैठकबारे जानकारी दिंदै भने, ‘गाउँपालिकाले एउटा वडामा ५० घरका दरले सुरक्षित आवासको अभियान बढाउने छ ।’

सांसद गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा ‘खर मुक्त घर र टिन मुक्त विद्यालय’ अभियान चलाएको जानकारी दिए । उनको अभियानलाई अन्तर्गत संघीय भवन डिभिजन कार्यालयको योजनामा खरले छाएका घरहरुमा टिन लगाउने र आफ्नो निर्वाचन क्षेत्रका स्थायी र नमूना योग्य विद्यालयलाई पक्की भवन बनाउने गरी बजेट छुट्याइएको छ । ‘विद्यालयका लागि मात्रै निर्वाचन क्षेत्रपूर्वाधारको चार करोड रुपैयाँ बजेट छुट्याइएको छ’, सांसद गहतराजले दैनिक नेपालगन्जसँग भने, ‘खासगरी निकुञ्ज छेउका विद्यालयमा कम्पाउण्ड वाल र अन्य नमूना विद्यालयहरुलाई पक्की घरको अवधारणा अघि सारिएको छ ।’

खर मुक्त घरका लागि भने सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तीन सय घरलाई खर मुक्त गरी टिनको छाना लगाउने अभियान कार्यान्वयनको निर्णय गरिएको सांसद गहतराजले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया