बाँके :
आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फ एपिएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजीत गर्दै एपिएफले उपाधिमाथी कब्जा जमाएको हो । त्यसैगरी महिला विधामा समेत एपिएफले बाजी मारेको छ । कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो ।
अनुभवी खेलाडीहरुको बर्चश्व रहेको एपिएफमा नयाँ खेलाडीहरुको प्रस्तुती उल्लेखनिय रह्यो । टिमकालागि अनिल शाहाले ४ चौकाको मद्धत्तले सर्वाधिक ३१ रन जोडेका थिए । शंकर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए । बसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपिएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लवका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा दिपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १/१ विकेट लिए । १ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो ।
सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडेपनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन् । सुरुवाती ओभरमै धर्मराएको पुलीसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए । श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । पुलीसलाई दवावमा राख्ने क्रममा एपिएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपिएफका कप्तान बसन्त रेग्मी र सरद भेषवाकरले समान २÷२ विकेट लिएका थिए ।
त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १÷१ विकेट लिए । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई पुर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाली, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जु चौधरी लगाएतले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।