नेपालगन्ज विमानस्थल छेउ ‘गल्फ कोर्ष’ प्रस्ताव

१० करोड प्रारम्भिक लागत अनुमानका साथ नेपालगन्ज विमानस्थलको ४५ विगाह जग्गामा गल्फ कोर्ष निर्माण गर्न पहल


दर्जन बढी तारे होटल रहेको नेपालगन्जमा त्यत्तिकै संख्यामा क्यासिनो थपिंदै छन् । करोडौंको लागतमा फनपार्क निर्माण भैरहेका छन् । अझ क्यासिनोको सहरका रुपमा नेपालगन्जलाई बाह्य पर्यटकहरुको केन्द्र बनाउन नेपालगन्ज उपमहानगरपालिकाले नै औपचारिक लबिङ्ग गरिरहँदा सहरको एउटा स्ट्याण्डर्ड मापनको पूर्वाधार थप्न खोजिएको छ, ‘गल्फ कोर्ष’ ।


नेपालगन्ज विमानस्थलले आफ्ना लागि अधिग्रहण गरेर राखेको ४५ विगाह जग्गा त्यसका लागि उपयुक्त देखिएको छ । नेपाल प्रोफेशनल गल्फ एशोसिएसनका अध्यक्ष रविन्द्र मान श्रेष्ठले नेपालगन्जलाई पर्यटकीय सहरका रुपमा विकास गर्न गल्फ कोर्ष महत्वपूर्ण पूर्वाधार हुने बताए । ‘सहर क्रंक्रिट नै क्रंक्रिटले कुरुप भएको छ’, नेपालगन्जका स्थायी बासिन्दा समेत रहेको गल्फ एशोसिएसनका अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘एउटा यस्तो ठाउँ चाहियो जहाँ रिक्रियसन हुन सकोस् ।’


विश्वका धेरै सहरहरुमा गल्फ कोर्ष आधारभूत स्ट्याण्डर्ड बनिसकेको तर्क गर्दै गल्फ एशोसिएसनका अध्यक्ष श्रेष्ठले नेपालका ठूला सहर राजधानी काठमाडौं, पोखरा, चितवन र धरानमा यसखालका संरचना तयार भैसकेको बताए । उनका अनुसार, काठमाडौंमा ३ र पोखरामा ४ वटा गल्फ कोर्ष निर्माण भैसकेका छन् । त्यसबाहेक धरान र चितवनमा पनि गल्फ कोर्ष सञ्चालनमा आएको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले भने, ‘तर, हामीले प्रस्ताव गरेको ठाउँ मुलुककै सबैभन्दा आकर्षक र केन्द्र बिन्दुका रुपमा तयार गर्न सकिन्छ ।’


गल्फ एशोसिएसनको प्रस्तावमा नेपालगन्ज उपमहानगरपालिकाले गल्फ कोर्ष स्थापनाका लागि औपचारिक पहल अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले गल्फ कोर्ष नेपालगन्जको आकर्षक गन्तव्यका रुपमा निर्माण हुन सक्ने सम्भावना औंल्याउँदै त्यसका लागि औपचारिक पहल अगाडि बढाइएको जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपमहानगरपालिकाको लिखित प्रस्ताव ६ महिना अघि नै पठाइसकेको जानकारी डा. राणाले दिए । तर, त्यसको सकारात्मक पहलकदमी नदेखिएपछि यसबीच नेपालगन्ज आइपुगेका प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम सहितका उच्च अधिकारीहरुसँग नगर प्रमुख डा. राणाले आफ्नो प्रस्ताव दोहोर्याए ।


यसक्रममा भने महानिर्देशक गौतम अत्यन्तै सकारात्मक रुपमा प्रस्तुत भए । ‘नेपालगन्ज उपमहानगरपालिका आफै व्यवस्थापकीय पक्षको जिम्मेवारीमा रहन्छ भने गल्फ कोर्ष विमानस्थलका लागि पनि सकारात्मक पक्ष हुनेछ’, गौतमले डा. राणा सहित सहभागीहरुसँग भने, ‘प्रस्ताव पठाउनुस् छलफल अगाडि बढाउँछु ।’ सोमबार नेपालगन्ज विमानस्थलको मार्टर प्लान सार्वजनिक गर्न आयोजित कार्यक्रममा भएको औपचारिक छलफलपछि मंगलबार नै नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरणमा पठाएको छ । ‘तुरुन्तै हाम्रो काम अगाडि बढाइसकेका छौं’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘गल्फ कोर्ष निर्माण गर्न सकियो भने नेपालगन्जकै सुन्दरतामा श्रीवृद्धि हुनेछ ।’


नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, विमानस्थलको ४५ विगाह जग्गा हाल धान रोपाईंका लागि ठेक्कामा लगाइएको छ । बार्षिक १५ लाख रुपैयाँ मात्र प्राप्त हुने बाहेक त्यसबाट अन्य उपलब्धी छैन । ‘गल्फ कोर्ष बनाइँदा विमानस्थललाई कुनै नकारात्मक प्रभाव पर्दैन’, प्राधिकरणका महानिर्देशक गौतमले नेपाल लगायतका विश्वका धेरै ठाउँमा यसखालका अभ्यास भएको तर्क गर्दै भने, ‘यो प्रस्ताव समग्रमा राम्रो छ ।’


गल्फ एशोसिएसनका अध्यक्ष श्रेष्ठका अनुसार, तत्काल काम अगाडि बढाउन सकिने गल्फ कोर्षका लागि पहिलो चरणमा करिब १० करोड लागत अनुमान गरिएको छ । ‘लगानी ठूलो कुरै होइन’, अध्यक्ष श्रेष्ठले गल्फ कोर्ष नेपालको खेलकुदमा पनि मान्यता प्राप्त भैसकेकाले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका लगायतले संयुक्त रुपमा पूर्वाधारका लागि रकम जुटाउन सकिने तर्क गरे । ‘अपुग रकम निजी क्षेत्रबाट पनि जुटाउन सकिन्छ’, श्रेष्ठले एशियन लेभलका प्रतिस्पर्धा समेत नेपालमा आयोजना गर्न सकिने धारणा राख्दै भने ।


विश्वका सभ्रान्त वर्गले रुचाउने गल्फ कोर्षको निर्माणले क्यासिनोदेखि फनपार्कका लागि आउने विदेशीहरु गल्फ कोर्ष अर्को महत्वपूर्ण गन्तव्य हुन सक्ने औंल्याइएको छ । ‘नेपालगन्ज खेल पर्यटनको केन्द्र बन्न सक्छ’, गल्फ एशोसिएसनका अध्यक्ष श्रेष्ठले बाँके र बर्दिया निकुञ्ज, नेपालगन्जका क्यासिनोको आकर्षणले आउने पर्यटकहरुका लागि गल्फ कोर्ष सहरको एउटा स्टयाण्डर्ड पनि बन्न सक्ने औंल्याउँदै भने ।


नगर प्रमुख डा. राणाले प्राधिकरणले जग्गा उपयोगका लागि निर्णय गर्नासाथ गल्फ एशोसिएसनले काम अगाडि बढाउने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले पनि बिस्तारै निर्माण कार्य अगाडि बढाइने योजना सुनाउँदै यसका लागि नेपालगन्जबासीको सकारात्मक धारणा आवश्यक रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया