फ्रि वाईफाइ सहितको आकर्षक गन्तव्य स्थल बनाइने
नेपालगन्जको सुर्खेतरोडमा निजी क्षेत्रले सामुदायिक साझेदारीमा ग्रीन पार्क बनाउने भएको छ । नेपालगन्जको सरसफाई र हरियालीका लागि अभियान चलाउँदै आएको ग्रीन एण्ड क्लीन नेपालगन्जले नेपाल मेडिकल एशोसिएसन भेरी र विभिन्न सामुदायिक क्षेत्रसँगको सहकार्यमा आकर्षक गन्तव्य स्थलका रुपमा पार्क निर्माण गर्न थालेको हो ।
‘एनएमए पार्क नामाकरण गरी आधारभूत काम सुरु गरिसकेका छौं’, विपी चोक नजिक सुर्खेतरोडमा १ सय ५ मिटर लम्बाई र २५ मिटर चौडाई क्षेत्रफलमा पार्क निर्माण कार्य अगाडि बढाइएको जानकारी दिंदै ग्रीन एण्ड क्लीन नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले दैनिक नेपालगन्जसँग भने, ‘आधा लगानी नेपाल मेडिकल एशोसिएसन (एनएमए) को हुने भएकाले उसैको नाममा नामाकरण गर्न लागिएको हो ।’
डा. कर्ण एनएमए भेरीका अध्यक्ष पनि हुन् । नितान्त निजी स्तरमा भैरहेको पार्क निर्माणका लागि पहिलो चरणमा ६ लाख रुपैयाँ खर्च गरिंदैछ । ‘नेपालगन्जको नमूना गन्तव्यका रुपमा यस्तो पार्कको परिकल्पना गरिएको छ जुन आकर्षक र उपयोगी हुनेछ’, डा. कर्णले फ्रि वाईफाई सहितको ग्रीनरी पार्कमा सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी डिस्प्ले गरिनेछ । दोस्रो चरणमा सार्वजनिक शौचालय सहितका केही पूर्वाधारको योजना बनाएको ग्रीन एण्ड क्लीन नेपालगन्जले पार्कको स्थायित्व र उचित व्यवस्थापनका लागि पार्कमा ‘टी स्टल’ सञ्चालन गर्नेछ । वाटर फाउण्टेनदेखि आकर्षक लाइटिङ्ग व्यवस्था रहने पार्कमा चिनियाँ दुबो लगाइनेछ । ‘भुइँमा बस्दा धुलोमाटो नलाग्ने कार्पेट जस्तो दुबो हुनेछ’, डा. कर्णले भने ।
‘गरिब तथा जेहेन्दार विद्यार्थीले टि स्टलमा आम्दानी गर्ने गरी फाइदाबाट प्राप्त रकम व्यवस्थापनमा लगानी गरिनेछ’, लामो समयदेखि नेपालगन्जमा सरसफाई तथा हरियाली अभियान चलाइरहेका डा. कर्णले निजी क्षेत्रको पहलमा केही नमूना काम गरेर देखाउन खोजिएको जानकारी दिंदै भने, ‘हाम्रो सहर राम्रो बनाउने दायित्व प्रत्येक नगरबासीको हो ।’ पार्क निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।