राष्ट्रिय मानवअधिकार आयोगमा आइतबार रातभर प्रहरीले घेराबन्दी गरेको छ । जिल्ला अदालत बाँकेबाट साधा तारेखमा छुटेका दान बहादुर फडेर पुनः पक्राउ पर्ने डरले अदालत क्षेत्रमा आयोग गुहारेका थिए । फडेराको आग्रह पछि आयोगको टोली जिल्ला अदालत बाँके अनुगमका लागि पुगेको थियो ।
आयोगको टोली अदालत पुगेपछि फडेरा टोलीकै निगरानीमा आयोगको कार्यालय पुगेर शरण लिएका थिए । फडेरा पुनः पक्राउ गर्न प्रहरी उनकै पछिपछि आयोग मात्रै पुगेन रातभर आयोगको नेपालगन्जस्थित कार्यालयलाई निगरानीमै राख्यो ।
मानवअधिकार आयोग नेपालगन्ज शाखाका प्रमुख चन्द्रकान्त चापागाईले फडेराले आयोगमै रहेको जानकारी दिएका छन् । विप्लव निकट नेकपा सम्बद्ध फेडरालाई प्रहरीले पुनः पक्राउ गर्न खोजिरहेको छ । साधा तारेखमा छुटेका व्यक्तिलाई विना कारण पुनः पक्राउ गर्न नहुने, आयोगमै प्रहरीले निगरानी गरिरहनु राम्रो नहुने धारणा मानवअधिकारीकर्मीहरुले राखेका छन् । घटनाबारे अहिले मानवअधिकारकर्मीहरुको बैठक बसिरहेको छ ।