बिहीबार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिता विभिन्न खेलहरु गत चैत्र २७ गतेदेखि नै जारी रहेपनि औपचारिक उद्घाटन भने विहीबार गरिन लागेको हो । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भैरहेकाले राष्ट्रिय खेलकुद विकास समितिले त्यस अवधीमा कुनै पनि बन्द, हड्तालका कार्यक्रम नगर्न अपिल गरेको छ । राखेप सदस्य सचिव केशव कुमार विष्टले मंगलबार अपिल जारी गर्दै प्रतियोगितामा बाधा पुग्ने खालका कुनै पनि गतिविधि नगर्न अपिल गरेका हुन् ।
आठौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा रहेको उल्लेख गर्दै सदस्य सचिव विष्टले बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसरका रुपमा चित्रण गरेका छन् । ‘पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपूर्ण मञ्च हो’, प्रतियोगिताको महत्व झल्काउँदै आफ्नो अपिलमा सदस्य सचिव विष्टले भनेका छन्, ‘ बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने सुवर्ण अवसर हो बृहत खेलकुद । खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन । तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो । अन्तर्राष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो ।’
आठौंको स्वर्णिम अवसरलाई सदुपयोग गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको मान्यता रहेको बताउँदै सदस्य सचिव विष्टले प्रतियोगिता अवधीमा बन्द र हड्तालका कुनै पनि कार्यक्रम नगरिदिन हामी सबैलाई हार्दिक अपिल गरेका हुन् । उनले बन्द, हड्तालका पूर्वनिर्धारित कार्यक्रम भए फिर्ता लिई आम खेलाडीको मनोभावनालाई कदर गर्न अपिल समेत गरेका छन् ।
३७ वर्षको बृहत खेलकुदको इतिहासमा सुरुका तीन संस्करण बाहेक बृहत राष्ट्रिय खेलकुद निर्धारित २ वर्षको अवधिमा हुन नसकेको तथ्य उल्लेख गर्दै सदस्य सचिव विष्टले आफ्नो अपिलमा भनेका छन्, ‘यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौं राष्ट्रिय खेलकुदको समापन पछि आठौं खेलकुदको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौ ।’
राखेपको अपिलमा आठौं राष्ट्रिय खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक भएको उल्लेख गरिएको छ । ५० मिटर लम्बाइको पौडी पोखरीमा सम्बन्धित प्रदेशमै प्रतियोगिता हुनु, उपत्यका बाहिर सिन्थेटिक ट्रयाकमा एथलेटिक्स हुनु, नेपालमै अत्याधुनिक प्यारापिट निर्माण गरिनु, प्रायजसो हरेक खेलको आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनु, बाध्यतावश विदेशिएका खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पहिलोपटक एनआरएनए टिमलाई सहभागी गराउनु प्रतियोगिताको महत्वपूर्ण पक्ष भएको राखेपले बताएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन् । २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकगरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागी हुनेछन् । ‘खेलाडीका लागि राष्ट्रिय टिममा छनोट हुने एउटा अवसर पनि हो’, अपिलमा उल्लेख छ, ‘नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद (साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिनहुन सबै पक्षसँग हार्दिक अपिल गर्दछौं ।’