नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघ बीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाले निर्णय नै गरेर नेपालगन्ज उद्योग वाणिज्य संघलाई त्रिभुवन चोकमा स्तम्भ निर्माण गर्न दिएको थियो । तर, चोक नयाँ बनाउन पुरानो संरचना भत्काउने क्रममा आलोचना सुरु भएपछि उपमहानगरपालिकाले संघकै थाप्लोमा गल्ती थोपरेको छ ।
उपमहानगरपालिकाले संघलाई दिएको अनुमति पत्रमा स्पष्ट रुपमा नक्सा अनुसार प्रतिमा राख्न ठाउँ छोडेर चोक निर्माण गर्न अनुमति दिएको छ ।
तर, जब निर्माण सुरु गर्न लाग्दा विवाद सिर्जना भयो उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एउटा विज्ञप्ति जारी गरेर संघको टाउकोमा सम्पूर्ण दोष थोपर्ने काम गरेका छन् । प्रवक्ता रिजालले जारी गरेको विज्ञप्तिमा माथिल्लो प्याराग्राफमा त्रिभुवन चोकमा नयाँ संरचना बनाउन अनुमति दिएको लेखेका छन् भने तल प्रक्रियागत त्रुटि भनि उल्लेख गरेका छन् ।
विरोध सुरु भएपछि उपमहानगरपालिकाले आफैले अनुमति दिएको विषयमा उल्टै संघलाई दोष दिएको देखिन्छ भने संघले पूर्व जानकारी विना एक्कासी स्तम्भ भत्काउँदा स्थानीय बासीको आक्रोश झेल्नु परेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरी विवाद भए काम अगाडि बढाउन नसकिने सन्देश समेत दिएको छ ।
यसरी संघ र उपमहानगरपालिका बीचको विवादले आठौं राष्ट्रिय खेलकुदका बेला नेपालगन्ज आएका हजारौं खेलाडी, सरकारका उच्च पदस्थ अधिकारी, राष्ट्रपतिले समेत कुरुप चोक हेरेर फर्कनु पर्ने अवस्था आएको छ ।
उपमहानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ती
नेपालगंजको त्रिभुवन चौकमा यहि मिति २०७५ चैत्र २५ गते राती भएको घटना र उक्त घटना सम्बन्धी बिभिन्न संचार माध्ययममा आएका समाचारहरु प्रति नेपालगंज उप महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको छ ।
नेपालगंज उद्योग बाणिज्य संघले नगरको मुटु मानिने त्रिभुवन चौकमा नयाँ स्तम्भ निर्माण गरि सौन्दर्यकरण गर्ने भनि अनुमति माग्दै आएकोमा मिति २०७५ मंसीर १८ गते बसेको नगर कार्यपालिका (बोर्ड) बैठकको निर्णयानुसार त्यहाँका स्थानीय बासिन्दा तथा सर्वदलिय सहमतिका आधारमा मात्र पुरानो स्तम्भमा मुर्ति राख्ने स्थान खालि राखि नयाँ संरचना बनाउने अनुमति मात्र दिएको हो ।
नेपालगंज उद्योग बाणिज्य संघले उप महानगरपालिका, राजनीतिक दल तथा स्थानीय बासिन्दाहरुसंग समन्वय नगरी अकस्मात रातीको समयमा डोजर प्रयोग गरि त्रिभुवन चौकको स्तम्भ भत्काउने कार्य प्रकृयागत त्रुटि भएको र नगर सौन्दर्यकरणका नाममा गरिएको उक्त कार्यले बिवाद उत्पन्न भएको विषयलाई लिएर मिति २०७५ चैत्र २७ गते बसेको नगर कार्यपालिका (बोर्ड) बैठकमा समेत उप महानगरपालिका प्रति लगाएको आक्षेप निराधार रहेको ठहर गर्दै यस विषय प्रति नगर कार्यपालिका (बोर्ड) को गम्भीर ध्यानाकर्षण भएको छ ।
अतः अव उप्रान्त उक्त स्थानमा कुनै पनि निर्माण कार्य गर्नु पुर्व सबै सरोकारवाला निकायसंग समन्वय गरि मात्र गर्ने, अन्यथा कुनैपनि बिवाद तथा हुने क्षतीको जिम्मेवारी नेपालगंज उद्योग बाणिज्य संघले नै लिनु पर्ने छ । भत्काईएको त्रिभुवन चौकको संरचनालाई सर्वपक्षीय सहमति नहुंदा सम्म पुरानै स्थीतिमा निर्माण गर्न समेत नेपालगंज उद्योग बाणिज्य संघलाई यस उप महानगरपालिका निर्देशन गर्दछ । साथै आगामी दिनहरुमा स्थानीयबासी बिभिन्न संघसंस्था लगायत कसैले पनि नेपालगंजका सार्वजनिक स्थानहरुमा कुनैपनि प्रकृतिका निर्माण कार्य गर्दा स्थानीय सरकार नेपालगंज उप महानगरपालिकासंग समन्वय सहकार्य गरि नगरको बृहत्तरहितलाई शिरोधार्य गर्दै आम नगरबासीको भावनामा आँच नआउने गरि अनुमति लिएर मात्र कार्यगर्न समेत नेपालगंज उप महानगरपालिका सबैमा हार्दिक अनुरोध गर्दछ ।
……………………………….
प्रमोद रिजाल
प्रवक्ता
नेपालगंज उप महानगरपालिका