बाँकेका पत्रकारहरुले पत्रकार अचारसंहिताको नियमन र कारवाहीमा कडाई गर्न आग्रह गरेका छन् । बिहीबार नेपालगन्जमा प्रेस काउन्सिल नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले सञ्चारमाध्यममा नियमन अभावले बेथिति बढ्दै गएको भन्दै प्रेस काउन्सिललाई ‘प्रो एक्टिभ’ हुन आग्रह गरे ।
प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धी कार्यक्रममा प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल सरकार सूचना तथा प्रसारण विभागका महानिर्देशक लगायतको सहभागितामा पत्रकारहरुले एक स्वरमा भने, ‘बेथितिलाई निरुत्साहित नगरिंदा पत्रकारिता पेशाको शाख जोगाउन गाह्रो भयो ।’ उनीहरुले राज्यले ठूला लगानीका मिडिया र साना लगानीका सञ्चार गृहलाई एउटै आँखाले हेरिदिंदा न्याय हुन नसकेको गुनासो पनि गरे । पत्रकारहरुले राज्य पुनर्संरचनाका लागि महत्वपूर्ण योगदान दिने स्थानीय सञ्चारमाध्यमहरुलाई अप्ठ्यारो हुने गरी सरकारले सञ्चार केन्द्रलाई प्रदेशमा केन्द्रित गरिदिंदा भैरहेको अप्ठ्यारोको सुनुवाईका लागि पनि ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम तथा पत्रकारहरुलाई कानुनी कारबाही गरिने जनाए । उनले पत्रकारिताका नाममा गरिने उच्छृंखल गतिविधि र आचारसंहिता उल्लंघनका घटनाहरुबारे अनुगमन भइरहेको जनाए । ‘पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नेपालमा मात्रै छ तर, त्यसका नाममा आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन्,’ उनले भने, ‘पूर्ण स्वतन्त्रताका नाममा आचारसंहिता उल्लंघन गर्नेलाई हदैसम्म कारबाही गर्छौं ।’
काउन्सिल अध्यक्ष श्रेष्ठले २६ बर्ष पुरानो कानुन अझै यथावत हुँदा आचारसंहिता उल्लघंनका घटनामा कडा कारवाही चुनौति पूर्ण रहेको बताए । उनले प्रेस स्वतन्त्रताको अवस्थामा जिम्मेवारी दायित्व सञ्चार माध्यमले बोध गर्नुपर्ने धारणा राखे । सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले सञ्चारमाध्यम सञ्चालन अघि योजना नबनाइँदा समस्या सिर्जना हुने गरेको बताए । ‘दीर्घकालीन सोंच र योजना बनाएर मात्र सञ्चारमाध्यम स्थापना गरिनुपर्छ’, उनले भने ।
पत्रकार महासंघका प्रदेश महासचिव भेषराज बस्नेतले आचारसंहिताको उल्लंघनका घटना प्रदेश कमिटिले गम्भीर रुपमा लिएको बताए । ‘हामी आचारसंहिता उल्लंघनका घटना नियालिरहेका छौं’, महासचिव बस्नेतले भने, ‘महासंघको केन्द्र र काउन्सिलले पनि यसबारे गम्भीर कदम चाल्न आवश्यक छ ।’ काउन्सिलले आचारसंहिता उल्लंघनका घटनामा कडा कारवाही गरे त्यो नियन्त्रणमा आउन सक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पत्रकारहरु शिव डोटेल, झलक गैरे, प्रेम केसी, डिल्ली विसी, अक्षरी पोखरेललगायतले पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघप्रति लक्षित गरी आइरहेको समाचारप्रति आपत्ति जनाए । उनीहरुले आचारसंहिता उल्लंघन गर्ने जोसुकै सञ्चारमाध्यम तथा पत्रकारलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तीलक गाउँलेले गरेका थिए ।
‘संस्थागत संलग्नता पाइएन’
नेपालगन्ज उपमहानगरपालिकाको पत्रकारिता क्षेत्र विकास कार्यक्रममा अनियमितता भएको भन्ने समाचारप्रति नेपाल पत्रकार महासंघले संस्थागत संलग्नता नपाइएको प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको नाम जोडेर उपमहानगरपालिकाको बजेट हिनामिना भएको भन्दै आइरहेको समाचारमा महासंघले गरेको छानविनका क्रममा संस्थागत संलग्नता नपाइएको प्रारम्भिक धारणा सार्वजनिक गरेको हो ।
नेपालगन्जमा पत्रकारहरु बीच महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बाँकेमा देखिएका पछिल्ला घटनाक्रममा पत्रकार महासंघ बाँकेको कुनै पनि संलग्नता रहेको पुष्टि हुन नसकेको बताए । ‘नेपालगन्ज उपमहानगरपालिका छुट्याएको पत्रकारिता प्रवद्र्धन कार्यक्रमका लागि नेपाल पत्रकार महासंघ बाँके र कुनै पनि पदाधिकारीले लिखित र मौखिक सम्झौता गरिएको देखिएन,’ अध्यक्ष आचार्यले भने, ‘उपमहानगरपालिकाले आफुले गरेको खर्च वा व्यक्तिगत रुपमा कर्मचारी मार्फत गरेको काममा महासंघको संस्थागत संलग्नता जोडिनु जायज देखिएन ।’ अध्यक्ष आचार्यले व्यक्तिगत रुपमा पत्रकार महासंघका कुनै सदस्यले अनियमिततामा जोडिएको पाइए कारवाही हुने कुरामा महासंघ पछि नपर्ने चेतावनी पनि दिए ।