एक बर्ष अगावै डाइर्भसनको सुरुङ

बैशाख पहिलो साता भेरी बबई डाइभर्सनको सुरुङ सकिएको घोषणा गर्ने तयारी

बर्दिया/भावुक योगी

राष्ट्रिय गौरवको भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य लगभग सकिएको छ । मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोगद्वारा १२ किलोमिटर २ सय मिटर लामो सुरुङ खन्ने कार्य झण्डै डेढ वर्षको अवधीमा लगभग सकिएको हो ।

 
अब झण्डै ५ मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार, आगामी वैशाख पहिलो साताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको काम सकिएको घोषणा गर्नेछन् ।

 
नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम)द्वारा सुरुङ खन्ने काम गतवर्ष कात्तिक तेस्रो सातादेखि सुरु भएको थियो । मानवरहित मेसिन उक्त मेसिनबाट सुरुङ खन्न थालिएपछि समयसीमा अगावै काम सकिने भएको हो ।

 
प्रदेश नम्बर ५ को बर्दिया र कर्णाली प्रदेशको बिचमा पर्ने रत्न राजमार्गको बबई चेपाङ्ग सुर्खेत जिल्लाको हात्तीखालबाट राष्ट्रिय गौरवको आयोजना भेरीबबई डाइभर्सनमा मेशिनले सुरु गरेको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न हुन लागेको आयोजनाले जानकारी दिएको छ । ‘हामीले २०७४ कार्तिकबाट सुरुङ निर्माण गर्नका लागि टीबीएम मेसिन प्रयोग गरेका हौँ’, हाइड्रोजियोलोजिष्ट उपाध्यायले भने, ‘सम्झौता अनुसार २०७६ चैत १५ गतेसम्म समय थियो । तर अहिले नै ५ मिटर मात्र बाँकी राखेर अरु खन्ने काम सकिइसकेको छ ।’

 
तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा १२ किलोमिटर २ सय मिटर सुरुङ खनिएको, दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिने र तेस्रो चरणमा सिँचाइका लागि काम गरिनेछ ।
सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ५.५ डायमिटर व्यासको १२ किलोमिटर २ सय मिटर लामो चुरे पहाडमा मेसिनले दैनिक ४० मिटर सुरुङ खन्ने गरेको थियो । १२ किलोमिटर २ सय मिटर सुरुङ मध्ये १५० मिटर मान्छेबाटै खनिएको थियो । सुरुङ्गमा मेसिन राख्नका लागि मान्छेबाटै झण्डै दुई वर्षमा १५० मिटर सुरुङ खनिएको थियो । मेसिनको लम्बाइ २७४ मिटर भएकाले मिटर राखेर जोड्नका लागि १५० मिटर सुरुङ परम्परागत प्रविधिबाट खनिएको आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठको भनाइ छ ।

 
भेरीबबई डाइर्भसनका लागि चुरे पहाडमा सुरुङ खन्न नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त मेसिनद्वारा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरु गरेको हो । यो आयोजना सिँचाई र विद्युत उत्पादनका लागि भेरी नदीको पानी बबई नदीमा खसाल्न भेरी र बबई नदी बीचको चुरे पहाडमा गतवर्ष कात्तिक महिनादेखि मानवरहित स्वचालित मेसिनले कर्णाली प्रदेशको सुर्खेत हात्तीखालबाट सुरुङ खन्ने काम थालेको थियो ।

 
सुरुङ खन्ने क्रममा तोलीखोला आसपासको क्षेत्रमा जोखिम ठानिएको थियो । तोलीखोलादेखि सुरुङ सम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र थियो । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो तर टिबिएमले उक्त भाग पार गरिसकेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन । त्यसपछि सुरुङ निर्माण तीव्र पारिएकाले समय अगावै सकिएको आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट उपाध्यायले बताए ।
तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएको थियो । त्यही भएर तोलीखोला क्षेत्रको एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको थियो । ‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेपछि सुरुङ निर्माणको काम सम्झौता अनुसार तोकिएको समयभन्दा अघि नै सकियो,’ आयोजनाका सिनियर डिभिजन हाइड्रोजियोलोजिष्ट उपाध्यायले भने ।

 
मानवरहित मेसिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तोलीखोलाको जोखिम क्षेत्र पार गरिसकेपछि मेसिनले तीब्र गतिमा काम गरिरहेकाले पनि चैत महिना भित्रमा लगभग सुरुङ खन्ने काम पुरा भएको हो । अब केही दिनमा औपचारिक घोषणा गर्न मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

अवलोकन गर्नेको भीड

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम मानवरहित मेसिनबाट सुरु गरेपछि आयोजना क्षेत्रमा अवलोकनकर्ताहरुको पनि दिनहुँ भीड लाग्ने गरेको छ । नेपालमै पहिलोपटक भित्त्राइएको मानवरहित मेसिनले भेरी बबई आयोजनाको सुरुङ खन्ने काम तीव्र गतिमा हुन थालेपछि आयोजना स्थलमा दैनिक २५० देखि ४ सय जनासम्म देशभरबाट इन्जिनियरिङका शिक्षक, विद्यार्थी, व्यवसायी, कृषक लगायत पर्यटकहरु अवलोकनका लागि आउने गरेको आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठ बताउँछन् ।
सन् २०२० मार्चसम्म निमार्ण कार्य सक्ने गरि १० अर्ब ५५ करोड रुपैँया लागतमा भेरी बबई डाइभर्सन निमार्णको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ्गले पाएको हो । सुरुङको काम सकिएपछि सुर्खेतको चिप्लेमा ड्याम र बर्दियाको चेपाङमा पावर हाउस निर्माण हुनेछ । चिप्लेमा १५ मिटर अग्लो ड्याम निमार्ण गरेपछी सुरुङ मार्फत भेरी नदीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिने छ । सिँचाइ सुबिधाका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो ।
बबईमा पानी प्रयाप्त भएपछि बाँके र बर्दिया जिल्लाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याइने सरकारी लक्ष्य छ । सिँचाइका साथै यो बहुउद्देश्यीय आयोजनाबाट ४८ मेघावाट विद्युत उत्पादन गर्ने गरि बर्दियामा विद्युत गृह निमार्ण गर्ने समेत लक्ष्य राखिएको छ ।
शैक्षिक हब बन्दै
राष्ट्रिय गौरवका आयोजना अन्र्तगत निर्माणाधीन भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम टनेल बोर मेसिन (टीबीएम) मार्फत सुरु गरेपछि आयोजना क्षेत्र अवलोकनकर्ताहरुको पनि दिनहुँ भीड लाग्ने गरेको छ ।
नेपालमै पहिलोपटक प्रयोग स्वरूप भित्त्राइएको टनेल बोर मेसिन (टीबीएम) मार्फत भेरी बबई आयोजनाको सुरुङ तीव्र गतिमा निर्माण हुन थालेपछि पर्यटकीय गन्तव्यसँगै इन्जिनियरिङका विद्यार्थीका लागि शैक्षिक हब समेत बनेको हो ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ निर्माण कार्यले तीव्रता पाएसँगै आयोजनाले गरेका गतिविधि हेर्न दिनहुँ पर्यटक लगायत विद्यार्थीको भीड हुने गरेको भेरी बबई आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठले बताए । ‘आयोजनास्थलमा इन्जिनियरिङका शिक्षक, विद्यार्थी, व्यवसायी, कृषक लगायत विभिन्न क्षेत्रका मानिसहरु अवलोकनका लागि आउने गरेका छन्’, उनले भने ।
भेरी बबई आयोजना देशकै गौरव आयोजना भएकाले पनि धेरैको केन्द्र बनेको हो । साविकको मध्यपश्चिम क्षेत्र हालको कर्णाली प्रदेशकै पर्यटकीय क्षेत्रमा आयोजना निर्माण भएकाले भविष्यमा पर्यटकीय गन्तव्यको रूपमा समेत टेवा पुग्ने भेरी बबई आयोजनाका भिजिटर गाइड गणेश श्रेष्ठले बताए । सयौं अवलोकनकर्ता दैनिक आयोजना हेर्न पुग्ने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया