किन तोडिंदैछ ऐतिहासिक त्रिभुवन चोक

नेपालगन्जको मुख्य बजार सदरलाइनस्थित त्रिभुवन चोक फेरिने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले ऐतिहासिक चोकको सौन्दर्यका लागि नयाँ संरचना निर्माण गर्ने भएको हो ।

 
त्रिभुवन चोकको जीर्ण अवस्थालाई पुरै भत्काएर सुन्दर चोक निर्माण गर्न लागिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । ‘चोकको शालिक राख्ने संरचना जिर्ण अवस्थामा पुगेकाले नयाँ बनाउन लागिएको हो,’ अध्यक्ष बैश्यले दैनिक नेपालगन्ज सँग भने, ‘शालिक राख्ने व्यवस्था व्यवस्था सहितको आधुनिक संरचना तयार गरिने छ ।’ अध्यक्ष बैश्यले कस्को शालिक राख्ने भन्ने चाहिं आफ्नो सरोकारको विषय नहने बताए ।

 
अध्यक्ष बैश्यका अनुसार, चोकनै उज्यालो हुने गरि ठुलो लाइट राखिने नयाँ संरचनामा राष्ट्रिय झण्डा फहराउने र शालिक राख्ने ठाउँ बनाइनेछ । ‘चोकको ऐतिहासिक पक्षलाई मर्न नदिने गरि त्यसलाई सुन्दर र आधुनिक बनाउन खोजिएको हो,’ अध्यक्ष बैश्य भने । ‘कुरुप अवस्थाको चोकलाई सुन्दर बनाउनमात्र खोजिएको हो,’ अध्यक्ष बैश्यको भनाइ छ, ‘सडकहरु चौडा र चिल्ला भएपछि कुरुप चोकहरु सुन्दर बनाइनुपर्छ ।’

 
राजा त्रिभुवनको शालिक राखिएको नेपालगन्जको पुरानो उक्त चोकको शालिक २०६२÷०६३ मा आन्दोलनको आक्रोशको निशाना बनेको थियो । मधेस आन्दोलनका क्रममा त्रिभुवनको शालिक थप तोडफोडमा परेपछि मधेस आन्दोलनका सहिद कमल गिरिको नाममा नामाकरण दबाव बढेको थियो । जिर्ण अवस्थाको शालिक राख्ने ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो ।

 
सोमवार राती शालिक राख्न बनाइएको ठाउँ डोजर लगाएर भत्काइएको छ । त्यससँगै उक्त ठाउँमा राजा त्रिभुवनकै शालिक पुनःस्थापनाको दवाब बढेको छ । कतिपयले भने ऐतिहासिक संरचना भत्काएको प्रतिनै आक्रोश पोखेका छन् । संघले सुर्खेतरोडस्थित कारकादो चोकमा औद्योगिक स्मारक सहितको घण्टाघर निर्माणका लागि पनि पहल लिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया