रुपैडिहाबाट सिधै दिल्ली रेल !

सीमावर्ती भारतीय बजार रुपैडिहादेखि बहराइच जिल्ला सदरमुकामसम्मको सानो रेल लिक (छोटी लाइन) बिस्तार गरी ब्रडगेज (बडी लाइन) विकासका लागि सर्भे कार्य अन्तिममा पुगेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

 
शुक्रबार नेपालगन्ज रोड अनुगमनका लागि रुपैडिहा आइपुगेका भारत पूर्वोत्तर रेल्वे लखनउका डिआरएम विजय लक्ष्मी कौशिक लगायतका अधिकारीहरुले रेल्वे लिक बिस्तारका लागि सर्भे अन्तिममा पुगेको बताएका हुन् । ‘निर्वाचन लगत्तै बिस्तार कार्य सुरु हुन्छ’, पूर्वोत्तर रेल्वेका अधिकारीलाई उद्धृत गर्दै भारतीय पत्रकार एसके मधेशियाले दैनिक नेपालगन्जसँग भने, ‘सीमावर्ती क्षेत्रका भारतीय र नेपालगन्ज बाँकेबासीहरुका लागि यो सुखद् खबर हो ।’ रेल्वेका अधिकारीले केही कानुनी लडाईका कारण रेल्वे लिक बिस्तार कार्य अगाडि बढ्न नसकेको जनाउँ दिंदै नानपारादेखि पलियासम्मको लिक भने ‘बडी लाइन’ हुन नसक्ने अदालतको आदेश आएको खुलासा पनि गरेका छन् । निकुञ्ज क्षेत्रमा पर्ने उक्त रेल्वे लिक बिस्तार गर्न अदालतले रोक लगाएपछि छोटी लाइनबाटै सेवा प्रवाह हुने भएको छ ।

 
अनुगमनका लागि आएको पूर्वोत्तर रेल्वेका अधिकारीहरु समक्ष रुपैडिहाका स्थानीय अगुवाहरुले नेपालगन्ज रोडदेखि बहराइचसम्म सञ्चालन हुने रेललाई गोण्डा जाने लिकसँग कनेक्टिभिटी गर्न माग गरेका छन् । ‘कलकत्ता र दिल्लीका लागि सोझै रेल चल्ने व्यवस्था मिल्ने खालको ब्रडगेज बिस्तार हुनुपर्छ भन्ने हाम्रो माग हो’, ज्ञापनपत्र बुझाउने कार्यमा संलग्न स्थानीय पत्रकार मधेशियाले भने, ‘हाम्रो मागको सुनुवाई भयो भने कलकत्ता बन्दरगाहदेखि १५÷२० दिन लगाएर रुपैडिहासम्म कन्टेनरमा ल्याइने सामानको सास्ती निकै कम हुन्छ ।’ पत्रकार मधेशियाले त्यसबारे रेल्वे अधिकारीहरु सकारात्मक भएको जानकारी दिंदै भने, ‘त्यसो भयो भने नेपालगन्ज रोड सुनको चिडिया बन्छ ।’ रेल्वे अधिकारी सिनियर विएसओ अनिल कुमार, सिनियर डिएन विपी सिंह, स्टेशन प्रमुख एफ रहमान लगायतसँग रुपैडिहाका स्वच्छता एवं विकास समिति अध्यक्ष रमेश कुमार अमलानी, भाजपा नगर अध्यक्ष रतन कुमार अग्रवाल, स्थानीय अगुवा डा. सनत कुमार शर्मा, बृज नरेश श्रीवास्तव, आरपी दीक्षित, मंगल सोनी, अरबिन्द शुक्ला, विजय कुमार मित्तल, अजय मित्तर, सुरेन्द्र शुक्ला, देबेन्द्र पाठक लगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

 
नेपाल–भारत सीमावर्ती क्षेत्रको रुपैडिहामा भारत सरकारले संयुक्त भन्सार जाँच चौकी (आइपिसी) निर्माण कार्य अगाडि बढाइरहँदा रेल्वे ब्रडगेज बिस्तार भएमा त्यसको सोझो प्रभाव नेपालगन्जलाई पर्ने निश्चित छ । ‘आइपीसीका लागि पनि बडी लाइन बिस्तार अनिवार्य छ’, भारतीय व्यवसायीहरु भन्छन्, ‘यसले नेपालगन्जलाई पश्चिमकै एउटा महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्छ ।’ अहिले पनि रुपैडिहा नाका हुँदै दैनिक सयौं ट्यांकर तेल देखि, कयौं ट्रक सामान नेपालका लागि आउने गरेको छ ।

 


ज्ञापन पत्र बुझाउन गएका रुपैडिहाबासी अगुवाहरुले नेपालगन्ज रोड स्टेशनको सरसफाईदेखि स्तरोन्नतीसम्मका लागि पनि पूर्वोत्तर रेल्वेका अधिकारीहरुलाई ध्यानाकर्षण गराएका छन् । भारतमा लोकसभा निर्वाचन चलिरहेकाले सर्भे सँगै नयाँ निर्वाचन परिणाम आउना साथ रेल्वे ब्रडगेज बिस्तार कार्यले तिव्रता लिने विश्वास गरिएको पत्रकार मधेशियाको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया