होटल व्यवसायीहरुको छाता संगठन, होटल व्यवसायी संघको प्रदेश अध्यक्षमा भाष्कर काफ्ले निर्वाचित भएका छन् । बुटवल बुधबार भएको प्रदेश ५ को प्रथम सम्मेलनबाट दुधिराज अधिकारीलाई ३१ का विरुद्ध ५४ मतका साथ काफ्ले प्रदेश अध्यक्ष निर्वाचित भएका हुन् ।
‘होटल तथा पर्यटन व्यवसायका लागि उर्बर बनेको प्रदेश ५ मा व्यवसायिक हकहित र सम्भावनाको खोजीका लागि मेरो नेतृत्व निरन्तर लागि पर्नेछ’, पहिलो प्रादेशिक सम्मेलनबाट होटल व्यवसायी महासंघको प्रादेशिक नेतृत्व लिन सफल काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘यसले नेपालगन्ज होटल तथा पर्यटन व्यवसायका लागि नेतृत्व लिन सक्षम छ भन्ने कुरा पनि प्रदेशभरी सञ्चार गरेको छ ।’
होटल व्यवसायी महासंघका संस्थापक महासचिव समेत रहेका काफ्ले होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष हुन् । संघका जिल्ला अध्यक्ष अध्यक्ष भीमलाल कंडेलले प्रदेश नेतृत्व बाँकेले लिन सफल भएकोमा खुशी व्यक्त गर्दै यसबाट नेपालगन्जको होटल तथा पर्यटन व्यवसायलाई सकारात्मक ऊर्जा मिल्ने प्रतिक्रिया दिए । बाँकेबाट प्रदेश उपाध्यक्षमा एकनारयाण चापागाई, प्रदेश सदस्यमा दुर्गा बम पनि निर्वाचित भएको अध्यक्ष काफ्लेले जानकारी दिएका छन् ।