आठौंको माहोल बनाउन स्थानीय तह र उद्योग वाणिज्य संघलाई आव्हान

केही दिनमैं नेपालगन्जमा बहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निश्चित छ । नेपालगन्जको सेरोफेरोमा झण्डै आधा अर्बको खेल पूर्वाधार निर्माण भैरहेको छ । प्रतियोगिता २०७५ सालभित्रै गर्न सर्वोच्च निकायका कार्यकारी प्रमुख, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट ‘जद्दोजेहाद’ लागि परेका छन् । तर, नेपालगन्जमा खेलकुदको महाउत्सवको माहोल किन बनिरहेको छैन ?

 
आइतबार नेपालगन्जमा सरोकारवालाहरु बीच क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले गरेको समन्वय बैठकमा सहभागीहरुको यस्तै प्रश्न ओइरियो । ‘नेपालगन्ज किन सुनसान छ ?’ आफैपनि खेलकुद क्षेत्रका अग्रणी व्यक्तित्व, बाँके जिल्ला रेडक्रसका अध्यक्ष गोबद्र्धन सिंह सम्झनाले गम्भीर प्रश्न अघि सार्दै भने, ‘यतिबेला नेपालगन्ज दुलही झैं सिगारिनु पर्ने हो ।’

 
हुनुपनि नेपालगन्जमा खेल आयोजना गर्ने दायित्व बोकेको राखेपका पदाधिकारीहरु अहोरात्र खटिइरहेका छन् । सयौं मजदुर निर्माणमा व्यस्त छन् । खेलकुदको माहोल कसले बनाउने ? राखेपका सदस्य सचिव विष्टले कार्यक्रममा त्यसअघि नै भनेका थिए, ‘प्रदेश ५ का लागि गौरवका रुपमा रहेको यो प्रतियोगिता बाँकेको साझा आयोजना हो ।’

 
रेडक्रस अध्यक्ष सम्झनाले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापामगर, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिदेखि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य समेतलाई इङ्गित गर्दै भने, ‘मुख्यगरी तपाईहरु यसका लागि तत्काल अग्रसर हुनुपर्छ ।’ बाँकेका आठ वटै तह आठौंको तयारीमा अपनत्व लिएर अगाडि बढ्नु पर्ने जोड सरोकारवालाको थियो ।

 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले खेलकुदसँग हातेमालो गरेर आफुहरु अगाडि बढ्न तयार रहेको बताए । ‘स्वागतद्वार बनाउनेदेखि सरसफाईका लागि हामी लागि परेका छौं’, नगर प्रमुख डा. राणाले सरोकारवालाहरु बीच भने, ‘तोकिएकै समयमा आठौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि हामीहरुले गर्नुपर्ने हरेक दायित्व निर्वाह गर्न तयार छौं ।’
कार्यक्रममा सहजीकरण गरिरहेका क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले खेलको प्राविधिक तयारीमा खेलकुद सम्बद्धहरु लागिरहँदा बाहिरी माहोल बनाउने कुरामा सम्पूर्ण जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी, राज्यका विभिन्न अंगहरु सबैको ध्यानाकर्षण गराए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले आयोजनाको अपनत्व नेपालगन्ज उद्योग वाणिज्य संघले लिने र स्थानीय उद्योगी, व्यवसायीहरु सबैलाई आठौं राष्ट्रिय खेलकुदको तयारी र देशभरीबाट हजारौं अतिथिहरुलाई स्वागतका लागि तम्तयार रहेको बताए ।

 
कार्यक्रममा नेपालगन्ज साइकिलिङ्ग क्लबका अध्यक्ष केशर बहादुर आले, होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्ले, क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एलबी क्षेत्री लगायतले समयमै आठौंको आयोजना सुनिश्चित गर्न जोड दिए । ‘राष्ट्रिय खेलकुदको नियमिततामा व्याप्त बेथितिलाई करेक्सन गर्न पनि २०७५ भित्रै राष्ट्रिय खेलकुदको आयोजना गर्न खोजिएको हो’, अन्तरक्रियात्मक समन्वयात्मक बैठकमा राखेप सदस्य सचिव विष्टले भने ।

प्रतिक्रिया

प्रतिक्रिया