राजनीतिक रुपमा पछाडी परेको भन्दै चिन्ता गरिरहँदा नेपालगन्ज विकासका दृष्टिले देशकै उत्कृष्ट सहरउन्मुख भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको बताएका छन् । विकासका काममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनता सबै क्रियाशील रहेको जनाउ दिंदै नगर प्रमुख डा. राणाले भनेका छन्, ‘स्थानीय जनता जति सक्रिय र जिम्मेवार हुन्छन् त्यति नै चाँडो विकासले पनि गति लिने हाम्रो विश्वास छ ।’

 
शुक्रवार प्रेस विज्ञप्ति जारी गरि, नगर प्रमुख डा. राणाले नेपालगन्ज उपमहानगरपालिका, नगरसभाबाट पारित नीति, कार्यक्रम तथा योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रक्रियामा क्रियाशील रहेको भन्दै नेपालगन्जलाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ आफु अगाडी बढेको बताएका छन् । ‘व्यवस्थित र स्मार्ट सिटी निर्माणका लागि उपमहानगरपालिकाले महत्वपूर्ण योजनाहरुलाई विशेष प्राथमिकताका साथ निर्माण कार्य बढाइरहेको अवगत गराउँदछौं,’ विज्ञप्तिमा डा. राणाले भनेका छन्, ‘हाल नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा भइरहेको छ ।’

 
विज्ञप्तिमा उपमहानगरपालिकाले आफुले गरिरहेका विकास निर्माणका योजनाहरुको फेहरिस्त प्रस्तुत गरेका नगरप्रमुख डा. राणाले नगरको फोहर व्यवस्थापन र सरसफाईलाई अत्यन्तै प्राथमिकतामा राखिएको बताएका छन् । ‘नेपालगन्ज विकासको गतिमा निरन्तर अगाडी बढिरहेको छ भन्ने कुरा सबै जनताले थाह पाउनु पर्छ,’ एकाएक विज्ञप्ति जारी गर्नाको कारणबारे दैनिक नेपालगन्ज कुरा गर्दै नगर प्रमुख डा. राणाले भने । उनले नेपालगन्ज कुनै मानेमा पछाडी फर्कने अवस्थामा नरहेको भन्दै ढुक्कसँग विकास निर्माणका योजनामा सहयोग गर्न आग्रह गरे ।

 
उपमहानगरपालिकाले नेपालगन्ज–२ न्यूरोडस्थित आफनो स्वामित्वमा रहेको खाली जग्गामा शपीङ कम्प्लेक्स भवन निर्माणको अन्तिम खाका तयार पारेको जनाएको छ । आठ कठ्ठा क्षेत्रफलमा बन्ने अत्याधुनिक सात तले भवनका लागि उपमहानगरपालिकाले ५ करोड वजेट छट्याएको छ । जर्मनी सरकारको सहयोगमा तयार पारिएको भवनको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) हालै बोर्ड बैठकले स्वीकृत गरेको जानकारी नगर प्रमुख डा. राणाले दिए । ‘अन्डर ग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अब चाँडै शुरु हुने’ उनको भनाइ छ ।

 
नेपालगन्ज– ८ स्थित मंगल प्रसाद मावि परिसरमा महिला कलेज निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका नगर प्रमुख डा. राणाले ८ करोड बजेट बिनियोजन गरिएको डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आव्हान गर्ने गरि काम अगाडी बढाइएको बताए । ‘नेपालगन्ज–४ स्थित अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, अब समयावधि नथपिने गरि निर्माणको अन्तिम कामलाई बढाइएको छ ।’ साढे चार बिघाः क्षेत्रफलमा टर्मिनल भवन, शपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण भएको छ । नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य भइरहेको होे ।

 
नेपालगन्ज उपमहानगरपालिका–२३ मा निर्माणाधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालनमा आउने गरि काम थालिएको नगरप्रमुख डा. राणाको दावी छ । बा¥ह बिघा क्षेत्रफलमा विसं २०७३ भदौदेखि निर्माणाधिन ल्याण्ड फिल्ड साइट क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत अब अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल ३९ करोड लागतमा निर्माण भइरहेको हो ।

 

 

दैनिक २५ देखि ३० टन सम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । अहिले फोहर विसर्जन गर्ने भरपर्दो स्थान नहुँदा अनेकन समस्या व्यहोर्नु पर्ने बाध्यता छ । ‘ल्याण्डफिल्ड साइट सञ्चालनमा आए दिर्घकालिन रुपमै फोहरमैलाको व्यवस्थापन गर्न सहज हुनेछ’, नगर प्रमुख डा. राणाले सुर्खेतरोडको सरसफाईका लागि सार्वजनिक निजी साझेदारी हुने गरि नमूनाका रुपमा ५ वटा कम्पनीलाई जिम्मेवारी दिइने जानकारी दिंदै भनेका छन् । छाडा पशु चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले वडा न २१ मा खुला काञ्जी हाउस निर्माण गरेको पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया