नेपालगन्ज घरबारीटोलका बासिन्दाहरुले निर्माणाधिन सडक तथा नाला दु्रत गतिमा अगाडि बढाउन आग्रह गरेका छन् । घरबारीटोलदेखि त्रिवेणीमोडसम्म निर्माण भैरहेको सडक र नालाको कामलाई तिव्र गतिमा अगाडि बढाउन व्यवसायीहरुले वडाध्यक्ष सुनिल सिंह हमाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
शुक्रबार निर्माणाधीन क्षेत्रमा दबाबमूलक र्याली सहित निस्किएका व्यवसायीहरुले बागेश्वरी पार्कमा पुगेर वडाध्यक्षलाई हमाललाई ज्ञापन बुझाएका हुन् । त्यसक्रममा वडाध्यक्ष हमालले बर्षात् अघि नै काम सक्ने गरी निर्माणको काम सुरु भएको बताएका थिए । ‘समयमै निर्माण सक्ने हाम्रो लक्ष्य हो’, उनले भने, ‘केही ठाउँमा घरधनी नेपालगन्ज बाहिर भएकाले समस्या देखिएको हो, तर समाधानका लागि हामी प्रयासरत् छौं ।’
व्यवसायी भीम बहादुर रानाभाटले छिटो काम नहुँने हो भने सडकमा रहने निर्माण सामाग्री र आधा निर्माण भएका संरचनाले व्यवसायमा नकारात्मक प्रभाव पार्ने भएकाले वडा कार्यालयको ध्यानाकर्षण गराइएको बताए । व्यवसायी विष्णु श्रेष्ठले छिटो निर्माण सक्नुपर्ने धारणा सबै व्यवसायीहरुको रहेको बताए ।
वडाध्यक्ष हमालले घरबारीटोलको सडक र नालासँगै न्यूरोड पछाडि, बागेश्वरी मन्दिर र जयबागेश्वरी स्कुलदेखि सुर्खेतरोडसम्म पानी निकासका लागि नाला बनाउने कार्य पनि अगाडि बढिरहेको बताए । ‘बर्षाअघि नै नालाको काम सक्ने लक्ष्य लिएका छौं’, उनले भने, ‘यसबर्षको बर्षात्मा घरबारीटोल र न्यूरोड क्षेत्रमा पानी नतालिओस् भन्नेमा हामी सचेत छौं ।’
जय बागेश्वरी स्कुल अगाडि ५ मिटर र न्यूरोड पछाडि २ मिटरको नाला बनाइरहेको वडाध्यक्ष हमालले जानकारी दिए । यसअघि डेढ मिटरको नाला बनाउन थालेपछि न्यूरोडका बासिन्दाले सानो नालाले पानी निकास दिन नसक्ने भन्दै विरोध जनाएका थिए । ‘स्थानीयबासीको ध्यानाकर्षणपछि न्यूरोड पछाडि दुई मिटरको नाला बनाउने सहमति भएको छ’, वडाध्यक्ष हमालले भने ।
व्यवसायीहरुले भने पहिले ४ मिटर भन्दा बढीको नालाले बर्षात्मा पानी थेग्न नसकेको अवस्थामा दुई मिटरको नालाले झन् समस्या थप्ने बताउँदै आएका छन् । वडाध्यक्ष हमालले नालामा जथाभावी प्लाष्टिक फालिदिंदा पानीको निकास हुन नसकेको बताउँछन् । ‘नालाभरिने गरी प्लाष्टिक फालिएको हुँदा पानीको सहज निकास नभएको हो’, वडाध्यक्ष हमाल भन्छन्, ‘अब नगरसभाबाटै विकल्प सँगै प्लाष्टिक निषेध गर्ने तयार छ, त्यसपछि नालामा प्लाष्टिकको अवरोध हुनेछैन ।’ उनी हाल निर्माण भैरहेका नालाले बर्षात्को पानीलाई सहज निकास दिने दाबी गर्छन् ।