संघीयतामा सीमांकनको असन्तुष्टि बोक्दै आएको नेपालगन्ज ढिलै गरी जुर्मुराएको छ । प्रदेश ५ सभाले प्रदेशको राजधानी र नामांकनको विषयलाई लिएर जनमत लिन थालेपछि नेपालगन्ज एकाएक जुर्मुराएको हो ।
इतिहासदेखि विभेदको सिकार हुँदै आएको भन्दै नेपालगन्जले के कारणले राजधानी हुन सकिएन भन्ने कुराको जवाफ माग्ने भएको छ । ऐतिहासिक, आर्थिक, सामाजिक र क्षेत्रीय केन्द्रको दृष्टिले पनि पश्चिम नेपालका २४ जिल्लाको नेतृत्व गर्दै आएको नेपालगन्ज आज किन यसरी पछाडि पर्यो ? शुक्रबार आयोजित नागरिक संवादमा सहभागीहरुले भने, ‘बाँकेबासीको अचेतना र नालायक नेतृत्व ।’ अधिकांस सहभागीहरुले राजनीतिक नेतृत्वको नालायकीका कारण राज्य पुनर्संरचनामा बाँके नराम्ररी पछारिएको टिप्पणी गरे । ‘नेपालगन्जप्रतिको निरन्तर विभेदको क्रम यसपाली पनि छरप्रष्ट भएको छ’, सहभागीहरुले राजनीतिक नेतृत्वसँग नेपालगन्ज प्रादेशिक राजधानी हुन नसक्नुको चित्तबुझ्दो जवाफ माग्ने कुरामा एकमत हुँदै भने, ‘अभि नही तो कभी नही ।’
प्रदेशसभाले प्रदेश ५ को नामांकन र राजधानीको विषयलाई जनमत लिंदैछ । त्यसक्रममा भोलि आइतबार नेपालगन्ज आइपुग्ने संसदीय टोलीसँग बाँकेबासीले आफ्नो धारणा राख्दैछन् । ‘त्यसअघि नेपालगन्जको साझा धारणा बनाउने पहल स्वरुप नागरिक संवादको आयोजना गरिएको हो’, विकासका लागि नागरिक सरोकार समितिको संयोजक कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘सहभागी ५० बढी नागरिक समुदायका प्रतिनिधिले नेपालगन्जलाई राजधानी बनाउने कुराको कुनै अरु विकल्प नखोज्ने कुरामा एक ढिक्का धारणा बनाएको छ ।’
नेपालगन्जका विभिन्न पेशाकर्मी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका अगुवा, प्राध्यापक, सामाजिक अगुवा, सञ्चारकर्मी, उद्यमी, व्यवसायी लगायत विभिन्न क्षेत्रको प्रतिनिधिमूलक सहभागिता रहेको कार्यक्रममा प्रदेश राजधानीका सवालमा नेपालगन्जको विकल्प नखोज्ने सहमति गरिएको छ । ‘नेपालगन्ज किन राजधानी हुन सक्दैन ?’, कार्यक्रमका सहभागीहरुले यसको चित्तबुझ्दो जवाफ नदिएसम्म प्रदेशको अर्को राजधानी स्वीकार गर्न नसकिने स्वरमा एकमत हुँदै भने, ‘अहिले राजधानी तोकिएका सहरहरु भन्दा नेपालगन्ज के आधारमा कमजोर छ ?’
‘प्रदेश राजधानीको आधार नितान्त प्राविधिक विषय हो’, राजनीति शास्त्री प्रा.डा. जनार्दन शर्मा आचार्यले कार्यक्रममा भने, ‘कि त भने ऐतिहासिकता, परम्परागत मान्यतालाई निरन्तरता दिंदै राजधानी तोक्न सकिन्छ ।’ प्रदेश ५ को राजधानी कुनै पनि दृष्टिले बुटवल उपयुक्त नहुने तर्क गर्दै प्रा.डा. आचार्यले ऐतिहासिकताको दृष्टिले नेपालगन्ज उपयुक्त हुने तर्क गर्दै भने, ‘हरेक दृष्टिले उपयुक्त स्थान चयन गरी नयाँ ठाउँको विकासमा बरु राज्यले योजना बनाउन सक्छ ।’
वरिष्ठ स्रष्टा, प्राज्ञ सनत रेग्मीले ऐतिहासिक कालखण्डदेखि नै पश्चिम नेपालको नेतृत्व गर्दै आएको नेपालगन्जले प्रादेशिक संरचनाको नेतृत्व गर्नुपर्ने तर्क गरे । ‘विद्यमान प्रदेशको राजधानी नेपालगन्ज हुन सक्दैन भने नयाँ आन्दोलन अघि सर्नु पर्छ’, प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका रेग्मीले आक्रोशित हुँदै नेपालगन्जको विकल्प अर्को हुनै नसक्ने तर्क गर्दै भने, ‘राजनीतिक नेतृत्व लाछी भएर बाँके पछाडि पर्यो ।’
वरिष्ठ राजनीतिकर्मी विजय कुमार गुप्ताले नेपालगन्ज इतिहासदेखि ठगिंदै आएको टिप्पणी गरे । ‘कुनै बेला देशकै राजधानी पछिको दोस्रो सहर नेपालगन्ज अहिले प्रादेशिक राजधानीको छलफलमा समेत नपर्नु नियति भन्दा विभेदपूर्ण नियतको निरन्तरता हो’, राजधानीको लडाईं जित्न नसके आर्थिक समृद्धिको दृष्टिले पश्चिम नेपालको नेतृत्व लिन पर्याप्त आधारहरु तयार गर्ने तर्फ लाग्न सुझाउँदै पूर्व नगर प्रमुख गुप्ताले भने, ‘नेपालगन्जले प्रदेश राजधानी छोडेर अरु कुनै सहरसँग सरेण्डर गर्न सक्दैन ।’ जिल्ला बार अध्यक्ष मो. अयुब सिद्दिकीले नेपालगन्ज निराश हुने अवस्थामा नरहेको धारणा राखे । ‘नेपालगन्ज आर्थिक दृष्टिले अब देशकै केन्द्र बन्छ’, उनले भने ।
नेपालगन्ज चेम्बर अफ कमर्शका अध्यक्ष सतिश अग्रवाल, लायन्स लिडर सेम शाक्य, बारका पूर्व अध्यक्ष लोक बहादुर शाह, स्रष्टा किरण आचार्य लगायतका सहभागीहरुको एउटै स्वर थियो, ‘नेपालगन्जको विकल्प खोज्नेतिर जाने कुनै आधार छैन ।’ उनीहरुले राजनीतिक दलको चर्को आलोचना गरेका थिए । नेपालगन्जले आफु निरन्तर पछाडि परिरहँदा पनि नबोल्नु नै विडम्वना भएको तर्क सहभागीहरुको थियो । ‘बाँकेका दलहरुको राजधानीबारे साझा धारणा खोई ?’, लायन्स लिडर शाक्यले हरेक दृष्टिले नेपालगन्ज उपयुक्त हुने धारणा राख्दै भने, ‘जिल्लाका सबै जनप्रतिनिधिलाई एक ठाउँमा राखेर राजधानीबारे साझा धारणा बनाइनु पर्छ ।’
कार्यक्रममा सहभागी कतिपय वक्ताहरुले नेपालगन्ज राजधानीको विकल्प कर्णाली प्रदेशसँग जोडिने तर्फको यात्रा हुनसक्ने धारणा राखे । ‘तर, बाँके, बर्दियाको राजधानी बुटवल हुनै सक्दैन’, सबैको एकमत थियो । कर्णालीमा गाभिने कुरालाई सहभागीहरुले अन्तमा एकमतले खारेज गर्दै भने, ‘नेपालगन्जको विकल्प नेपालगन्ज नै हो ।’ राजनीतिक नेतृत्वको तिव्र आलोचना भएको कार्यक्रममा जनता जगाएर प्रादेशिक केन्द्रका रुपमा नेपालगन्ज तयार गर्न सकिने तर्क अघि सारिएको थियो । ‘आजको स्वरुपमा बुटवललाई केन्द्र मान्न नसक्ने बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान, कपिलवस्तुलाई एक ठाउँमा राखेर अर्को प्रदेशको परिकल्पना किन नगर्ने ?’, राजनीतिकर्मी पशुपति दयाल मिश्रले भने, ‘कर्णालीसँगको सम्बन्धलाई राजनीतिक भन्दा आर्थिक दृष्टिले बलियो बनाएर लैजाने तिर सोंच्नुपर्छ ।’ उद्योगपति कन्हैयालाल वैद्यले राजधानी भएमात्र विकास हुन्छ भन्ने धारणाको अन्त्य गरी सबै दृष्टिले उपयुक्त हुने नयाँ ठाउँमा प्रदेश राजधानी प्रस्ताव गरी नयाँ सहरको निर्माण गरिनु पर्ने धारणा अघि सारेका थिए । ‘त्यसका लागि वैज्ञानिक विधि बनाइनु पर्छ’, उनले भने ।
नेकपाका नेता मो. हारुन, अतहर हुसेन फारुकी लगायतले बाँकेलाई बुटवलको विकल्प सुर्खेत हुन नसक्ने तर्क गरे । तर, उपप्राध्यापक हरि प्रसाद तिमिल्सिना, डा. अवनिन्द्र मिश्र, उद्योगपति अच्युत प्रसाई, व्यवसायी टंक प्रसाद शर्मा, मधुसुदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, कृष्ण भण्डारी, भाष्कर काफ्ले, स्रष्टा ऋचा लुइँटेल, उद्यमी मिना ढकाल, कुसुम बस्नेत लगायतले एक स्वरमा भने, ‘नेपालगन्ज राजधानी बन्दैन भने प्रदेश ५ बाट छुट्टिएर कर्णाली प्रदेशमा गाभिनु पर्छ ।’ कर्णालीसँगको परम्परागत र व्यापारिक सम्बन्धको निरन्तरता नै नेपालगन्ज विकासको आधार भएको तर्क उनीहरुको थियो । समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको संवादको सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए । ‘उठेका साझा धारणालाई एकरुपता दिएर प्रदेशको संसदीय टोलीलाई बुझाउने निर्णय गरिएको छ’, पत्रकार पूर्णलाल चुकेले कार्यक्रमबारे भने, ‘राजधानीको सवाललाई निष्कर्षमा नपुगेसम्म निरन्तर अगाडि बढाउन दबाब समूह निर्माण गर्ने दिशातिर अग्रसर हुनुपर्ने सबैको धारणा आएको छ ।’
राजधानीको सवाललाई पार्टी भन्दा माथि उठेर छलफलमा ल्याउन पत्रकार श्रीराम सिग्देलले आग्रह गरे । ‘पार्टी होइन माटो छोएर प्रदेश राजधानीको बहस अगाडि बढाउनुस्’, पत्रकार सिग्देलले भने । अधिकारकर्मी भोला महत, पत्रकार माधव अधिकारी लगायतले राजधानी सबै दृष्टिले उपयुक्त ठाउँमा हुनुपर्ने आफ्नो धारणा राखेका थिए ।