बाँके प्रदेश ५ को राजधानी नभए वा बाँकेलाई अपायक पर्ने स्थानमा राजधानी तोकिए बाँकेको भविष्य सुनिश्चित गर्न विकल्प खोजिने सार्वजनिक अभिव्यक्ति बाँकेका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिले दिइरहेका छन् । बर्दियाका जनप्रतिनिधि पनि राजधानी अपायक भएमा विकल्प खोज्ने मुडमा छन् ।
नेपालगन्ज नगर प्रमुख डा. राणाले बाँके प्रदेश राजधानीका लागि उपयुक्त रहेकाले वेवास्ता गरिए विकल्प खोज्ने चेतावनी दिंदै आएका छन् । नगर प्रमुख डा. राणाले बाँकेलाई राजधानी नबनाए कर्णाली प्रदेशमा मिसाउन आफ्नै नेतृत्वमा आन्दोलन गर्नेसम्मका अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिंदै आएका छन् ।
प्रदेश राजधानी र नामाकरणका लागि बनाइएको समितिमा बाँकेको प्रतिनिधित्वसम्म नगराइएपछि त्यसको आक्रोश बाँकेबासीमा देखिन्छ । यद्यपी प्रदेश सभा सदस्य आइपी खरेलले प्रदेश ५ को प्रदेशसभामा प्रतिनिधित्वको विषयमा कडा प्रतिक्रिया जनाएपछि बाँकेबाट समितिमा बाबुराम गौतमलाई समावेश गरिएको छ ।
नेपालगन्जका उद्योगी, व्यवसायी पनि बाँके प्रदेश राजधानी हुनुपर्ने वा अर्को प्रदेशमा मिसिनु पर्नेमा एकमत नै देखिन्छन् । ‘हामीले बाँकेको भविष्य हेर्ने हो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘बाँकेमा पर्याप्त पूर्वाधार हुँदाहुँदै पनि राजधानीको सवालमा वेवास्ता गरिए हामी विकल्प खोज्छौं ।’ उनले कुनै पनि हालतमा हाल अस्थायी राजधानी रहेको बुटवललाई स्वीकार गर्न नसकिने बताएका छन् । ‘बाँके बाहेकका स्थानमा राजधानी तोकिए त्यो बाँके विरुद्धको निर्णयका रुपमा हामीले लिनेछौं’, अध्यक्ष वैश्यले भने, ‘त्यस विरुद्ध हामी सडकमा उत्रन बाध्य हुनेछौं ।’ अध्यक्ष वैश्यले संघले प्रादेशिक महोत्सव आयोजना गरिरहेको जानकारी दिंदै भने, ‘हाम्रो जिल्लालाई वेवास्ता गरिए विकल्पका लागि दबाब दिन हामी सडकमा हुनेछौं ।’
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति प्रदेश ५ का १२ वटै जिल्लालाई पायक पर्ने स्थानमा प्रादेशिक राजधानी र सबैलाई स्वीकार्य हुने नामाकरण हुनुपर्ने बताउँछन् । ‘संघीयता हामी सबैको हो त्यसैले सबैको चित्त बुझ्ने हिसाबले प्रादेशिक राजधानी कायम गरिनुपर्छ’, अध्यक्ष कक्षपतिले भने ।
प्रदेशसभा सदस्य आइपी खरेलले राजनीतिक शक्तिको आडमा बाँके र बर्दियालाई वेवास्ता गर्न खोजिएको भन्दै पहिलेबाटै असन्तुष्ट छन् । उनले प्रदेशसभामा समेत यसबारेमा आफ्ना धारणा राखिसकेका छन् । ‘संघीयतालाई सफल पार्ने जिम्मा हामी सबैको हो’, प्रदेशसभा सदस्य खरेलले दैनिक नेपालगन्जसँग भने, ‘बाँके र बर्दियालाई पायक पर्ने स्थानमा राजधानी तोकिए हामीलाई स्वीकार्य छ ।’ उनले कुन ठाउँमा राजधानी हुनुपर्छ भन्ने स्पष्ट रुपमा नबोले पनि बुटवल भने अपायक हुने संकेत गरेका छन् ।
प्रदेशसभा सदस्य खरेलले बाँके, बर्दियालाई वेवास्ता गर्न खोजिए त्यसको मूल्य प्रदेश ५ ले चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् । प्रदेश राजधानी र नामाकरण गम्भीर विषय भएकाले १२ वटै जिल्लाको सहमति हुनुपर्ने उनको धारणा छ । बाँके निर्वाचित खरेलले बाँके र बर्दियालाई अन्याय गरिए स्वीकार्य नहुने धारणा राखेका छन् । प्रदेशसभाको नामाकरण गर्दा पहिचान सहितको हुनुपर्ने खरेलको धारणा छ । ‘बाँके र बर्दियाले विकल्प खोज्नु परेमा जहाँ जान्छ त्यो सशक्त प्रदेश हुनेछ’, प्रदेशसभा सदस्य खरेलले भने, ‘यसबारे रुपन्देहीका साथीहरुले बुद्धिमत्तापूर्वक अगाडि बढ्नु पर्छ ।’
‘बाँकेमा राजधानीका लागि सुझाव लिइँदै
प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिले आइतबार बाँकेमा सुझाव संकलन गर्ने भएको छ । समितिले सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने क्रममा बाँके आउन लागेको हो ।
समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको हो । टोलीले जिल्लामा पुगेर राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, निजी क्षेत्रलगायतका संघसंस्थासंग रायसुझाव लिने गरेको छ ।
‘बाँकेमा जिल्ला स्थित कार्यालय प्रमुख, नागरिक पत्रकार, उद्योगी, व्यवसायी, कानुन व्यवसायी, जिल्ला बार एशोसिएसन, पुनरावेदन बार एशोसिएसन, स्थानीय तहका जनप्रतिनिधिहरु सरोकारवाला, स्थानीय राजनीतिक पार्टीका प्रमुख, पत्रकार महासंघको सहभागितामा अन्तरक्रिया आयोजना गरिएको छ’, जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा रोम केसीले भने । दिपेन्द्र पुनको संयोजकत्वमा आउन लागेको विशेष समितिले राजधानी कहाँ राख्दा उपयुक्त हुन्छ र नाम के राख्ने भन्ने विषयमा सुझाव संकलन गर्नेछ ।