पकट–पटकको विजेता होलिल्याण्डबाट तेस्रो पटकमा एबीसीले उपाधी हात पार्न सफल
अघिल्लो वर्षको उपविजेता एबीसी रेसिडेन्सल मावि नेपालगन्जले दोश्रो मेयर कप टि–२० अन्तर विद्यालय प्रतियोगिताको उपाधी उचालेको छ । बुधवार भएको फाइनल खेलमा पुरानो प्रतिद्वन्द्वी होलील्याण्ड माविलाई ७ विकेटले पराजित गर्दै एबीसीले उपाधी उचालेको हो । गत वर्ष पहिलो मेयर कप क्रिकेट उपाधीका लागि पनि यसै गरि भिडेका यी जोडी त्यसअघि हिसानले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा समेत फाइनल प्रतिष्पर्धी रहँदै आएका थिए ।
उपाधि संगै एबीसीले ५१ हजार रुपैया नगद र ट्रफी प्राप्त गरेको छ भने उप विजेता होली ल्याण्डले ट्रफी सहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । ‘यसपाली विजेता बनेरै छाड्यो टीम एबीसी,’ ८१ रनको विजयी लक्षलाई सजिलै पार लगाइरहेका आफ्ना खेलाडीको प्रस्तुतीका बीचमा एबीसीका सञ्चालक शशी स्वाँरले उत्साहित हुँदै भनिन् । स्वाँरका अनुसार, विद्यालयले खेल शिक्षकनै नियुक्त गरि नियमित खेल प्रशिक्षणमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ ।
पहिलो ब्याटिङ गर्दै होलील्याण्डले १८.३ ओभरमा सम्पुर्ण विकेट गुमाँउदै ८० रन बनाएको थियो । उसका लागि दिपेश बर्मा २० तथा ऋतिक विष्टले १७ रन बनाएका थिए । एबीसीका अफजल पठानले ३, सन्नी सहनीले ३, अबुजर हल्वाईले ३ विकेट लिएका थिए ।
प्रतिउत्तरमा ८१ रनको सामान्य विजय लक्ष्य लिएर दोश्रो पारी खेल्न मैदानमा आएको एबीसीले १४.५ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त ग¥यो । एबीसीका सादाब अन्सारीले ३३ र अरमान सल्मानीले २४ रनको योगदान दिए । होलील्याण्डका रितिक विष्टले २ र अरविन्द क्षेत्रीले १ विकेट लिएका थिए । एबीसीका अफजल पठान म्यान अफ द फाइनल घोषित भए ।
प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गरेका एबीसीका सादाब अन्सारी म्यान अफ द सिरिज घोषित भए । एबीसीका अमन अन्सारी उत्कृष्ट ब्याट्समेन र आइडियल पब्लिकका मकबुल राई बेस्ट बलर घोषित भए ।
आइडियलकै फरदीन खान उदयीमान खेलाडी घोषित भए । विजेता तथा उप विजेताहरुलाई नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगर, क्यानका पुर्व केन्द्रीय सदस्य सुनील सिंह हमाल, राखेप सदस्य विनोद मैनाली, क्यानका संजय राज सिंह, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्ग बहादुर थापा लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गत माघ १९ गते बाट संचालित प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको थियो । अघिल्लो वर्ष मेयर कपको पहिलो संस्करणमा ६ वटामात्र टीम सहभागिता रहेको मेयर कप क्रिकेट आगामी संस्करण अझ रोमाञ्चक हुने आयोजकको विश्वास छ । ‘यसै पटक परीक्षा भएकाले कति विद्यार्थी चाहेर पनि सहभागिता जनाउन सकेनन्,’ संघका अध्यक्ष दुर्ग बहादुर थापाले दैनिक नेपालगन्जसँग भने, ‘आगामी वर्ष मंसिरमै प्रतियोगिता आयोजना गर्नेगरि तयारीलाई अगाडी बढाइने छ ।’
प्रतियोगिता संयोजक मेराज अन्सारीले मैदान अभावले बाँके जिल्ला क्रिकेट संघले चाहे अनुसार आयोजना गरिरहन समस्या भइरहेको बताए । ‘एक सातामा सकिने योजनामा सञ्चालन गरिएको प्रतियोगिता १८ दिन लाग्यो,’ दैनिक एउटा खेल सञ्चालनको बाध्यता सुनाउँदै मेयर कपका संयोजक अन्सारीले दैनिक नेपालगन्जसँग मंगल माविको खेल मैदान देखाउँदै भने, ‘दर्शक बस्ने ठाउँसम्म छैन ।’ अन्सारीले त्यसो भनिरहँदा विभिन्न विद्यालयका सयौं विद्यार्थी, युवा दर्शकहरु धुलाम्य भुईंमा बसेर वा उभिएरै खेलको मजा लिन बाध्य थिए ।