दुध र दुग्धजन्य पदार्थ दैनिक रुपमा प्रयोग गरीले खाद्य पदार्थ हो । यसको गुणस्तरले मानवीय स्वास्थ्य प्रत्यक्ष असर पार्छ । त्यसैले सरकारले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरका लागि निर्देशिका ल्याएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गत २०७५ असोज ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार आगामी चैत्र ४ गतेदेखि कार्यन्वयनमा आउने गरी दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ ल्याइएको हो ।
निर्देशिका लागु भएपछि तोकिएको मापदण्ड विपरित दुध तथा दुग्धजन्य पदार्थको व्यवसायमा रोक लाग्ने भएको छ । त्यसैले निर्देशिमा उल्लेखित मापदण्डहरुका बारेमा बाँके, बर्दिया, दाङ्ग र सुर्खेतका किसान, दुध तथा दुग्धजन्य पदार्थका व्यवसायीलाई जानकारी दिन सोमबार खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले अन्तरक्रिया आयोजना गरेको छ । निर्देशिका लागु भएसँगै खुला दुध बिक्री गर्न नपाइने खाद्य प्रविधि तथा गुण नियन्त्रणले जनाएको छ । किसानले भने त्यसमा असन्तुष्टि पनि जनाएका छन् ।
कार्यक्रममा बोल्दै खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख ज्योत्सना श्रेष्ठले किसानदेखि व्यवसायमा संलग्नसम्मका लागि निर्देशिकाले मापदण्ड तय गरेको जानकारी दिइन् । उनले निर्देशिका विपरित गर्नेले कारवाहीको दायरामा आउने बताइन् । ‘अनुगमनका क्रममा निर्देशिकाको पालना नगरेको पाइएमा व्यवसायमा रोक लगाउन सकिनेछ’, उनले भनिन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यालयका नेपालगन्ज प्रमुख श्रेष्ठले उपभोक्ता स्वास्थ्यको ध्यानमा राखेर स्वच्छता र गुणस्तरीयताको निर्देशिक जारी भएको बताइन् । ‘दुग्धजन्य पदार्थ उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो’, उनले भनिन्, ‘त्यसैले कृषक, उद्यमी, डेरी सञ्चालनले दुधको गुणस्तर बिग्रन नदिन निर्देशिकाको पूर्ण पालना गर्नुपर्छ ।’
दुध तथा दुग्धजन्य पदार्थका व्यवसायीले निर्देशिकाको पालना तथा निर्धारित ढाँचामा अभिलेखिकरण गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले जानकारी दिइन् । ‘मापदण्ड पूरा गरेर मात्रै हुँदैन त्यसको पूर्ण अभिलेखिकरण पनि गर्नुपर्छ’, निर्देशिकामा उल्लेखित मापदण्डको जानकारी दिंदै उनले भनिन् ।
निर्देशिकामा दुग्ध उत्पादनका लागि दुधमा स्वच्छता एवम् गुणस्तर कायम राख्न स्वस्थ जनावर हुनुपर्ने, दुध दुहुने व्यक्तिले व्यक्तिगत सरसफाईमा पूर्ण ध्यान दिनुपर्ने, दुध दुहुन अघि साबुन पानीले हात धुनुपर्ने, पशु राख्ने गोठ सफासुग्घर राख्नुपर्ने, दुध दुहुने भाडो सफा राख्नु पर्ने उल्लेख गरिएको खाद्य निरीक्षक एकराज बुढाथोकीले जानकारी दिएका छन् । निर्देशिकामा दुध संकलन, चिस्यान केन्द्र, डेरी उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार, डेरी पसलले अपनाउनु पर्ने, दुध प्रशोधनमा अपनाइनु पर्ने विधि, प्रक्रिया लगायतका बारेमा स्पष्ट उल्लेख गरिएको निरीक्षक बुढाथोकीले बताए ।
कार्यक्रममा किसान तथा दुग्ध व्यवसायीहरुले नेपाली व्यवसायीलाई निर्देशिका ल्याइरहँदा भारतीय दुधलाई पनि नियमन गर्नुपर्ने बताएका थिए । उनीहरुले बजारमा गुणस्तरीय दुधका लागि भारतबाट निर्वाध भित्रिने दुधमा प्रतिबन्ध लगाउन माग गरेकाले थिए । ‘हामीलाई नियमन गर्ने तर भारतीय दुधलाई निर्वाध आउन दिने हो भने त्यसको मर्का हामी किसानलाई नै पर्नेछ’, कार्यक्रममा सहभागी किसानहरुले भने । किसान तथा दुग्ध व्यवसायीहरुले राज्यले नियमन व्यवसायी र किसानलाई नियमन गरिरहँदा बजारको पनि सुनुश्चित गर्न माग गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महाप्रबन्धक सञ्जिव कुमार कर्णले निर्देशिका उपभोक्ता स्वास्थ्यका लागि रहेकाले सबैले पालना गर्नुपर्ने धारणा राखेका छन् । उनले निर्देशिकाले भारतीय उत्पादनलाई निरुत्साहित गरी नेपाली गुणस्तरीय उत्पादनमा बजारमा पुग्ने दाबी गरे ।