अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसद्लाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको विवरण बाहिर आएको छ।
ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक वक्तव्यमा भनिन्, “राष्ट्रपतिले आफ्नो वाचा पूरा गर्दै पर्खाल बनाउने, सीमा सुरक्षित राख्ने र हाम्रो महान् देशको सुरक्षा गर्नेतर्फ काम गर्न लाग्नु भएको छ।”
आलोचना किन?
तर विपक्षी सांसदहरूले “शक्तिको चरम दुरुपयोग” गर्न लागेको भन्दै ट्रम्पको आलोचना गरेका छन्।
एक दशमलव तीन अर्ब डलर बराबरको खर्च विधेयकलाई सिनेटले समेत पारित गरिसकेको छ। अब त्यो विधेयक डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभामा पुगेको छ।
अमेरिकी संसद्ले पारित गरेपछि मात्र त्यो विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन्।
विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन पाँच अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरिरहेका छन्।
पर्खाल योजना ट्रम्पको चुनावी वाचा हो। तर त्यसलाई साकार तुल्याउन ट्रम्पले आवश्यक बजेट नपाएपछि विवाद चुलिएको हो।
सङ्कटकाल घोषणाले ट्रम्पलाई कसरी सजिलो हुन्छ?
अमेरिकामा सङ्कटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएका बजेट पर्खाल परियोजनाका लागि लैजान सक्छन्।
तर डेमोक्र्याट तथा केही रिपब्लिकन नेताहरूले राजनीतिक प्रक्रियालाई बलमिच्याइँ गर्ने र सङ्कटकाल घोषणा गर्ने ट्रम्पको योजनाप्रति आपत्ति जनाइरहेका छन्।
सिनेटमा रहेका डेमोक्र्याटिक नेता चक शुमरले त ट्रम्पले “कानुनहीनता”को स्थिति निम्त्याउन खोजेको आरोप लगाएका छन्। उनले ट्रम्पले “राष्ट्रपति पदको चरम दुरुपयोग” गर्न खोजिरहेको टिप्पणी गरेका छन्।
एक बीबीसी सम्वाददाता भन्छिन् ट्रम्पले सङ्कटकाल घोषणा गरिहालेपनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने सङ्केतहरू देखिइसकेका छन्। -BBC