खजुरामा केन्द्र विवाद चर्कियो

गाउँसभा स्थगित, गाउँपालिकालाई पूर्ण साक्षर घोषणाको तयारी
बाँकेको खजुरा गाउँपालिकाको चौथो गाउँसभा दोस्रो पटक पनि स्थगित भएको छ । बुधबार गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषयमा जनप्रतिनिधिहरु एकमत हुन नसकेपछि गाउँसभा स्थगित गरिएको हो । गाउँसभाको प्रमुख प्रस्ताव रुपमा पेश गरिएको पालिकाको केन्द्र सम्बन्धी विषयमा जनप्रतिनिधिहरु आ–आफ्नै धारणा रहेको छ ।

 
गाउँपालिकाको लागि उपयुक्त स्थान अध्ययन गरी प्रस्ताव गर्न गठित अतिउल्ला खाँको संयोजकत्वमा रहेको समितिले थप समय माग गरेपछि समय थप्न गाउँसभा स्थगित गरिएको पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् । ‘केही दिन ढिला हुँदैनमा फरक पर्दैन’, उनले भने, ‘सबैको सहमतिमा केन्द्र छनोट होस् भन्ने प्रयास गरिरहेको छु ।’ गाउँपालिकाको अर्को बैठक फागुन ८ गतेसम्मका लागि स्थगित गरिएको छ । जनप्रतिनिधि बाँडिएकाले अगामी गाउँसभाको बैठकमा पनि सर्वसम्मत केन्द्र तोकिनेमा भने आशंका देखिन्छ ।

 
हाल वडा नं. ४ मा रहेको पालिकालाई खजुरा गाउँपालिका वडा नं. ३ को जनतामावि सन्तकुटी र क गाउँ स्थित आधारभूत विद्यालय रहेको क्षेत्रमा केन्द्र तोक्न प्रस्ताव गरिएको छ । दुवै क्षेत्रमा गाउँपालिकालाई पर्याप्त जग्गा उपलब्ध रहेको छ । हाल रहेको केन्द्र तोक्न दुई तिहाई जनप्रतिनिधिको मत आवश्यक पर्नेछ ।

 
बुधबारको गाउँसभामा व्यवस्थित खेल मैदान कुन स्थानमा बनाउने भन्नेमा सहमति जुट्न सकेन । सभाले खजुरालाई आगामी चैत्र मसान्त भित्र पूर्ण साक्षर घोषणाको तयारी गर्नका लागि बजेट विनियोजन भने सर्वसम्मतमा पारित गरेको छ । सभाले पूर्ण सक्षर घोषणाका लागि ५ लाख बजेट सर्वसम्मत विनियोजन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया