नेपालगन्ज बन्छ, ‘क्यासिनो सिटी’ !

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जलाई क्यासिनो सिटी बनाइने कुरामा ढुक्क हुन आश्वस्त पारेका छन् । मंगलबार होटल व्यवसायी संघ बाँके नेपालगन्जको पदस्थापन कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले भने, ‘नेपालगन्जको भविष्य संकटमा परेको छ, यसलाई जीवन्त राख्न पनि क्यासिनो सिटी आवश्यक छ ।’ नगर प्रमुख डा. राणाले नेपालीहरुलाई प्रवेश निषेध गरिने क्यासिनो सिटीका कारण सबैलाई फाइदा हुने तर्क गर्दै भने, ‘ढिलो चाँडो नेपालगन्ज–दिल्ली उडान पनि हुन्छ र हुनुपर्छ ।’
पछिल्लो राजनीतिक परिवर्तनको सबैभन्दा ठूलो राजनीतिक मर्का झेलिरहेका होटल व्यवसायीहरुलाई सम्बोधन गर्दै नगर प्रमुख डा. राणाले ‘नेपालगन्जलाई कि त राजधानी दिन वा कर्णालीमा जोडिने अधिकार दिन’ माग गरे । त्यसो भएमा मात्र नेपालगन्जको भविष्य सुरक्षित र सुनिश्चित रहने तर्क गर्दै डा. राणाले भने, ‘आन्दोलनका लागि तयार हुनुस् ।’ उनले कर्णालीसँग जोडिएमा नेपालगन्जका लागि चीनसँगको सम्बन्ध बिस्तार र कर्णाली प्रदेशका लागि भारतसँगको बाटो खुला हुने धारणा राख्दै भने, ‘यसले मुलुककै सबैभन्दा समृद्ध प्रदेश निर्माण हुनेछ ।’
कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक महासचिव भाष्कर काफ्लेले होटल व्यवसायीहरुको समस्या समाधानका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने माग गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भारतीय पर्यटकहरुलाई लक्षित गर्दै प्रचार अभियान सुरु गर्न आव्हान गर्दै त्यसका लागि सरकारले पनि लगानी गर्नुपर्ने धारणा राखे ।
‘बागेश्वरीदेखि बाँके, बर्दिया निकुञ्जसम्मलाई भारतीय पर्यटकमाझ प्रचारप्रसार गरौं’, नेपालगन्जको होटल सञ्चालनका लागि धार्मिक र प्राकृतिक पर्यटकहरुको ओइरो लगाउने सकिने तर्क गर्दै अध्यक्ष वैश्यले भने ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले होटल व्यवसायीहरुको सुरक्षाका लागि बाँके प्रहरी सक्षम रहेको बताए । ‘ढुक्कसँग कानुनको दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्नुस्’, प्रहरी उपरीक्षक पौडेलले सुरक्षाका लागि बाँके प्रहरी सक्षम रहेको जानकारी दिंदै भने, ‘सहकार्य र समन्वयबाट प्रहरी सुरक्षाको सुनिश्चितता गर्ने कुरामा प्रतिबद्ध छ ।’ व्यवस्थित फुटपाथदेखि सडक अतिक्रमण न्यूनीकरणका लागि नेपालगन्ज उपमहानगरपालिकासँग प्रहरीले सहकार्य गरिरहेको पनि जनाउ दिए ।
होटल व्यवसायी संघका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा संघका संस्थापक अध्यक्ष मदन बिसीले नवनिर्वाचित कार्यसमितिलाई सबैलाई समेटेर जान सुझाव दिए ।
नेकपाका नेता अशोक कोइराला, अक्कल बहादुर बम लगायतले बोलेको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष शालिक सुवेदी, वितरक संघका अध्यक्ष अमित बस्नेत, खुद्रा व्यवसायी संघका अध्यक्ष भीम बहादुर रानाभाट लगायत पनि सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया