खजुरा क्यान्सर अस्पतालमा ‘किमो सेवा सुरु’

संघ अन्तर्गत सञ्चालन हुने निर्णय भएको खजुरा स्थित सुशिल कोइराला प्रखर अस्पतालले थप उपकरण भित्र्याउने भएको छ । सरकारले झण्डै ८ करोड लगानी थप्दै उपकरणका लागि टेण्डर आव्हान गरेको छ ।

 
अस्पतालमा उपचारका लागि आवश्यक उपकरण खरिद गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले जानकारी दिए । ‘फोर डी सिमुलेटर, ब्राक्री तथा मेमोग्राफी सिष्टमका लागि उपकरण थप गर्न लागिएको हो’, निर्देशक पौडेलले भने, ‘यसले क्यान्सरको उपचारका लागि थप सहयोग पुग्नेछ ।’ अस्पतालले झण्डै ८ करोडको उपकरण अस्पतालमा थप्न लागेको हो । जसका लागि टेण्डर आव्हान समेत गरिसकिएको छ ।

 
खजुरा क्यान्सर अस्पतालका लागि अधिकतम ३ करोड ६० लाख मूल्यको फोर डि सिमुलिएटर, २ करोड ७ लाख ९० हजारको ब्रेक्रोथेरापी यूनिट र १ करोड ४४ लाख लागतमा डिजिटल मेमोग्राफी सिष्टम खरिद गर्न लागेको हो । ‘खरिद गर्न लागिएका उपकरणहरु उपचार र शरीरका अंगहरुको स्यानिङमा प्रयोग हुनेछन्’, अस्पतालका निर्देशक पौडेलले भने । अस्पतालले क्यान्सर उपचारमा किमो सेवा समेत सुरु गरिसकेको छ । ‘दुई सातादेखि किमो सेवा सञ्चालनमा छ’, अस्पतालका कार्यकारी निर्देशक पौडेलले भने, ‘अस्पताल फुलफेजमा सञ्चालनका लागि पहल गरिरहेका छौं ।’
अस्पतालको भविष्य बारे अन्योलता देखिएका बेला मन्त्रीपरिषद्ले खजुरा क्यान्सर अस्पताललाई संघ अन्तर्गत राख्ने निर्णय गरिसकेको छ । तर, अस्पतालका लागि आवश्यक जनशक्तिका लागि गरिएको पहल भने सफल हुन सकेको छैन । अस्पतालका लागि केही उपकरण खरिदको प्रक्रियामा रहेपनि थप उपकरण आवश्यक रहेको अस्पतालका निर्देशक पौडेल बताउँछन् । ‘क्यान्सर उपचारका लागि सेकाइमा प्रयोग हुने उपकरण आवश्यक रहेकाले मन्त्रालयमा त्यसबारे माग गरेका छौं’, उनले भने, ‘तर, त्यसका लागि बजेट भने उपलब्ध भैसकेको छैन ।’

 
मध्य र सुदूरपश्चिम क्षेत्रमा क्यान्सरका विरामीहरुको उपचारका लागि केन्द्र बन्ने विश्वास गरिएको खजुरा क्यान्सर अस्पताल भौतिक पूर्वाधार सम्पन्न बन्दै गएपनि उपकरण र जनशक्तिको भने अभाव छ । माग गरे अनुसार जनशक्ति र उपकरण उपलब्ध हुने हो भने अस्पतालले पूर्ण सेवा दिन सक्ने अस्पतालले बताएको छ । ‘माग गरे अनुसार जनशक्ति भए १५ दिनमै सर्जरीको सेवा समेत सुरु गर्न सक्नेछौं’, निर्देशक पौडेलले भने ।

 
क्यान्सर अस्पतालले १ सय शैय्याको स्वीकृति पाएको छ । तर, जनशक्ति र उपकरण अभाव हुँदा अस्पतालले आफ्नो क्षमता अनुसार सेवा दिन सकेको छैन । अस्पताललाई २ सय बढी कर्मचारी आवश्यक भएपनि हाल ३० को हाराहारीमा रहेका कर्मचारीले अस्पताल सम्हालिरहेका छन् । ‘आवश्यक कर्मचारीको दरबन्दी माग गरिसकेका छौं’’, कार्यकारी निर्देशक पौडेलले भने ।

 
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले क्यान्सर अस्पताललाई आफ्नो क्षमता अनुसार सञ्चालन गर्न पहल गरिरहेको बताएका छन् । ‘हाम्रो प्रयासमा अस्पताललाई संघ अन्तर्गत सञ्चालन गर्ने निर्णय सरकारले गरिसकेको छ’, उनले भने, ‘अस्पताललाई आवश्यक उपकरण र जनशक्तिका लागि बजेट र दरबन्दीबारे सरकारसँग भेटेर माग गरिरहेका छौं । अध्यक्ष कक्षपतिले खजुराबासीको योगदान र प्रयासले अस्पताल सञ्चालनमा आएको उल्लेख गर्दै भने, ‘अस्पताल पूर्ण क्षमता सञ्चालन गर्न संघीय सरकारलाई निरन्तर घच्घच्याउने छौं ।’ उनले हालै मात्र काठमाडौंमा सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग भेटी अस्पताललाई आवश्यक विषयहरु पूरा गरिदिन माग गरेको जानकारी दिए ।

 
प्रखर परोपकार मिसन नेपालले महायज्ञ सञ्चालन गरी सुरुवात गरेको अस्पताल निर्माणमा सरकारले २७ करोड बजेट उपलब्ध गराइसकेको छ । अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका कक्षपतिले क्यान्सर उपचार र यसमा प्रयोग हुने उपकरण महंगो हुने भएकाले बजेट व्यवस्थापन चुनौतिपूर्ण रहेको बताउँछन् । ‘निरन्तर बजेट माग गर्ने र थप कामहरु अगाडि बढाउने कामलाई निरन्तरता दिइनेछ’, गाउँपालिका अध्यक्ष कक्षपतिले भने, ‘अस्पताल अगाडि बढाउन गाउँपालिका तथा खजुराबासीबाट हुने पहलमा कहिल्यै कमी हुनेछैन ।’ अस्पतालले पूर्ण सेवा दिन सुरु गरेपछि मध्य तथा सुदुरपश्चिमका बिरामी चितवन, काठमाडौं र भारत धाउनु पर्ने छैन । ‘सीमावर्ती भारतीयहरुलाई पनि यसै अस्पतालबाट सेवा दिन सकिने छ’, अस्पताल प्रशासन भन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया