नेपालगन्ज मुलुककै सबैभन्दा प्रदुषित सहरका रुपमा पाइएको छ । प्राविधिक अध्ययनले नै नेपालगन्जलाई मुलुककै सर्वाधिक प्रदुषित सहरका रुपमा खुलासा गरेको हो । वातावरण विभाग देशभरका १३ वटा सहरहरुमा वायुको गुणस्तर अनुगमन गर्दा नेपाल कै सबैभन्दा बढी प्रदूषित बायु भएको सहरका रूपमा नेपालगन्ज देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको कार्यालय परिसर भित्रै बाताबरण बिभागले बायु २०७५ भदौमा बायु माप केन्द्र स्थापना गरेको हो । बायु मापन केन्द्रले आफ्नो बरीपरीको क्षेत्रमा रहेको बायुमा प्रदुषणको अबस्थालाई रियल टाइम डाटाका आधारमा रेकर्ड गरेर बाताबरण बिभागको सर्भरलाई उपलब्ध गराउँछ ।
माघ १८ गते साँझ गरिएको मापनअनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको प्रदूषण अनुगमन शाखाले जनाएको छ । वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ । नेपालगन्जको बायुको अबस्था नेपाल मै सबै भन्दा बढी प्रदुषित पाइएको बाताबरण बिभागका महानिर्देशक झलकराम अधिकारीले बताए । नेपालगन्जको बायुमा धुलोको मात्रा अत्याधिक धेरै पाइएको हो ।
प्रदूषणको हिसाबले दोस्रो उच्च प्रदूषण रहेको क्षेत्रका रूपमा सुनसरीको झुम्का क्षेत्र रहेको छ । जहाँ शुक्रबार पीएम २.५ को मात्रा १४६ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ । यस्तै, तेस्रो उच्च प्रदूषित सहरमा सिमरा रहेको छ । सिमरामा पीएम २.५ को मात्रा ९९ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहरी क्षेत्रमा सडक तथा ढल निर्माण भई रहेको छ । सडक तथा ढल निर्माणका क्रममा भत्काइएका धेरै सर्बसाधारणहरु घर तथा पर्खालहरु पनि निर्माण भइरहेको छ । सडक, ढल तथा घरहरु निर्माणका लागि बालुवा, माटो तथा ढुंगा गिटटीहरु सडकका किनाराहरुमा राखिएका कारण सबारी साधनहरु गुड्दा कालोपत्रे सडकमा पनि धुलो उड्ने समस्या धेरै छ । बायु प्रदुषणको प्रत्यक्ष असर सर्बसाधारणको जनस्बास्थ्यमा पर्ने गरेको छ ।
बायु प्रदुषणका कारण श्वास प्रश्वास, छाला र आँखासँग सम्बन्धित धेरै स्बास्थ्य समस्या देखिने र लामो समय सम्म बायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्ने मानिहरुमा क्यान्सर सम्म हुन सक्ने भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।
नेपालगन्जमा बायु प्रदुषणको मुख्य कारकको रुपमा सहरीको केन्द्र भागमा रहेको औद्योगिक क्षेत्रका उद्योगबाट निस्कने धुवा रहेको छ । त्यसका अतिरिक्त सहर भरी नै सडक, ढलका साथै सर्बसाधारणका घर तथा पर्खालहरु निर्माण भएका कारण धुलोको समस्या आएको नेपालगन्ज उप महानगरपालिका प्रमुख डा. धबल समशेर राणाले बताए ।
सडक, ढल तथा सर्बसाधारणका घर तथा पर्खालहरुको निर्माण कार्य सम्पन्न भए पछि धुलो नियन्त्ररण हुदै जाने मेयर राणाले बताए । संरचनाहरु निर्माणका क्रममा सडकका किनाराहरुमा रुखहरु काटिएका कारण पनि नेपालगन्जमा धुलो समस्या धेरै देखिएको हो ।
सहरी क्षेत्रलाई सफा र हरियाली बनाउनका लागि जमुनाहा देखि राझा चौक सम्म बृक्षारोपण गरिएको र आगामी बर्षहरुमा हरियाली बढाउने र प्रदुषण नियन्त्रण गर्ने तर्फ ध्यान दिइने प्रमुख राणाले बताए ।