बैंकले मनपरी गरेको भन्दै देशभरका उद्योगी, व्यवसायीहरु सडकमा उत्रिएका छन् । निजी वाणिज्य बैंकहरुले नाफामूखि हुँदै ऋणमा ब्याज बढाएको भन्दै उद्योगी, व्यवसायीहरु त्यस विरुद्ध सडकमा उत्रिएका हुन् ।
देशका विभिन्न भागमा स्थानीय उद्योग वाणिज्य संघको नेतृत्वमा सडकमा उत्रिएका उद्योगी, व्यवसायीहरुले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई बैंकको मनपरी रोक्न आव्हान गरेका छन् । त्यसक्रममा आज सोमबार नेपालगन्जका उद्योगी, व्यवसायीहरु विरोधक प्रदर्शनमा उत्रिएका हुन् । ‘बैंकले ऋणको ब्याज मनपरी ढंगले बढाउँदा उद्योग, व्यवसायी धराशयी हुने अवस्थामा पुगेको छ’, सडक उत्रनु रहर नभई बाध्यता भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे एउटा टुङ्गोमा नपुगुञ्जेल आन्दोलन रोकिंदैन ।’
बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गर्दा सम्झौता अनुसारको बैंक ब्याज नै अन्तिम हुनुपर्ने उनीहरुको माग छ । ‘निजी बैंकहरुको चर्को ब्याजका कारण व्यवसायमा लगानी थप्न र नयाँ लगानी गर्न सकिने अवस्था छैन’, अध्यक्ष वैश्यले आन्दोलन बाध्यात्मक भएको भन्दै भने, ‘बैंकहरुले लगानीका लागि व्यवसाय हेर्नु भन्दा मान्छे सम्बन्धका आधारमा १६ प्रतिशतसम्म ब्याज ठोकेका छन् ।’
उद्योग, व्यवसायीहरुले उद्योग, व्यवसायमा गरिएको ऋणको ब्याजदर आठ प्रतिशतमा झार्नुपर्ने माग अघि सारेका छन् । ‘ब्याज बढाएको थाहै नदिएर मनपरी असुल्दै आएका छन्’, बैंक प्रति उद्योगी, व्यवसायीहरु आक्रोशित रहेको संकेत गर्दै अध्यक्ष वैश्यले भने, ‘बैंकहरुले गरिरहेको शोषण र मनपरी रोक्न आन्दोलनको विकल्प भएन ।’ उनले लगानी गरेको एक बर्षसम्म ब्याज तलमाथि गर्न नपाउने कानुनी व्यवस्थामा आफ्नो जोड रहेको पनि बताए ।
‘राष्ट्र बैंकले के हेरेर बसेको छ ?’, हालैमात्र एउटा वाणिज्य बैंकको ६ महिनाको नाफा अर्बौमा भएको तथ्य औंल्याउँदै अध्यक्ष वैश्यले भने, ‘उद्योगी, व्यवसायीहरुको शोषण गरेर बैंकहरु मोटाउँदैमा देशको विकास हुँदैन ।’ मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न उद्योग, कलकारखानामा लगानी बढ्नुपर्ने तर्क गर्दै अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि अर्थमन्त्रालयले र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई लगाम लगाउनु पर्छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा सम्पूर्ण वस्तुगत संघहरुको सहभागितामा बंैकहरुको मनपरी विरुद्ध प्रदर्शन गरिएको हो ।