खजुरामा ६ करोड लागतमा अत्याधुनिक सभागृह बनाइँदै

पार्क निर्माण सुरु
बाँकेको खजुरा गाउँपालिकामा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण गरिने भएको छ । गाउँपालिकाको पहल र लागतमा सभागृह निर्माण सुनिश्चित भएको हो । त्यसका लागि टेण्डर प्रक्रिया सुरु गर्न लागिएको पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
खजुरामा सभागृहको खाँचो देखिएपछि त्यसलाई मूर्त रुप दिने कार्य सुरु गरिएको हो । ६ करोड लागतमा निर्माण हुने सभागृहका लागि गाउँपालिकाले १ करोड ४० लाख र प्रदेश सरकारले ६० लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘टेण्डर प्रक्रिया अन्तिममा छ’, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘दुई तल्ले बन्ने सभागृहको माथिल्लो तल्लामा भिआइपी हल र तल्लो तल्लामा लक्षित वर्गका कार्यक्रम सञ्चालन हुनेछन् ।’ सभागृहको भिआइपी हल ५ सय जना क्षमताको बनाउन लागिएको गाउँपालिकाले जानकारी दिएको छ ।
हाल होटल तथा टेन्ट गाडेर गर्नुपर्ने कार्यक्रमहरु सभा गृह निर्माणपछि त्यसैमा सञ्चालन गर्न सकिने खजुराका जनप्रतिनिधिले बताएका छन् । ‘पालिका स्तरमा नै सभागृह निर्माण हुनुले यसको पहिचानमा पनि सघाउ पुर्याउँछ’, जनप्रतिनिधि भन्छन् । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले ज्ञानोदय उच्च मावि रहेको क्षेत्रमा निर्माण हुने सभागृह यस क्षेत्रकै नमूना हुने बताएका छन् । ‘राष्ट्रिय सभागृहको मोडेलमा आधुनिक भवन बनाउन लागेका हौं’, उनले भने ।
सभा गृह दुई बर्षभित्र निर्माण सक्ने गरी काम अगाडि बढाउने लक्ष्य गाउँपालिकाले राखेको छ । ‘सभागृहका लागि आवश्यक बजेट आगामी आ.व.मा पनि थप्दै जानेछौं’, गाउँपालिका अध्यक्ष कक्षपतिले भने ।
गाउँपालिकाले खजुरामा आधुनिक पार्क निर्माण कार्य समेत अघि बढाएको छ । ‘एक बर्षभित्रै पार्क निर्माण सक्ने योजना छ’, गाउँपालिकाको आफ्नै लगानीमा बनाइन लागेको पार्कबारे जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने, ‘तिव्र गतिमा पार्कको काम पनि अगाडि बढेको छ ।’ खजुरामा निर्माण हुन लागेको पार्क खजुरा क्षेत्रको आकर्षणका रुपमा रहने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया