संघमा कंडेलको प्यानल (मत परिणाम सहित)

होटल व्यवसायी संघ बाँके नेपालगन्जको नेतृत्वमा भीम लाल कंडेल विजयी भएका छन् । दुई प्यानलमा चुनावी मैदानमा उत्रिएका व्यवसायीहरुले कंडेललाई ३५६ मतले विजयी बनाएका हुन् । निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले १७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
गौतमका अनुसार, विजयी हुनेमा राम बहादुर लिम्बु वरिष्ठ उपाध्यक्ष २७२ मत, टेक नारायण सापकोटा उपाध्यक्ष ३१८ मत, रंग बहादुर खड्का महासचिव ३३५ मत, प्रेम बहादुर शाह सचिव ३३४ मत, टिकाराम खनाल कोषाध्यक्ष ३४६ मत र राजकुमार विक सहकोषाध्यक्ष ३२४ मत छन् ।
सदस्यहरुमा एकराज पाण्डे ३०९ मत, लक्ष्मीराज शाही ३४५ मत, केशव योगी २९६ मत, दुर्गा बम ३०४ मत र निर्मला देवी सेजुवाल २५९ मत छन् । कंडेलको नेतृत्वमा मैदानमा उत्रिएका सबै उम्मेदवार विजयी भएका हुन् । उमा ग्राण्डनको नेतृत्वमा वरिष्ठ उपाध्यक्षका लागि प्रेम बहादुर खत्री, उपाध्यक्षका लागि गोपाल गिरी र महासचिवमा घनश्याम थापा क्षेत्रीले प्रतिस्पर्धा गरेका थिए ।
कुल ६ सय ६१ मत रहेको निर्वाचनमा ५ सय ७१ जनाले मतदान गरेका थिए । निकै भद्र र शान्त ढंगले भएको मतदानमा प्रतिस्पर्धीहरुले पनि स्वस्थ ढंगले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष भीम लाल कंडेलले व्यवसायिक सम्मान बढाउन आफु केन्द्रित हुने बताएका छन् । संस्थागत विकासमा वर्तमान कार्यसमितिले अघि सारेको अभिभारा पूरा गर्ने दायित्व आफ्नो काँधमा रहेको टिप्पणी गर्दै वर्तमान कार्यसमितिका महासचिव समेत रहेका नवनिर्वाचित अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘प्रतिस्पर्धामा रहेका सबै साथीहरुको मनोभावना र अभिमत लिएर अग्रजहरुको दिशा निर्देशमा आगामी बाटो निर्दिष्ट हुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया