संघीयताले बाँकेका होटललाई चुनौति , अब कसरी चलाउने ?

‘अघिल्लो बर्षमात्रै हाम्रो संस्थाले नेपालगन्जमा ५ करोड रुपैयाँ होटलका कार्यक्रमहरुमा खर्च गर्यो’, एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पश्चिम क्षेत्रीय प्रमुखले एउटा प्रसङ्गमा दैनिक नेपालगन्जसँग भनेका थिए, ‘अब त्यो रकम मुस्किलले २५÷३० लाख भित्र बार्षिक रुपले खर्च गर्न सकिएला ।’

 
कुनै बेला राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको हबका रुपमा रहेको नेपालगन्ज बिस्तारै गतिविधि शुन्य हुन थालेपछि भरीभराउ होटलहरु सुनसान हुन थालेका छन् ।

 
मुलुक संघीयतामा गएपछि होटल व्यवसाय क्षेत्रमा त्यसको नकारात्मक प्रभाव बाँकेको होटल व्यवसाय क्षेत्रमा परेको छ । संघीयता पछि जिल्ला स्थित कार्यालयहरु स्थानीय तहमा गएका छन् । क्षेत्रीय स्तरका सरकारी तथा गैर सरकारी संस्थाहरु सम्बन्धित प्रदेशका सम्भावित केन्द्रहरुमा सर्दैछन् । प्रदेश ५ मा रहेको बाँके जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयले जिल्ला छाडेका छन् । विभिन्न कामले नेपालगन्ज झर्ने पहाडी जिल्लाका जनता कर्णाली प्रदेशको राजधानीमा रोकिन थालेका छन् ।

 
‘संघीय व्यवस्था लागु भएपछि नेपालगन्जका होटलमा हुने विगतको चाप घटेको छ’, यसको असर साना तथा मध्यम लगानीका होटलमा बढी परेको बताउँछन् होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्ले, ‘मानसरोवर जाने सिजनमा बाँकेका होटल भरीभराउ हुने गरेपनि अन्य सयममा सेवाग्राही घट्दो छन् ।’
‘एक बर्षको अवधीमा साना तथा मध्यम लगानीको व्यवसाय नकारात्मक गतिमा छ, यही गतिमा रहने हो भने धान्न गाह्रो देखिन्छ,’ होटल व्यवसायी संघ बाँके नेपालगन्जका सहकोषाध्यक्ष घनश्याम थापा भन्छन्, ‘५० प्रतिशत व्यवसाय कम भैसकेको छ ।’

 
संघीय व्यवस्थाको उल्टो प्रभाव, संख्यात्मक रुपमा बढ्दै गरेका होटल, थपिंदै गएका ठूला लगानीका होटल र आन्तरिक प्रतिस्पर्धा व्यवसायीहको चुनौतिका रुपमा देखिन्छ । त्यसैले साना र मध्यम लगानीका होटल पनि आफ्नो लगानी बढाएर प्रतिस्पर्धा गर्ने प्रयासमा देखिन्छन् । बाह्य पर्यटक भित्र्याउने ठोस बहाना नरहेको नेपालगन्जमा विभिन्न पर्वका अवसरमा इभेन्ट आयोजना गरी घरमै रमाउने मानिसहरुलाई होटलसम्म तान्ने प्रयास गरिरहेका छन् । नयाँ बर्ष, दशै, तिहार, क्रिसमस, भ्यालेन्टाइन डे, विश्वकप फुटबल, क्रिकेट लगायतका अवरमा होटलहरुमा आयोजना हुने विशेष इभेन्टहरु घरमै बस्ने ग्राहकलाई होटलसम्म ल्याउने प्रयास हो । ‘आन्तरिक ग्राहकलाई होटल, रेष्टुरेन्टसम्म आकर्षित गर्नका लागि विभिन्न इभेन्ट आयोजना हुनु त्यसैको प्रयास हो’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका महासचिव भीम लाल कंडेल भन्छन् ।

 
सिद्धार्थ कटेजले सेवाग्राही आकर्षित गर्न बेलाबेला फुड फेष्टिबल आयोजना गर्दै आएको छ । त्यस्तै गनापुरको नमस्ते भिलेज रिसोर्टले प्रत्येक शुक्रबार सांगीतिक कार्यक्रम ‘फ्राइडे नाइट लाइभ’ आयोजना गरिरहेको छ । गजल, दोहोरीको प्रस्तुतिबाट पनि सेवाग्राही आकर्षित गर्ने प्रयास नेपालगन्जका होटलले गर्दै आएका छन् । स्टार होटल कल्पतरुले विभिन्न परिकारका विज्ञापन गरेर ग्राहकलाई स्वागत गरिरहेको पाइन्छ ।

 
रेष्टुरेन्टले सेवाग्राही आकर्षिक गर्ने योजना बनाइरहँदा गेष्ट हाउसहरुसँग सेवाग्राहीको बाटो हेरेर बस्ने बाहेकको विकल्प देखिंदैन । ‘नेपालगन्ज भित्रिने मानिस नै होटल बस्ने हुन्, नेपालगन्जमा बाहिरी जिल्लाका मानिस नआउने हो भने होटल रित्तै हुन्छन्’, न्यू होटल इन्द्रेणीका सञ्चालक समेत रहेका संघका सहकोषाध्यक्ष थापाले भने ।

 
रेष्टुरेन्टसम्म ग्राहकहरु जाने चलन भने विकास भैरहेको संघका पूर्व अध्यक्ष काफ्ले बताउँछन् । ‘विवाह, पार्टी, बर्थ डे तथा पारिवारिक जमघट पनि रेष्टुरेन्ट हुन थालेका छन्’, यसले रेष्टुरेन्टको व्यवसायलाई भने फाइदा पुर्याउँन थालेको बताउँदै उनी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया