बाँकेमा बेमौसमी झरीले लाखौं इष्टा क्षति

बाँकेको मनिकापुरमा रहेको न्यू मनकामना इट्टा उद्योगमा बर्षात्ले काम नलाग्ने भएका काँचो इट्टा ।

शुक्रबार परेको बेमौसमी झरीका इट्टा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । व्यवसायीले खुला आकाश मूनि राखेका करोडौं इट्टा झरीले काम नलाग्ने बनाएको नेपाल इट्टा उद्योग व्यवसायी संघ, बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिए । बाँकेमा ५० बढी इट्टा उद्योग सञ्चालनमा छन् । इट्टा उत्पादनको सुरुवात भएकाले सबै जसो इट्टा उद्योगले लाखौं काँचो इट्टा तयार गरिसकेका थिए ।

 
‘चाङ लगाएर राखिएका इट्टा बर्षाले काम नलाग्ने गरी बिगारेको छ’, अध्यक्ष खाँले भने, ‘इट्टा उत्पादनको सिजनमा हुने बेमौसमी बर्षाले हरेक बर्ष क्षति व्यहोर्न बाध्य छौं ।’ उनी काँचो इट्टाको विमा नहुने भएकाले पनि क्षतिबाट बच्न नसकिने गरेको बताउँछन् । खाँ ताज इट्टा उद्योगका सञ्चालन पनि हुन् । उनी भन्छन्, ‘मेरो उद्योगमा पनि ८ जति काँचो इट्टा काम नलाग्ने भएको छ ।’ मजदुरले बनाएका इट्टा सुकाएपछि मात्रै आगोमा पोल्ने गरिन्छ । खुला आकाश मूनि रहने काँचो इट्टालाई ठूलो पानीले काम नै नलाग्ने बनाउने गरेको व्यवसायीहरु बताउँछन् । इट्टा व्यवसायीहरु यस्ता नोक्सानबाट जोगिनका लागि संघले बीमाका लागि पहल गर्नुपर्ने बताउँछन् । यद्यपि, संघले त्यसबारे ठोस पहल भने हालसम्म गरेको पाइँदैन ।

 
शुक्रबार झरीले मनिकापुर स्थित न्यू मनकामना इट्टा उद्योगको २५ लाख जति इट्टामा क्षति पुर्याएको छ । ‘१० लाख जति पूर्ण रुपमा काम नलाग्ने भएको हुनसक्ने अनुमान छ’, संघका कार्यालय सचिव सुर्य पौडेलले भने, ‘शुक्रबार बर्षा नरोकिए एउटा पनि काँचो इट्टा काम लाग्ने अवस्थामा रहँदैनन् ।’ उनले बाँकेका विभिन्न इट्टा उद्योगले क्षतिको जानकारी दिइरहेको बताए ।

 
इट्टा व्यवसायीहरु शुक्रबार दिनभर बर्षाले ढलाउँदै गरेको काँचो इट्टाको चाङ हेरेर बसेको बताउँछन् । ‘हेरेर नोक्सान आँकलन गर्नु बाहेक बच्ने विधि देखिंदैन’, उनीहरु भन्छन्, ‘नोक्सान कम गर्न संघले बीमा गर्ने व्यवस्थाका पहल गर्नुपर्छ ।’ एउटा इट्टाको मजदुर एकदेखि डेढ रुपैयाँ सम्म पर्न जान्छ । ‘इट्टा बर्षाले काम नलाग्ने भएपनि मजदुरी दिनै पर्छ घाटा व्यवसायीले व्यहोर्ने हो’, व्यवसायीहरु भन्छन् । संघका कार्यालय सचिव पौडेलले बेमौसमी झरीले बाँकेमा मात्रै करोडको हाराहारीमा इट्टामा नोक्सान गरेको अनुमान रहेको बताउँछन् । ‘केही दिनमा क्षतिको एकिन तथ्यांक आउँछ’, उनले भने ।
गहुँलाई फाइदा, गहुँका छैन मल

बाँकेमा ठूलो क्षेत्रफल जग्गामा गहुँको खेती हुने गरेको छ । शुक्रबार पानीले गहुँलाई फाइदा पुर्याएको किसानहरुले बताएका छन् । तर, बजारमा मल उपलब्ध नहुँदा अपेक्षा अनुसार उत्पादन हुनेमा भने उनीहरुको आशंका छ । ‘शुक्रबारको पानी गहुँका लागि राम्रो हो’, गुरुवागाउँका किसान गंगाप्रसाद काँदुले भने, ‘पानीले गहुँलाई फाइदा पुर्याएपनि त्यसमा हाल्न यूरिया मल छैन ।’ यद्यपि, निरन्तर बर्षा भैरहने हो भने त्यसले फाइदा भन्दा नोक्सान बढी पुर्याउने उनको भनाइ छ ।

 
बेमौसमी पानीले अन्य बाली भने नोक्सान पुर्याउन सक्ने बताउँछन् विजय पासवान । ‘अत्याधिक बर्षा मसुरो, अरहर र तोरीका लागि ठिक होइन, उनले भने, ‘सामान्य बर्षाले राम्रो गरेपनि निरन्तर बर्षा भएमा हामीले चाहे अनुसार उत्पादन हुन सक्दैन ।’ बाँके ढोढेगाउँका अर्जुन कलवार बर्षाले फुल लागेको अरहरमा भने क्षति पुर्याएको बताउँछन् । ‘झरीले कुनै बालीलाई फाइदा त कसैलाई क्षति पुर्याउँछ’, उनी भन्छन् ।

 
बाँकेका किसान गहुँको सिजनमा जिल्लामा मल नपाइएको गुनासो गर्दै आएका छन् । ‘धान उत्पादनका बेला धानका लागि र गहुँ उत्पादनका लागि गहुँका लागि प्रयोग हुने मल पाइँदैन’, पासवान भन्छन्, ‘कृषिलाई प्राथमिकता दिने सरकारको भनाइ व्यवहारमा देखिंदैन ।’ किसान गंगाराम काँदु कृषि उत्पादनका लागि मल अत्यावश्यक भएपनि त्यसमा कसैले चासो नदिने गरेको बताउँछन् । ‘सहकारी जाँदा मल छैन भन्ने जवाफ आउँछ, पाएपनि माग गरे जति दिइँदैन’, उनी भन्छन्, ‘कम्तिमा स्थानीय तहले कृषिलाई प्रवद्र्धन गर्न मलको व्यवस्था गर्नुपर्छ ।’ कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई सहकारीमार्फत उपलब्ध गराउँदै आएको मल जिल्लामा एक महीनादेखि अभाव रहेको हो ।

 
मलको समस्या बाँकेमा मात्र नभई पश्चिम नेपालमा नै रहेको सम्बद्धहरु बताउँछन् । हिउँदे खेती गहुँमा मल हाल्ने मौसममा मल नपाउँदा किसान उत्पादन घट्ने चिन्तामा छन् । किसानका लागि आवश्यकताअनुसारको मल उपलब्ध गराउन आफूहरु लागे पनि नेपालमा भारतको कोलकाताबाट मल नआएकाले समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी बताउँछन् । बाँकेमा १९ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया