अरुको लहैलहैमा परिवारलाई जानकारी नै नदिई बालकहरु भारत पस्ने गरेको घटना नौलो रहेन । परिवारको विभिन्न खाले दबाब, साथीभाईको लहलहै, अरुका वहकाव र पैसा कमाउने लोभमा भारत छिर्ने र बर्षौ वेपत्ता हुने बालबालिका युवा अवस्थामा पुगेपछि फर्किने गरेको धेरै उदाहरण फेला पार्न सकिन्छ ।
बाँकेमा पनि बिहीबार यस्तै घटना सार्वजनिक भएको छ । तीन जना युवा पाँच बर्षपछि सम्पर्कमा आएका छन् । ‘बालक अवस्थामा नै गाउँ छोडेर परिवारको सम्पर्क विहीन भएका रहेछन्’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दिपक मल्लले भने, ‘पाँच बर्षपछि बिहीबार परिवारसँग बालबालिकाको भेट भएको छ ।’ पाँच बर्ष अत्तोपत्तो नरहेको सन्तान बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका आफन्त भावविव्हल देखिन्थ्ये ।
बाँके खजुरा–६ सिमलघारीका १९ बर्षका सुमन पुन, १८ बर्षका जयराम पुन र १७ बर्षका विकास परियार र मंगल बम २०७० सालमा घर छाडेर हिडेका थिए । उनीहरुले घर छाडेपछि परिवारले खोजी गरेपनि फेला पार्न सकेका थिएनन्, युवाहरु पनि परिवारको सम्पर्कमा आएनन् । पाँच बर्षपछि मंगल बम एकाएक परिवारको सम्पर्कमा पुगेपछि अन्य युवाको पत्तो लागेको थियो ।
बेपत्ता युवाहरुको परिवारले मंगल घर फर्किएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्ना सन्तान फर्काउन पहल गरिदिन आग्रह गरेका थिए । ‘परिवारको आग्रह पछि हामीले युवाहरु फर्काउन पहल गर्यौं’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मल्लले भने, ‘भारतबाट फर्काएर बिहीबार परिवारको जिम्मा लगाएका हौं ।’ मल्लले युवाहरुको पारिवारिक मिलन गराउन सकेकोमा सन्तुष्ट हुँदै भने, ‘हाम्रो प्रयास सफल भयो ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक पौडेलले घर छाडेका युवाहरुलाई परिवारको जिम्मा लगाइएको बताए । ‘लहैलहैमा उनीहरु आफुखुशी भारत प्रवेश गरेको पाइयो’, उनले भने, ‘युवाहरु भारत हिमाञ्चल प्रदेशको एउटा होटलमा काम गरेर बसेका रहेछन् ।’