प्रदेश राजधानीका लागि पहल !

प्रदेश ५ को स्थायी राजधानीको टुङ्गो लागिसकेको छैन । त्यसका लागि प्रदेश सरकारले समिति बनाएको छ, समितिलाई स्थायी राजधानी र नामाकरणको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । बाँके आउने संघीय, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्री, जिल्ला तथा केन्द्रीय स्तरका नेताहरुको विचार स्पष्ट देखिन्छ, बाँके प्रदेशको राजधानी बन्ने सम्भावना छैन, विकल्पमा आर्थिक राजधानी बनाउन सकिन्छ । तर, आर्थिक राजधानीकै रुपमा बाँकेलाई अगाडि पूर्वाधार विकासमा भने देखिंदैन ।

 
प्रदेश राजधानीमा बढी चर्चा बुटवल र दाङ्गको छ । अस्थायी राजधानी बुटवल भएकाले बुटवल नै स्थायी राजधानी बन्ने सक्ने सम्भावना बलियो देखिन्छ । त्यसैले पनि बाँकेमा भएका एनजीओका केही कार्यालयले जिल्ला छाडिसकेका छन् । सोमबार मात्रै बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक बनाउन प्रदेशसभामा प्रस्ताव लैजान प्रदेश मन्त्रीपरिषद् स्वीकृति दिइसकेको छ ।

 
बुटवल प्रदेश राजधानी भएमा बाँके र बर्दियाका लागि पायक नपर्ने भन्दै बाँकेमा त्यसको विरोध भने सुरु भएको छ । बाँकेको जोड बाँके नै प्रदेश राजधानी हुनुपर्छ भन्ने भन्दा पनि बुटवल अपायक पर्नेमा देखिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा बाँके र बर्दियाका लागि वुटवल प्रदेश राजधानी भएमा अपायक हुने बताइसकेका छन् । बाँकेमा हुने औपचारिक कार्यक्रमहरुमा आफ्ना धारणा राख्दा बाँके अपायक पर्ने स्थानमा राजधानी तोकिए त्यसको विकल्पका लागि अग्रसर हुने चेतावनी दिंदै आएका छन् ।

 
नगर प्रमुख डा. राणाले आपसमै राजनीति गर्न नछाड्दा नेपालगन्ज पछाडि पर्दै गएको प्रति चिन्ता समेत व्यक्त गरेका छन् । सोमबार नेपालगन्जमा भएको नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभाका उपस्थित प्रदेश सभा सदस्यहरुलाई समेत नगर प्रमुख डा. राणाले सक्रिय भएर राजधानीको माग गर्न आग्रह गरेका थिए । नगर प्रमुख राणाले कार्यक्रममा स्पष्ट रुपमा बाँकेको माग नसुनिएर प्रदेश ५ मै बसिरहनु पर्छ भन्ने नरहेको चेतावनी समेत दिएका थिए । ‘हाम्रा लागि बुटवल एकदमै अप्ठ्यारो छ’, नगर प्रमुख डा. राणाले भने, ‘यो प्रदेशमा मुस्लिम, मधेसी र थारुहरुले पनि कोटामा केही पाउने छैनन् ।’ त्यो थारु, मधेसी र मुस्लिमले पनि बुझिसकेको डा. राणाले बताए ।
बाँके, बर्दियाको बुटवल सँग कुनै लिङ्क र सम्बन्ध नरहेकाले बुटवललाई प्रदेश राजधानी मान्न नसकिने धारणा नगर प्रमुख डा. राणाको थियो । ‘हाम्रो ऐतिहासिक सम्बन्ध भनेको कर्णाली, सुदूरपश्चिम र मध्यपश्चिमसँग छ’, डा. राणाले उक्त यथार्थलाई कसले नकार्न नसक्ने बताउँदै बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुलाई भने, ‘सक्नुहुन्छ प्रदेशको राजधानी ल्याउनुहोस् नसके विकल्प खोज्नुस्, हामी तपाईहरुको साथमा छौं ।’ नगर प्रमुख डा. राणाले सञ्चारकर्मीलाई पनि प्रदेश राजधानीको मुद्दामा साथ दिन आग्रह गर्दै भने, ‘मलाई कुनै व्यक्तिगत स्वार्थ छैन, यो नगरीलाई बनाएर जानु छ ।’

 
निजी क्षेत्रको धारणा पनि प्रदेश राजधानी बाँकेलाई अपायक हुने ठाउँमा हुनु हुँदैन भन्ने रहेको छ । पुसको पहिलो साता नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको आर्थिक बहसमा राजनीतिक पहुँच, पहल र सम्भावनाको आधारमा दाङ र बुटवलको सम्भावना प्रदेश राजधानी बन्ने देखिएपछि आर्थिक महानगरको रुपमा ‘लबिङ्ग’ सुरु गर्नुपर्नेमा जोड दिइएको थियो ।

 
सरकारले अस्थायी राजधानी बुटवललाई तोकिसकेको भएपनि दाङ पनि राजधानी बन्नका लागि जोडतोडले पहल गरिरहेको अवस्थामा बाँकेले भने प्रदेश राजधानीका लागि भनेर अहिलेसम्म सशक्त आन्दोलन गरेको छैन । यसको अर्थ बाँकेले प्रदेश राजधानीको माग औपचारिक रुपमा छाडिसकेको स्थानीयबासी मान्छन् । तर, पछिल्ला दिनमा नगर प्रमुख डा. राणाको प्रदेश राजधानी नभएमा विकल्प खोज्नु पर्ने तर्कले भने झिनो आशा भने पलाउन सक्ने देखिन्छ । बाँकेबासी प्रदेशमा आफ्नो अस्तित्व बचाइराख्न कहिले आर्थिक राजधानीको माग गर्दैछन् त कहिले कर्णाली प्रदेशसँग जोडिनु पर्ने धारणा राख्दै आएका छन् । संघले आयोजना गरेको आर्थिक बहसमा पनि बाँकेलाई आर्थिक महानगर बनाउन पूर्वाधार विकासमा जोड दिइएको थियो ।


‘बाँके अब प्रदेश राजधानी बन्ने सम्भावना देखिंदैन, अब हाम्रो मुद्दा भनेको बाँकेलाई आर्थिक राजधानीका रुपमा विकास गरिनुपर्छ भन्ने हो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक बहसमा भनेका थिए, ‘बाँके राज्यबाट हेपिएको छ, अब त्यसको पुनरावृत्ति हुन नदिन हामीले आफ्ना सवालहरुलाई जोडतोडले उठाउनु पर्छ ।’ उक्त बहसमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक अशोक बस्नेतले नेपालगन्जले आफ्नो भविष्य सुनिश्चित गर्न सर्वदलीय, सर्वपक्षीय छलफल आयोजना गरी साझा धारणा बनाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया