सरकारले ठूला भारतीय दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएपनि सीमावर्ती जिल्लाहरुमा त्यसको कार्यान्वयन हुन सकेको छैन । बैंकिङ्ग कारोबार नभएपनि व्यवहारिक रुपमा प्रतिबन्धित भारतीय रु. २ सय, ५ सय, १ हजार र २ हजार दरका नोट प्रचलनमा नै रहेको छ ।
भारतले ५ सय र एक हजार दरका पुरानो नोट प्रतिबन्ध लगाउँदा नेपालको बैंकिङ्ग च्यानमै रहेको आठ करोड रुपैयाँ भारतले नसाटिदिएपछि सरकारले पुनः त्यो अवस्था नओस् भन्ने तर्फ सजग हुँदै भारतीय ठूला नोटमा प्रतिबन्ध लगाएको थियो । भारतबाट रोजगारी गरेर फर्कने, नेपालमा किनमेल गर्न आउने भारतीय र भारतीय पर्यटकहरुले आउँदा लिएर आउने ठूला नोटहरुको बाँकेमा कारोबार गरिरहेको पाइन्छ । ‘बैंकिङ्ग कारोबार मात्र सम्भव हुँदैन त्यसैले पर्यटकहरुले ल्याएको ठूला नोट चलाइरहेका छौं’, नेपालगन्जका एक होटल व्यवसायीले भने, ‘ठूला नोट स्टक भने गर्दैनौं तत्कालै भारत सटहीका लागि पठाउने गरेका छौं ।’
सरकारको प्रतिबन्ध पछि केही दिन भारतीय ठूला दरका नोटमा कारोबार गर्ने कि नगर्ने भन्ने द्विविधामा रहेका व्यवसायीहरु खरिददारी भारतबाटै हुने भएकाले निर्धक्क रुपमा ठूला नोटमा कारोबार गरिरहेका छन् । सरकारले घोषणा गरेपनि प्रभावकारी कार्यान्वयनका लागि निकाय नतोकेपछि स्थानीय स्तरमा कारोबार भैरहेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सीमावर्ती जिल्लाहरुमा निर्वाध चलिरहेको ठूला दरका भारतीय नोटको प्रतिबन्धले व्यवसायमा असर पर्ने भएपछि सरकारसँग सुचार गर्न आग्रह गरेको बताएका छन् । ‘हामी नेपालगन्ज–दिल्ली उडानका कुरा गरिरहेका छौं, भारतीय पर्यटन भित्र्याउने कुरा गरिरहेका छौं, भारत निकासी गर्ने उद्योग प्रवद्र्धनका कुरा गरिरहेका छौैं’, अध्यक्ष वैश्यले भने, ‘नोट नै चल्न नदिने हो भने यसले सकारात्मक प्रभाव कसरी पार्न सक्छ ।’ ‘खर्च गर्न सक्ने भारतीय नेपाल आउँदा साना नोटको बोरा नै लिएर आउनु पर्ने हुन्छ ? के यो सम्भव छ’, अध्यक्ष वैश्यले भने, ‘सरकारले सीमा निर्धारण गरेर भएपनि नोटमा लगाइएको प्रतिबन्ध हटाउनु पर्छ ।’
बाँके भारत सँग जोडिएको जिल्ला हो । यहाँ सबै दरका भारतीय नोटहरु पहिले देखि नै चल्दै आएको छ । सीमावर्ती क्षेत्रका नागरिक सरकारले प्रतिबन्धको घोषणा गरेर नागरिकलाई सचेत बनाउन खोजेको बताउँछन् । ‘कुनै पनि बेला भारत सरकारले प्रचलनमा रहेको नोट नचल्ने घोषणा गरिदिने हो भने नेपाली बजारमा रहेका भारतीय नोट कागज मात्रै हुन सक्छ’, धुव्र शर्मा भन्छन्, ‘प्रतिबन्धको घोषणा गरिसकेकाले सरकारले पनि ती नोटहरु साट्नका लागि दायित्व वहन गर्दैन, त्यसैले ठूला दरका भारतीय दरका नोट प्रयोग नगरी बैकिङ्ग प्रणालीको प्रयोग गर्नु नै उचित हुन्छ ।’
नेपालगन्ज नाकाबाट नेपालीहरु भारतका विभिन्न ठाउँ जाँदा रुपैडिहामा भारतीय नोट सटही गर्दछन् । नेपालको राष्ट्र बैंकले तोकेको मापदण्ड भन्दा २ देखि ५ प्रतिशतसम्म बढी मूल्य तिरेर भारतीय नोट नेपालीहरुले लिने गरेकोमा ठूलो नोटको प्रतिबन्ध पछि भने यो दर घटेको छ । ‘नेपालीहरुले ठूला भारतीय दरका नोट स्टक राख्न छाडेपछि रुपैडिहामा सटहीको दर पनि पहिले भन्दा घटेको पाइन्छ’, केशव चन्द भन्छन् ।
नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोटमा कारोबार भएको पाइए कानुनी कारवाही हुने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले कानुन पालना नगर्ने हो भने सजाय भोग्नुपर्ने सञ्चारमाध्यमलाई बताएका छन् ।
‘योग्य नभन्दासम्म चल्दैन’
नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारले ठूला दरका भारतीय नोट नेपालमा चल्न योग्य रहेको आधिकारिक रुपमा नभनेसम्म नेपालीहरुलाई ठूला दरका नोटमा कारोबार नगर्न आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको गत शनिबार नेपालगन्जमा भएको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले प्रतिबन्ध लगाइसकेकाले भारतीय ठूला दरका नोट प्रचलन नगर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यापारीले ठूला नोट प्रतिबन्धले नेपालको व्यापार तथा पर्यटन क्षेत्रमा प्रतिकुल असर पर्ने बताएपछि अर्थमन्त्री डा. खतिवडाले विगतमा राष्ट्र बैंकमा रहेको भारु पाँच सय र हजार दरका नोट अझै भारतले नसाटिदिएकाले अनुमति विना ती नोट प्रयोग नगर्ने निर्णय गरिएको बताएका थिए । ‘भोलिका दिनमा भारत सरकारले ठूलो नोट प्रयोगका लागि अनुमति दिन्छ भने नेपालमा सुचारु गर्न समस्या हुँदैन’, अर्थमन्त्री डा. खतिवडाले भने ।
कुनै पनि अवस्थामा भारतीय नोटहरु साटिन्छन् भन्ने औपचारिक रुपमा स्वीकृति लिने अवस्था नहुँदासम्म नोट प्रतिबन्ध फिर्ता हुन नसक्ने बताउँदै अर्थमन्त्री खतिवडाले नागरिकको धनको सुरक्षाका लागि उक्त व्यवस्था गरिएको बताए । ‘ठूला भारतीय नोट चलनका लागि भारतीय सरकारसँग अनुमति दिन पत्राचार पनि गरिरहेका छौं’, अर्थमन्त्री डा. खतिवडाले भने ।