भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग बाँकेका नेकपा कार्यकर्ताहरुको अन्तरक्रिया
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरको मध्य भागमा रहेको पूर्व कमैया बस्तीलाई सहरीकरणको प्रस्ताव गरिएको छ । नेकपाका जिल्ला स्थित अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा शनिबार पार्टी केन्द्रीय नेतृ समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग स्थानीयबासी तथा पूर्व कमैया अगुवाहरुले बस्तीलाई सहरीकरण प्रस्ताव गरेका हुन् ।
लामो समयदेखि पूर्व कमैया बस्तीका कारण सहर कुरुप भएको भन्दै टिप्पणी समेत गरिंदै आएको थियो । खासगरी सहरको मुख्य चौराहमा रहेका सयौं मुक्त कमैयाका घरहरु सहरको सौन्दर्यका लागि बाधकका रुपमा ठानिएपछि बजार र मुक्त कमैया बस्ती रहेको लोकनगर बीच द्वन्द्वको अवस्था पनि थियो । कतिपयले बस्ती सार्ने अमूक षडयन्त्र पनि गरिरहेका छन् ।
‘कोहलपुर लोकनगरमा बसेका मुक्त कमैयाका घरहरुलाई तीन तल्लासम्मको बनाएर दुई वटा फ्ल्याट भाडामा दिने र माथिल्लो तल्ला मुक्त कमैयालाई आवासका रुपमा रहने व्यवस्था मिलाउन प्रस्ताव गरेका छौं’, नेकपाका बैजनाथ गाउँपालिका अध्यक्ष चन्द्र बहादुर चौधरीले मन्त्री अर्यालसँगको छलफलबारे जानकारी दिंदै भने, ‘यो एउटा भरपर्दो उपाय हुनसक्छ ।’ उनका अनुसार, सरकारले गरेको खर्च असुलीका लागि स्थानीय सरकारलाई निश्चित समयसम्म कर लगाउने वा भाडा असुली गर्ने गरी सम्झौता गर्न सकिनेछ । ‘यसले सहरको स्वरुप पनि फेरिन्छ, मुक्त कमैयाका लागि पक्की र स्थायी घर पनि निर्माण हुन्छ’, थारु अधिकारका अभियन्ता समेत रहेका चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले यसलाई प्याकेजका रुपमा योजना बनाएर जानुपर्छ ।’
मन्त्री अर्यालले नेकपाको घोषणा पत्र अनुसार, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता अगुवा नेता, कार्यकर्ताहरु बीच व्यक्त गरिन् । २०२८ सालदेखि बसोबास, पुनर्बास, वन सुदृढिकरण, सुकुम्बासी आयोग र मुक्त कमैया समस्या समाधानका लागि गरिएका प्रयासहरुलाई अघि सार्दै मन्त्री अर्यालले आफुले छिटो भन्दा छिटो यी समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेकपा नेता देवराज भार, अशोक रोकाय, अशोक कोइराला, कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको अन्तरक्रियात्मक भेटघाटमा सरकारले सरकारले गरेका प्रयास र अगुवा कार्यकर्ताहरुको भूमिकाबारे चर्चा गरिएको थियो ।
अन्तरक्रियामा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरुले सरकारका काम, कारवाहीलाई लिएर गुनासा गर्दै जनजीविकाका सवालमा केन्द्रित हुन सुझाव पनि दिएका थिए । सरकारका गतिविधिका बारेमा कार्यकर्ताहरुले सोधेका प्रश्नको मन्त्री अर्यालले जवाफ पनि दिएकी थिइन् । पार्टीका गतिविधिबारेमा पनि त्यसक्रममा छलफल गरिएको सहभागीले जानकारी दिएका न् ।