महानगरगाथा

निराशावादी हरेक अवसरमा समस्या मात्र देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ । यसअर्थमा नेपालगन्जका रमेश न्यौपाने र उनको टिमले पाइला पाइलामा देखिएका समस्यामा अवसर मात्र देख्यो । यो टिम निराशामा अल्झिन्थ्यो भने बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ गर्भमै तुहिन सक्थ्यो ।
हरेक तह र तप्कालाई आगामी मध्य जनवरीदेखि प्रसारणमा आएपछि ‘वाह’ लाग्नेछ कार्यक्रम ‘को बन्छ करोडपति’ । किनकी बलिउड सुपरस्टार अमिताभ बच्चनसँग प्रत्यक्ष साक्षात्कार गरेर हुर्किएको पुस्ता नेपाली भर्सनको प्रतिक्षामा थियो, छ । अभिताभमार्फत भारतीय टेलिभिजन ‘सोनी’मा ‘कौन बनेगा करोडपति’ प्रसारण भइरहँदा आम नेपाली दर्शक समेत लामो समयदेखि झुम्मिने गरेका छन् । किनकी अन्य लोकप्रिय कार्यक्रमभन्दा यसको प्रस्तुतीकरण पृथक छ, साँच्चिकै भन्ने हो भने गज्जबको छ । एकहिसाबले मजेदार छ । बौद्धिक खुराक पस्कन्छ, भरपुर मनोरञ्जन पनि प्रदान गर्दछ । यो बौद्धिक कार्यक्रम नै हो । पढेर, अध्ययन गरेर आफुलाई परिपक्व बनाउँदै अगाडि बढ्ने क्रममा नगद पुरस्कार जितेर नाम र दाम कमाउने ठुलो प्लेटफर्म बनिसकेको छ इन्डियामा । नेपालमा पनि यस्तै कार्यक्रमको आवश्यकता थियो । त्यसैले रमेश र उनको टिमले ‘को बछ करोडपति’ भित्राएको हो ।

 

 

निजामति सेवा तथा अन्य रोजगारीको अवसर खोजिरहेका युवादेखि घरमै बसेर अध्ययनकर्मलाई अगाडि बढाइरहेका हरेकका लागि यो सुवर्ण अवसरका रुपमा आउँदैछ । हरेक अभिभावकको सपना आफ्नो सन्तान बौद्धिक होस भन्ने नै हुन्छ । आफ्नो सन्तती क्षमतावान होस्, प्रतिभावान होस, ज्ञानको भण्डार बनोस भन्ने चाहना राख्ने अभिभावकका लागि यो कार्यक्रम साँच्चिकै लाभदायक बन्नेछ । अध्ययन र अनुसन्धानले मानिसलाई परिपक्व बनाउँछ, शिक्षाले नै मानिसलाई शक्ति प्रदान गर्दछ । रमेशको टिम अर्थात एसआरबीएन कम्पनी यसमा प्रतिवद्ध छ । यस टिममा विपिन कुमार आचार्य प्रमुखका कार्यकारी अधिकृत (सिइओ)का रुपमा कार्यरत छन् । रमेश सिओओ हुन् । सुरक्षा अधिकारी क्रियटिभ हेडका रुपमा कार्यरत छिन् । अर्की सदस्य रीता सापकोटा कम्युनिकेसन हेड छिन् । यी सबै बिभिन्न स्थापित संस्थामा कार्यरत छन् । र, एसआरबीएनमार्फत ‘को बन्छ करोडपति’ प्रसारण गर्न पनि तल्लीन छन् ।
यो इन्टरन्यासनल फ्रेन्चाइजी कार्यक्रमको नेपाली अवतार लन्च गर्न सोचेजस्तो सजिलो पक्कै थिएन, छैन । नेपाल आइडल, बुगीवुगी, द भ्वाइस नेपाल जस्ता कार्यक्रम पनि उदाहरण हुन् । यी कार्यक्रमले नेपालमा टेलिभिजन दर्शकक्रेज निकै बढाएका छन् । एकहिसाबले घट्दो टेलिभिजन आकर्षणलाई ह्वात्तै बढाइदिएका छन् । यी जस्तै कार्यक्रमका रुपमा आएको हो ‘को बन्छ करोडपति’ । ‘हु विल बि द मिलेनियर’ एक बिश्वव्यापी बहुप्रतिष्ठित कार्यक्रम हो, यसकै नेपाली स्वरुप हो ‘को बन्छ करोडपति’ । नेपाल एक सय ६३औं देश हो, जहाँ यो कार्यक्रम प्रसारण हुँदैछ । बिश्वव्यापी नेटवर्कका कारण पनि यसको यसको गरिमा तौल्न र उचाइ नाप्न कठिन छ । धेरैले भन्छन्, ‘समग्र नेपाल र नेपालीका लागि यो सौभाग्य हो ।’


आगामी जनवरीदेखि एपीवान टेलिभिजनमा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालमार्फत आम दर्शकमाझ आउने यो कार्यक्रमबाट प्रत्यक्ष रुपमा स्वयं दर्शक लाभान्वित हुनेछन् । सामान्य दर्शकलाई कार्यक्रमको आनन्द लिंदै करोड रुपैयाँ सम्म नगद पुरस्कार जित्ने सम्भावनाका ढोका खुल्लै छ । हरेक साता घरमै बसेर एक लाख जित्ने अवसर पनि अगाडि छ । छनोट चरण पुरा गरेर स्टुडियोमा निम्त्याइने दर्शकलाई करोड रुपैयाँसम्म जित्ने सुवर्ण अवसरले पर्खिरहेको छ । तसर्थ यो बिलकुल फरक धारको कार्यक्रम हो भन्ने रमेशको दाबी हो, सायद अरुको पनि । यस्तो फरक कार्यक्रमको परिकल्पना कसरी गरियो ? दरबारमार्गस्थित क्याफेमा एक दिन मैले रमेशलाई सोधेको थिएँ । ‘हरेक टेलिभिजन कार्यक्रमबाट कि त टेलिभिजन परिवार कि कार्यक्रम निर्माता मात्र मोटाउँछन् । हामीले सोच्यौं, टेलिभिजनमा सबैभन्दा बढ्ता समय बिताउने भनेको दर्शक हो,।’ उनले सुनाए, ‘दर्शक लाभान्वित हुने कुनै कार्यक्रम गर्न सकिन्छ कि भन्ने चिन्तन गर्न लाग्यौं, दर्शकका लागि केही गर्नुपर्छ भन्ने सोंचबाट जन्मियो ‘को बन्छ करोडपति’ ।’
छिमेकी राष्ट्र भारतमा ‘कौन बनेगा करोडपति’मा बलिउड सुपरस्टार अमिताभ बच्चनलाई फिट देखेका रमेशको टिमले नेपाली भर्सनका लागि महानायक राजेश हमाललाई उपयुक्र्त मान्यो । ‘राजेश दाइको बौद्धिकता र लोभलाग्दो क्रेजलाई यो कार्यक्रम सुहाउँछ भन्ने लाग्यो, प्रस्ताव गर्यौं ।’ उनले भने–‘चरण चरणका बैठकबाट हामी टुङ्घोमा पुगेका हौं । बलिउड सुपरस्टार अमिताभ बच्चनले कौन बनेगा करोडपति चलाए झैं कलिउड सुपरस्टार राजेश हमालले को बन्छ करोडपति चलाउँदा पक्कै यसले माइलेज पाउनेछ भन्नेमा हामी ढुक्क छौं ।’
इन्टरन्यासनल फ्रेन्चाइजी कार्यक्रमको सञ्चालन अनुमति पाउन पनि त्यति सहज छैन, सञ्चालनमा ल्याउन त झन् कति कति कठिन । करोडौं लागतको परियोजना हो यो । किनकी यसको लाइसेन्स हात पार्न, अन्तर्राष्ट्रिय मापदण्डको स्टुडियो खडा गर्नदेखि लिएर निर्माण, प्रचारप्रसार लगायतमा करोडौंको खर्च छ । विदेशीको प्रत्यक्ष निगरानीमा यो कार्यक्रम तयार पार्नुपर्ने हुन्छ । हरेक एपिसोड पहिले छायाँकन हुन्छ । तर लण्डनस्थित हेडअफिसबाट स्वीकृति पाएपछि मात्र यहाँ प्रसारण हुन्छ । सबै मापदण्ड एउटै हुनेगर्छ बिश्वभरि । त्यसैले पनि यसको माग र क्रेज बिश्वव्यापी उस्तै छ ।
पुख्र्यौली घर डोल्पा भएका रमेश र उनको टिमलाई यो कार्यक्रमलाई प्रसारणको अवस्थामा ल्याइपुराउन पनि कम्ता कठिनाई भएन भनेर महसुस मात्र गर्न सकिन्छ । अज्ञातले भनेझैं समुहको अर्थ नै सफलता हो, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सकिन्छ । अज्ञातको यो भनाइमा यो टिम कटिवद्ध थियो सायद । उनीहरुले यो पनि बुझेका थिए कि साथ जोड्नु सुरुवात हो, साथ रहनु प्रगति र साथ काम गर्नु सफलता हो । हेनरी फोर्डले त्यत्तिकै यसो भनेका थिएनन् । यो उदाहरणका रुपमा स्थापित नै छ । तसर्थ रमेश तथा उनका साथीहरु विपिन, रीता र सुरक्षाले पनि समुहको अर्थ नै सफलता हो भन्ने बुझेका थिए । र, हेनरी फोर्डलाई नजिकबाट नियालेका थिए । त्यसैले उनको टिम प्रतिवद्ध थियो । लाइसेन्स लिने करिब पक्कापक्की भएपछि सबैले रकम जम्मा गर्न भनियो । ‘त्यो रात निद्रा लागेन, धर्मपत्नी निर्मला खड्का न्यौपानेसँग अन्तिम सल्लाह भयो ।’ रमेशले सुरुवाती कथा सुनाए, ‘आर्थिक तथा सामाजिक हिसाबले पनि राम्रो त पक्कै हुन्छ । यदि भएन र सबै रकम डुब्यो भने पनि दुवै जनाको जागिरबाट बिस्तारै ऋण तिरौंला भनेपछि उनी (निर्मला) पनि कन्भिन्स भइन् ।’ निर्मला बिएससी नर्सिङ् हुन् । नर्भिक अस्पतालमा कार्यरत उनी मन्टेश्वरी स्कुल पनि चलाउँछिन् । निर्मलासँगको सल्लाहपछि रमेशले सरसापटी तथा ऋण लिएर बिउ पुजी जम्मा गरे । सबै सहकर्मीले पनि त्यसै गरे । अब अनुमित लिने प्रक्रिया अघि बढ्यो । यो पनि सजिलो त कहाँ थियो र? चरण चरणका वार्ता गरेपछि यसको आधिकारिक संस्थालाई बिश्वास दिलाएपछि मात्र लाइसेन्स पनि हात लाग्यो । अब प्रसारणको तयारी गर्नुपर्ने भयो । सञ्चालकका रुपमा महानायक हमालसँग बिभिन्न चरणमा सार्थक वार्ता भयो । अब कार्यक्रमका लागि आवश्यक बजेट जोहो गर्नुपर्ने चुनौति थियो । बिभिन्न प्रतिष्ठित कम्पनीकहाँ प्रस्तावना पत्र लिएर यो टिम ढोका ढोका चहार्यो । यो क्षेत्रमा यी चारैजना चिनिएका अनुहार थिएनन् । आ–आफ्ना पेशामा दक्ष भएपनि टेलिभिजन कार्यक्रमका लागि पत्याउनुपर्ने हैसियत बनाइसकेका थिएनन् । लाइसेन्स लिइसकेपछि गत बैशाखदेखि नै प्रसारण सुरु गर्ने तयारी थियो । तर स्पोन्सरले नपत्याइदिएकै कारण पुर्वनिर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । ‘दुई दशक अघि मदनकृष्ण श्रेष्ठज्युमार्फत प्रसारण भएको नगद पाँच लाख कार्यक्रमलाई औंल्याउँदै सबैले हामीमाथि पनि शंकाको दृष्टिले हेरिरहे ।’ रमेश सुनाउँछन्, ‘हामीले यो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी कार्यक्रम हो, हाम्रो इच्छाले मात्र चल्दैन । यसको आफ्नै बिश्वव्यापी मापदण्ड छ भनेर सम्झाउने प्रयत्न गरिरह्यौं, तर सुरुवाती ६ महिना हाम्रो कुरा मान्न कोही तयार भएन ।’ यतिसम्म कि कतिपय स्पोन्सरले बैंक ग्यारेन्टी दिने भए हामी स्पोन्सर गर्छौं सम्म भनेको तीतो कथा रमेश यतिबेला पनि सम्झन्छन् । ‘लाइसेन्स र स्टुडियो निर्माण तथा अन्य प्रशासनिक खर्चमा करोडौं खर्चिसकेका हामीलाई फेरि स्पोन्सर रकम बराबर बैंक ग्यारेन्टी राख्न सक्ने अवस्थै थिएन ।’ उनी भन्छन्–‘तर हामी आपसमा सल्लाह गर्दै निरन्तर अघि बढिरह्यौं ।’
सुरुवाती ६ महिनासम्म प्रायोजक नभेटिंदा रमेश लगायतलाई नैराश्यता छाउन थालिसकेको थियो । त्यतिबेलै रमेशले सम्झिए आशावादी त हरेक समस्यामा अवसर पो देख्दछ । यो अवसरले उनीहरुलाई पर्खिरहेको थियो ।

 

 

उनीहरुको मनमा थियो हामीले त अरुलाई करोडपति बनाउने लक्ष्यमा पो अघि बढिरहेका छौं । त्यसैले सफलताका तीन सुत्रहरु पहिलो कहिल्यै हरेश नखाउ, दोस्रो कहिल्यै हरेश नखाउ, अनि तेस्रो कहिल्यै हरेश नखाउ भन्ने भनाइलाई सम्झिदै अगाडि बढिरहे । उनीहरुलाई लाग्यो कुनैदिन यो समाजले पक्कै सम्झिनेछ । ‘हामीले पैसाका लागि अरु जुनसुकै बिजनेस गरेको भएपनि हुन्थ्यो ।’ हिमालयन एयरलाइन्सका सिनियर इन्जिनियर रमेशले सुनाए, ‘आफ्नै देशमा केही गर्नुपर्छ भनेर विदेशको सपना त्यागियो, अनि समाजमा केही पृथक काम गरेर देखाउनुपर्छ भन्ने लागेर नै यसमा हात हालियो ।’ यसमा घरमै बसेर लखपति बन्ने अवसर छ । खाडी मुलुकमा पसिना चुहाइरहेका श्रमिकहरुलाई लक्षित गरेर पनि कार्यक्रम तय भएको उनले सुनाए । यसमा भाग लिन बिभिन्न प्रक्रिया रहेको उनी बताउँछन् । घरमै बसेर मोबाइल हातमा लिएर यसमा सहभागिता जनाउन सकिने भएको हुँदा बसीबसी करोडपति बन्ने अवसर रहेकोले सबैलाई सहभागी हुन उनी आह्वान गर्दछन् ।

प्रतिक्रिया

प्रतिक्रिया