अख्तियारसँग अपेक्षा : सरकारी कार्यालयमा अख्तियारको डेस्क राख्न माग

सेवाग्राहीहरुले सेवाप्रदायक कार्यालयहरुमा अख्तियारको डेक्स राख्न सुझाव दिएका छन् । आइतबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले भ्रष्टाचारको अत्याधिक गुनासो रहने कार्यालयमा डेस्क राख्न सुझाव दिएका हुन् । उनीहरुले सरकारी कार्यालयहरुमा अख्तियारले निगरानी बढाएमा भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरेका थिए ।

 
कार्यक्रममा बोल्दै अधिवक्ता विश्वजित तिवारीले हरेक कार्यालयले दिने सेवा, सुविधाका बारेमा नागरिक वडापत्र राख्नुपर्ने सुझाव दिए । उनले प्रत्येक सेवाग्राहीलाई बडापत्रको पम्प्लेट वितरण गर्नुपर्ने बताउँदै भने, ‘सुशासन सम्बन्धी ऐनमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र राख्ने व्यवस्था छ, त्यसलाई पूर्ण रुपमा पालना गरिनुपर्छ ।’
कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार बढ्यो भनेर चिन्ता गर्नु भन्दा त्यसलाई न्यूनीकरण गर्ने उपायमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । सरकारी कार्यालयमा सेवा लिन झन्झट हुँदै गएको उल्लेख गर्दै सहभागीहरुले सहज रुपमा सेवा लिनसक्ने वातावरण बनाउनका लागि पहल गर्न अख्तियारसँग आग्रह गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले नागरिकले सेवा लिन घण्टौं लाइन लागेर बस्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने धारणा राखे । ‘आवश्यक भए जनशक्ति थपिनु पर्छ’, उनले भने, ‘विभिन्न बहानामा हुने ढिला सुस्तीले सेवाग्राहीले दिक्क मानिरहेको अवस्था छ ।’ अध्यक्ष थारुले स्थानीय तहमा भ्रष्टाचार बढ्यो भन्ने अख्तियारको भनाइ आइरहँदा कुन स्थानीय तहको भ्रष्टाचारको उजुरी बढी आएको हो भन्ने अख्तियारले स्पष्ट पार्नुपर्ने बताए । ‘सबैले गलत नगरेका होलान्, स्थानीय तह मात्रै भन्दा सबै स्थानीय तहमा नकारात्मक सन्देश जान्छ’, उनले तहगत तथ्यांक सार्वजनिक गर्न आग्रह गर्दै भने ।

 
कार्यक्रममा सहभागी वडाध्यक्ष ओमकार नाथ मिश्रले पनि सरकारी कार्यालयमा हुने ढिला सुस्तीको आलोचना गरे । उनले नापी, भूमिसुधार र मालपोतमा मात्रै नभई अदालतमा पनि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको बताए । मिश्राले तारिख लिन जाँदा समेत अनावश्यक शुल्क तिर्नुपरेको भन्दै त्यसतर्फ अख्तियारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहभागीहरुले नियम बमोजिम काम नगर्ने कर्मचारीलाई पनि भ्रष्टाचारको दायरामा ल्याइनु पर्ने धारणा राखेका थिए । मानवअधिकारकर्मी टंक खनालले सेवाग्राहीको गुनासो आयोगमा समेत आउने गरेको उल्लेख गर्दै आरोपीलाई नियन्त्रणमा लिंदा, कारवाही गर्दा पनि मानवअधिकारको ख्याल राख्न अख्तियारलाई सुझाव दिए ।

‘घुस मागे सूचना दिनुस्’
संस्था प्रमुखले भ्रष्टाचार नगरे ९० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ ः नगर प्रमुख डा. राणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले कसैले घुस मागेमा अख्तियारमा उजुरी गर्न आग्रह गरेका छन् । आइतबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन घुसको सूचना उपलब्ध गराउन आग्रह गरेका हुन् ।

 
‘अख्तियार एक्लैले भ्रष्टाचार न्यूनिकरण गर्न सम्भव छैन’, अख्तियार नेपालगन्जका प्रमुख गैरेले भने, ‘त्यसैले सबैले यसलाई अभियानको रुपमा अघि बढाउनु पर्छ ।’ कर्मचारीले अनैतिक काम गरिरहेका छन् भन्ने सूचना प्राप्त भएमा मात्र अख्तियारको कारवाही अगाडि बढ्ने भएकाले सेवाग्राहीले निर्धक्क भएर त्यसको जानकारी दिन आग्रह गरे । ‘हामीले पनि नियमित अनुगमन गरिरहेका हुन्छौं, त्यो मात्रै भ्रष्टाचार न्यूनिकरणमा पर्याप्त हुँदैन नागरिकको सहयोग पनि आवश्यक पर्छ’, उनले भने ।

 
अख्तियार नेपालगन्जका प्रमुख गैरेले नेपालगन्जमा रहेका सरकारी कार्यालयहरुको आफैले अनुगमन गरी प्राप्त गुनासो सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिएर सुधार गर्न निर्देशन दिइसकेको बताए । ‘कुन कार्यालयमा कसरी काम भैरहेको छ भन्ने मेरो टिमले अनुगमन गरिरहेको छ’, उनले भने । प्रमुख गैरेले अख्तियार आफ्ना कारवाहीका क्रममा मानवअधिकार उल्लंघन नहोस् भन्नेमा सचेत रहेको समेत बताए ।

 
निमित्त प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सार्वजनिक पद धारण गरेका व्यक्तिले नीति र नियमको पालना नगर्नु भ्रष्टाचार भएको बताए । उनले आफ्नो पदीय दायित्व पूरा नगर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन अख्तियारलाई सघाउने पर्ने धारणा राखे ।

 
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा. धवल समशेर राणाले कार्यालयको प्रमुख इमान्दार हुने हो ९० प्रतिशत भ्रष्टाचार आफै नियन्त्रणमा आउने बताए । उनले आफु नगरप्रमुख भएपछि नेपालगन्ज उपमहानगरपालिकामा कुनैपनि कर्मचारीले भ्रष्टाचार नगरेको दाबी गरे ।

 
नियतवश, आफुलाई फाइदा पुर्याउने गरी उपमहानगरका कुनै कर्मचारीले काम गरेको भेटिएमा उसलाई आफैले अख्तियारको जिम्मा लगाउने बताउँदै नगर प्रमुख डा. राणाले भने, ‘धेरै योजनाहरु कार्यान्वयनका क्रममा सानातिना त्रुटि भेटिए त्यसलाई भ्रष्टाचार मानिनु हुँदैन ।’ उनले जनताले भ्रष्टाचारीलाई तिरस्कार गर्नुपर्ने बताउँदै भने, ‘भ्रष्टाचारीलाई निर्वाचन जिताउने, सजाय काटेर आउँदा हर्षोल्लासका साथ स्वागत गर्ने हो भने भ्रष्टाचार कहिल्यै नियन्त्रणमा आउँदैन ।’

 
कार्यक्रममा अख्तियार सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत नारायण दत्त उपाध्याय, बासका निर्देशक नमस्कार शाहले कार्यपत्र पेश गरेका थिए । त्यसक्रममा शाहले अभाव, दबाब र प्रभावले भ्रष्टाचार बढ्दै गएको उल्लेख गरे । शाखा अधिकृत दत्तले अख्तियारले भ्रष्टाचार विरुद्ध कारवाहीसँगै जनचेतनामूलक र प्रवद्र्धनात्मक कार्यपनि गर्दै आएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया