लैंगिक हिंसा विरुद्धको अभियान कति सफल ?

रुपा गतहराज

महिला हिंसा रोक्नको लागि सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सरकारको अभियानमा महिला अधिकारको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले पनि साथ दिएका छन् । समाजमा हुने महिला हिंसा रोक्नको लागि सञ्चालन गरिएका अभियानले अपेक्षाकृत रुपमा परिणाम भने दिन सकेको छैन ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा बाँके जिल्लामा सरकारी गैरसरकारी तथा सरोकारवाला निकायहरुले महिला हिसांलाई न्यूनिकरण गर्ने अभियानका साथ विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन र महिला हिंसा न्यूनीकरण गर्नको लागि समाजले खेल्नु पर्ने भूमिका लगायतको विषयमा सामाजिक अभियन्ता लागि परेका छन् ।

 
महिला अधिकारकर्मी सपना भटराइ परम्परागत सोचाइ राखेर महिला हिंसा न्यूनिकरणको समस्या समाधान गर्न नसकिने धारणा राख्छिन् । उनका अनुसार, अभियानको रणनीति नै परिवर्तन गर्नुपर्ने बताउँछिन । उनले भनिन्, ‘अरुलाइ होइन, पहिला आफै परिवर्तन हुन जरुरी छ ।’

 
नेपालमा यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको निर्णयमा मात्रै १६ दिने अभियान मनाइँंदै आइएको थियो । यस वर्षदेखि भने सरकारले नै १६ दिने अभियानको स्वामित्व लिएको छ । अधिकार्मी कमला पन्त उनका अनुसार, औपचारिकताको लागि नभइ दीर्घकालमा महिला हिंसा न्यूनिकरण हुने गरी योजनाका साथ यसपटकको १६ दिने अभियान मनाउनु पर्ने बताउँछिन् । उनले भनिन्, ‘हामीले अब दीर्घकालसम्म महिला हिंसा घटाउने योजनाका साथ यो वर्षको १६ दिने अभियान सञ्चालन गर्नुपर्छ ।’ उनले गतबर्ष गोष्ठी अन्र्तक्रियाबाट आएका सल्लाह तथा कार्ययोजनाका आधारमा रणनीति बनाएर घरघरसम्म लैंगिक हिंसा विरुद्धको अभियान लैजानु आजको आवश्यकता रहेको बताइन् ।

 
घरेलु हिंसाका घटना गाउँघरमा दिनानुदिन भइरहे पनि प्रहरीमा धेरैजसो घटना नपुगेको दलित महिला संघ बाकेकी अध्यक्ष निर्मला सुनारले बताइन् । ‘केही घटना मात्र प्रहरीमा पुग्नुले पनि घरेलु हिंसा न्यूनीकरण हुन नसकेको हो,’ उनले भनिन्, ‘पछि गाजिँदै गएर आत्महत्या अँगाल्न पुग्छन् ।’ घरेलु महिला मानव अधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अक्षेरी पोख्रेलले पीडकमाथि कानुनी कारबाही निष्पक्ष नहुँदा समस्या भएको बताइन् ।
महिलाका अभियान महिलाका लागि मात्र हुन् भन्ने मान्यताले पनि महिला हिसांको अवस्था नफेरीएको अधिवत्ता बसन्त गौतमको बुझाइ छ । ‘हरेक अभियान समाज सुधारका लागि हुन । यो समस्या महिलाका मात्र होइनन्,’ उनले भने, ‘महिलाको अभियानमा पुरुषको सहभागिता जरुरी छ ।’

 
यसपटकको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई लैंगिक हिंसा विरुद्ध शुन्य सहनशिलता कायम गर्ने अभियानका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरेको छ । गएको कात्तिक २९ गते मन्त्री परिषद् बैठकले नै निर्णय गरी शुन्य सहनशिलता कायम गर्ने अभियानका रुपमा मनाउने औपचारिक निर्णय गरेको हो । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मलाई विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाइन्छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक हेर्ने हो भने महिला हिंसाका घटना बढिरहेको देखिन्छ । यद्यपि, प्रहरी अधिकारीहरु हिंसाका घटनामा न्यायका लागि प्रहरी समक्ष पुग्ने गरेकाले पनि तथ्यांक वृद्धि भएको बताउँछन् । बाँकेमा आ.व. ०७२÷०७३ मा बहु विवाहका ७, ०७३÷०७४ मा २३ र ०७४÷०७५ मा २४ तथा क्रमशः पछिल्ला तीन आर्थिक बर्षमा जबर्जस्ती करणीका २६, ३९ र ३५, जबर्जस्ती करणी उद्योगका २३, २७ र ३१ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ । महिला हिंसाका कतिपय घटना पीडक र पीडित बीच मिलापत्र हुने तथा पीडित नै पछि हटेपछि मिलापत्रमा टुङ्गिने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया