नेपालगन्ज नाकाबाट भारत जानेको लर्काे

समाचारदाता/रुपा गहतराज

नेपालगन्ज नाकामा यतिबेला भारत जाने नेपालीहरुको लर्काे छ । नेपालगन्ज हुँदै भारत जाने भएकाले नेपालगजका होटेलहरुमा भारत पस्ने नेपालीहरुले चाप बढेको छ । हातभरी झोलाका गुल्टागुल्टी, आँखाभरी आफन्तका सपना बोकेर भारत पस्ने नेपालीहरुको सीमामा भिड लाग्ने गरेको छ ।

 

नेपालीहरुको चाडबाड सकिएसंगै सँगै सीमामा भारतमा मजदुरी गर्न जाने नेपालीहरुको लर्काे नै लाग्ने गरेको छ । तीमध्येका एक हुन् कर्णाली प्रदेश सुर्खेतका भुपेन्द्र सिंह । उनी आइतबार सपरिवार दसैं तिहार मनाएर भारत जान लागेका थिए । छोरा, छोरी र श्रीमतीसहित भारत जान लागेका उनले चाडपर्व मनाएर काममा फर्कन लागेको बताए । भारतको कालापहाडमा काम गर्दै आएका उनी गत वर्ष पनि उनी दशैं मनाउन मात्रै घर आएका आएका थिए ।
मुख्य चाडपर्व सकेर धान भित्र्याए पछि खाली समयमा भारतको विभिन्न ठाउँमा कमाउन जाने युवाको सिजन पनि हो यो । ५ नम्बर र कर्णाली प्रदेशका पहाडी जिल्ला जाजरकोट, हुम्ला, जुम्ला, दैलेख, सल्यान, रोल्पा, रुकुम लगायतका स्थानवाट अधिंकाश युवाहरु कमाईका लागि भारत जाने गरेका छन् । पहाडी जिल्लामा पर्व तथा खेतीपातीपछि गाउँहरू युवाविहीन भएपछि गाउँहरु पनि सुनसान भएका हुन थालेका छन् ।

 

धेरै नेपालीहरु चाडपर्व सकिएपछि भारत जाने र चाडपर्वमा घर फर्किने गर्दै आएका छन । ‘कामको सिलसिलामा भारत जानै पर्यो नि ! साथीभाइ आफन्त संग भेट भयो । रमाइलो गरियो,’ नेपालगन्ज नाका हुँदै भारतको कालापाहाड जान लागेका उनले भने, ‘देशमा नयाँ ब्यवस्था त आयो, तर हाम्रो लागि रोजगारी आएन ।’
भारतमा काम गर्दै आएका हजारौं नेपाली चाडवाड सकिएपछि धमाधम भारत फर्किरहेका छन् । मजदुरी गर्न भारत जान लागेका उनीहरूको अर्काे बर्षको जोहो गर्न भारत जान थालेका हुन् । लामो समय घरमा बिदा मनाएका उनीहरु निराश हँुदै फर्किरहेका छन् । ‘परिवारसँग छुट्टिदा दुःख लाग्छ, के गर्नु यो रहर होइन बाध्यता हो,’ दशै तिहार मनाएर भारत फर्किन लागेका जाजरकोटका रमेश जीसीले भने, ‘अब अर्काे दशै मनाउन, कमाउन भारत जानै पर्यौ ।’
छिमेकी मुलुक भारतमा जान राहदानी चाहिंदैन । अरू मुलुक गएजस्तो हजारौं रुपैयाँ खर्च पनि नलाग्ने हँुदा नेपाली युवाहरूको पहिलो रोजाइ भारत हुने गरेको छ । ५ नम्बर र कर्णाली प्रदेशका हजारौं युवा, महिला तथा बालबालिका काम खोज्दै भारत जाने गरेका हुन् । आफ्नै गाउँघरमा काम नपाएपछि नेपाली जनशक्ति भारत पलायन हुने गरेको हो ।

 

दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्व तथा खेतीपातीको समय सकिएपछि नेपालगन्जको जमुनाह नाका भएर भारतका विभिन्न स्थानमा काम गर्न जाने मजदुरहरुको संख्या बढेको जमुनाह प्रहरीले जनाएको छ ।
विपन्न तथा गरिव परिवारका अधिंकाश युवा मात्र नभएर उमेर पाकाहरु समेत खासगरी भारतको सिम्ला, लुधियाना, कालापहाड, गुजरात, दिल्लीलगायतका स्थानमा कामका लागि पुग्ने गरेका छन् । उनीहरू त्यहाँ मजदुरी गर्ने र चाडपर्वका बेला घर फर्किने बाध्यता बनिसकेको छ ।

 

हाल दैनिक ५ हजारभन्दा बढी नेपाली नेपालगन्ज नाका भएर भारत गइरहेका छन् । ‘धेरै नेपाली चाडपर्व मनाए फर्किरहेका छन् । उनीहरू कोही निराश कोही उत्साही देखिन्छन्,’ नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय नेपालगन्जका प्रमुख शिव वली भन्छन्, ‘कोही बाध्यता कोही रहरले भारत गइरहेका छन् ।’

 

‘खेतीको काम सकिएपछि हरेक वर्ष मजदुरीका लागि भारत जान्छन् । कोही दुईरचार महिना काम गरी घर फर्कन्छन्,’ उनले भने, कतिपय चाडपर्वमा हुने खर्च जोहो गर्नैका लागि भारत जाने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया