नेपालगन्ज : ‘मन मिलाउँदै’ व्यापारी, पद मिलाउँदै नेकपा

पूर्व नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपा सम्बद्ध उद्योगी, व्यवसायीहरु आज बुधबार बाँकेमा बृहत भेला गर्दैछन् । पार्टी एकताको प्रक्रियादेखि घोषणासम्म निष्क्रिय प्राय देखिएका उनीहरुका गतिविधिमा संगठन समायोजनको प्रक्रियासँगै सक्रियता देखिएको हो । उनीहरु विभिन्न पर्वहरुलाई लक्षित गरी सामूहिक शुभकामना आदानप्रदानका लागि आज भेला हुन लागेका हुन् ।

 
पार्टी एकताको घोषणासँगै जनवर्गीय संगठनहरु विघटन भएपछि उद्योग, वाणिज्य क्षेत्रका संगठनहरु पनि स्वतः निष्क्रिय भएका थिए । साविकको नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ र माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बाँकेमा सामूहिक चियापान गर्न लागेका हुन् ।

 
‘एकता प्रक्रिया पनि करिब–करिब टुङ्गिइसकेको छ’, वाणिज्य संघका जिल्ला अध्यक्ष भाष्कर काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘तर, हामी यसबीच एकै ठाउँ भेट्ने, खुशी साटासाट गर्ने औपचारिक कार्यक्रम गर्न पर्वहरुले मौका जुटाएकाले कार्यक्रम आयोजना गरिएको हो ।’ संगठनका गतिविधि निष्क्रिय प्राय रहेपनि भेटघाट छलफल, अन्तरक्रियाहरु भने अनौपचारिक रुपमा भैरहेको काफ्लेको भनाइ छ ।

 
‘यो आत्मीयता बढाउँदै अगाडि बढ्ने एउटा राम्रो अवसर हो’, शुभकामना आदानप्रदानसँगै राखिएको चियापान बारे व्यापार संगठनका जिल्ला अध्यक्ष बसन्त लामिछानेले दैनिक नेपालगन्ज भने, ‘विचारसँग एकता हुँदै गएपछि मनपनि मिल्नु पर्छ ।’ लामिछानेको भनाइ थियो, ‘आत्मीयता बढाउँदै मन मिलाउँदै अगाडि बढिरहेका छौं ।’ त्यसो त दुई वटै संगठन बीच केन्द्रीय स्तरमै एकता प्रक्रिया अगाडि बढिसकेको छ । बाँकेबाट संघको केन्द्रीय सल्लाहकारका रुपमा मधुसुदन शर्मा रिजाल र संगठनका केन्द्रीय उपाध्यक्ष दामोदर आचार्य प्रतिनिधित्व गर्छन् । तर, जिल्ला स्तरको एकीकरण कसरी अगाडि बढ्छ भन्ने कुरा अन्योलमैं छ ।

 

 
‘सबै जनवर्गीय संगठनको प्याकेजमा सहमति हुने भएकाले कहाँ, कसको के हैसियत रहने भन्ने सबै कुरा अन्योल छ’, नेताहरु भन्छन्, ‘यो अन्योलताले संगठनका गतिविधिहरु निष्क्रिय प्राय बनाइरहेको छ ।’ यद्यपि, छिट्टै निर्णय हुने उनीहरुको अपेक्षा छ ।

 
तीन बर्षअघि नेतृत्वमा आएका व्यापार संगठनका अध्यक्ष लामिछाने र आफ्नो कार्यकाल पूरा गरिसकेका संघका अध्यक्ष काफ्ले नै अबको एकीकृत संगठनको नेतृत्वका प्रबल दाबेदार हुन् । ‘काम गर्नेहरु बाटै नेतृत्व दिइनु पर्छ भन्ने कुरामा लबिङ छ’, उनीहरु भन्छन् ।

 
दुई वटै संगठनले स्थानीय तहसम्म आफ्ना सदस्यता बिस्तार गरेका छन् । ‘हामीहरु आठवटै तहमा संगठन बिस्तार समेत गरिसकेका छौं’, लामिछाने भन्छन् । काफ्लेले जिल्लामा आफ्नो उपस्थिति प्रभावकारी रहेकाले संगठनसँगको एकतापछि उद्योग, व्यापार क्षेत्रमा नेकपा निकट व्यवसायिक संगठन सशक्त बन्ने विश्वास व्यक्त गरे ।

 
‘यसखालका गतिविधिले संगठन बीचका अन्योलता पनि चिरिने र व्यवसायीहरु बीच आपसी अन्तरघुलन पनि हुने भएकाले चियापानलाई भव्यतापूर्वक एकतासँग जोड्ने निर्णय गरिएको छ’, संघका अध्यक्ष काफ्लेले मंगलबार संयुक्त तयारी बैठक पनि गरिएको जानकारी दिंदै भने । उनका अनुसार, दुवै संगठनका सदस्यसँगै नेकपाका नेतादेखि निर्वाचित जनप्रतिनिधिसम्मलाई चियापानमा डाकिएको छ ।

 

पद मिलाउँदै नेकपा

जिल्लामा पार्टी एकताका लागि कार्यदल बनाएको सत्तारुढ दल नेकपाले आफ्ना गतिविधि तिव्र बनाएको छ । कार्यदल गठनसँगै वडा तहमा पार्टीको एकीकृत संरचना तयार गर्न गतिविधि तिव्र बनाएको हो । ‘यसबीच औपचारिक तीन वटा र अनौपचारिक धेरै बैठक भएका छन्’, कार्यदलका सदस्य प्रकाश सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘कतिपय कुराहरुको समझदारी पनि तयार गरिसकिएको छ ।’ साविकको नेकपा एमाले कार्यालयमा नेकपाको कार्यालय स्थापनाको निर्णय गरेको कार्यदलले ऐन बहादुर हमाललाई कार्यालय सचिव नियुक्त गर्दै समझदारी अगाडि बढाएको हो ।

 
‘समझदारीलाई अझ घनिभूत बनाउन आगामी साता मंगलबार संयुक्त चियापान कार्यक्रम आयोजना गरिएको छ’, कार्यदलका अर्का सदस्य गोपाल गिरीले दैनिक नेपालगन्जसँग भने, ‘दशैं, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदानसँगै जिल्लाभरका पार्टी कार्यकर्ताहरु बीच भेटघाटको अवसर जुटाइएको छ ।’ कार्यदलमा पूर्व माओवादीबाट सुवेदीसँगै अक्कल बहादुर बम र पूर्व एमालेबाट गिरीसँगै अशोक कोइराला सम्मिलित छन् ।

 
पार्टी एकता प्रक्रियालाई वडास्तरमा पुर्याउन गठित जिल्ला कार्यदलले वडा स्तरसम्मका संरचनाहरु तयार गर्नेछ । ‘जिल्ला तहसम्म केन्द्रले निर्णय लिन्छ’, सुवेदीले स्थानीय तहदेखि वडास्तरसम्मका लागि जिल्ला स्थित कार्यदलकै निर्णय अन्तिम हुने भएकाले कसरत भैरहेको जानकारी दिए । उनका अनुसार, गाउँ, नगर कमिटि निर्माण समान ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे नियमित छलफल भैरहेको छ । ‘अध्यक्ष लिनेले सहइन्चार्ज र सचिव पाउनेले इन्चार्ज लिने विषय भने समझदारीमा पुगिसकेका छौं’, पदीय भागवण्डाबारे सोधेको प्रश्नमा कार्यदलका दुवै नेताको समान जवाफ थियो, ‘केन्द्र र प्रदेशमा अपनाइएको मापदण्डकै आधारमा जिम्मेवारी बाँडफाँट गर्ने विषयमा भने समझदारी जुट्न सकेको छैन ।’ उनीहरुका अनुसार, एमाले सम्बद्ध कार्यदल सदस्यले केन्द्रमा अपनाइएको ५५–४५ प्रतिशतको मापदण्डलाई पछ्याउने तर्क गरिरहेका छन् भने माओवादी केन्द्र सम्बद्धले ५०–५० प्रतिशत हिस्सेदारी खोजिरहेका छन् ।

 
पद बाँडफाँटमा टुंगो नलाग्दा अल्झिएका कतिपय विषयहरुलाई आ–आफ्नो ढंगले छुट्टाछुट्टै छलफल चलाउन छुट दिइएको छ । ‘त्यस्ता छलफलहरु वडा स्तरमै भैरहेका छन्’, सम्बद्ध नेताहरु भन्छन्, ‘कार्यदल बाहेक पनि तत्तत् ठाउँका सिनियर नेताहरु बसेर छुट्टाछुट्टै र सामूहिक रुपमा छलफल चलाउन फोरम ओपन गरेका छौं ।’

चुनावी चर्चा
समाचारदाता
दैनिक नेपालगन्ज
सत्तारुढ नेकपा सम्बद्ध उद्योगी, व्यवसायीहरुका दुई संगठन एकता प्रक्रियामा आगाडि बढेपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वबारे पनि चर्चा, बहस र छलफल सुरु भएका छन् ।
खासगरी बर्षौदेखि एकआपसमैं भिड्दै आएका व्यापारी नेताहरु एउटै संगठनमा गोलबद्ध भएपछि कसरी अगाडि बढ्लान् ? तत्काललाई यिनै विषय चर्चामा केन्द्रित छ । ‘औपचारिक बसाईहरुमा अनौपचारिक विषय नै यिनै हुन्’, सम्बद्धहरु भन्छन्, ‘आपसी छेडखानी र इगो पखाल्ने काम पनि भैरहेका छन् ।’
नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी पुस ८ गते २६औं साधारणसभा गर्दैछ । आगामी भदौ तिर अधिवेशन लक्ष्य राखेको संघले कुनै विशेष कारण देखाएर नन्दलाल वैश्यको कार्यकाल ६ महिना बढाउन पाउने वैधानिक व्यवस्था छ । ‘त्यसका लागि दोस्रो महोत्सवमा वैश्य जुटेका थिए तर कार्यसमितिमैं सहमति जुट्न सकेन’, सम्बद्धको भनाइ छ ।
संघमा नेपाली काँग्रेस सम्बद्ध प्रजातान्त्रिक व्यवसायीहरुको कमाण्ड गर्दै पूर्व अध्यक्ष अच्युत प्रसाई, सुनिल शर्मा लगायतले प्यानल तयार गर्दै आएका छन् भने एमाले सम्बद्धहरुको नेतृत्व पछिल्ला दिनमा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सम्हालेका छन् । पूर्व अध्यक्ष दामोदर आचार्यले कमाण्ड गर्दै आएको प्यानललाई माओवादी सम्बद्ध मानिंदै आएको थियो । बहालवाला संघको नेतृत्व आचार्य कमाण्डकै प्यानलले गरेपनि अध्यक्ष वैश्य एमाले प्रवेश गरेपछि संघमा श्रेष्ठको वर्चश्व बढेको छ । आचार्यले त्यसपछि भने वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीको काँधमा हात राख्दै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया