‘आयात घटाउन लागानी गर्नुस्’
राष्ट्र बैंक नेपालगन्जका निर्देशक विमल राज खनालले बैंकहरुलाई आयात घटाउने उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । बिहीबार नेपालगन्जमा कैलाश विकास बैंकको ६४औं शाखा उद्घाटनका क्रममा बोल्दै राष्ट्र बैंक नेपालगन्जका निर्देशक खनालले मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नु परिरहेको उल्लेख गर्दै आयात घटाउने क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन् ।
पछिल्ला बर्ष कृषि प्रधान देश नेपालमा अर्बौंको कृषिजन्य वस्तु आयात हुने गरेको प्रति निर्देशक खनालले चिन्ता व्यक्त गरे । ‘कोदो फापर समेत अर्बौ रुपैयाँको विदेशबाट आयात हुने गरेको छ’, कृषि क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको धारणा राख्दै निर्देशक खनालले भने, ‘कृषिमा मात्रै मुलुकलाई आत्मनिर्भर बनाउने हो भने ठूलो व्यापार घाटा कम गर्न सकिन्छ ।’
‘मुलुकलाई आत्मनिर्भर बनाउन कृषि स–सानो लगानी आवश्यक छ’, निर्देशक खनालले भने, ‘ब्याज अनुदान रहेको कृषि कर्जा प्रवाह गर्नुहोस् ।’ उनले बैंकले सबै ऐन, नियम पालना गरेमा कहिल्यै समस्यामा नपर्ने खनालको भनाइ थियो । ‘नीति नियम पालना गर्ने, संस्थागत सुशासनको अभावले बैंक समस्यामा पर्ने गर्छन्’, उनले यसतर्फ सचेत हुन बैंकहरुलाई आग्रह गर्दै भने । मुलुकलाई समृद्ध गराउन निर्यातमूलक क्षेत्रमा मात्रै लगानी गरेर नहुने निर्देशक खनालको भनाइ थियो । ‘आयात मात्रै रोक्न सकियो भने पनि ठूलो उपलब्धी हुनेछ’, उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बैंकहरु बढ्दै जाँदा कर्जा लिन सहज भएको धारणा राखे । ‘बैंकहरुको संख्यामा भएको वृद्धिले उद्योगी, व्यवसायीलाई कारोबारका लागि कर्जा लिन सहज भएको छ’, अध्यक्ष वैश्यले भने । उनले निजी बैंकहरुको व्यवहारका कारण कारोबार गर्नेहरुको संख्या बढिरहेको बताए ।
अध्यक्ष वैश्यले कर्जा लिन सहज भएपनि ब्याजमा बैंकले मनपरी गरेको आरोप समेत लगाए । ‘बैंकले एकतर्फी रुपमा ब्याज बढाउँदा व्यवसाय चल्न नसक्ने स्थिति आउने गरेको छ’, अध्यक्ष वैश्यले राष्ट्र बैंकलाई त्यसको नियमन गर्नु आग्रह गर्दै भने । ‘व्यवसाय नचले बैंक पनि चल्ने छैनन्’, अध्यक्ष वैश्यले भने, ‘त्यसैले ब्याजदर बढाउँदा व्यवसायसँग पनि छलफल गरिनुपर्छ ।’
अध्यक्ष वैश्यले बैंकहरु सहरमात्रै नभई गाउँ तर्फ पनि सञ्चालन गर्न आग्रह गरे । ‘गाउँमा पनि उद्यमशीलता वृद्धि गर्न कर्जाको आवश्यक छ’, अध्यक्ष वैश्यले अझै पनि गाउँमा साहुसँग चर्को ब्याजमा रकम लिन कृषकहरु बाध्य रहेको उल्लेख गर्दै भने । ‘मुलुकको समृद्धिका लागि गाउँ, सहर सबैतिर बैंक तथा वित्तिय क्षेत्रको पहुँच आवश्यक छ’, उनले भने, ‘त्यसका लागि राष्ट्र बैंकले पनि बैंकहरुलाई स्पष्ट निर्देशन दिन आवश्यक छ ।’ वेधनिजी शर्माले बैंकहरु संख्यात्मक रुपमा बढ्दै गएपनि ग्रामीण क्षेत्रको पहुँचमा अझै पुगिनसकेको बताए । उनले बैंक नपुगेका क्षेत्रमा शाखा सञ्चालन गर्न बैंकहरुलाई आग्रह गरे । नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले बैंकलाई सामाजिक विकास क्षेत्रमा पनि काम गर्न सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता गरेका बैंकका सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले २०५० सालमा स्थापना भएर कैलाशले वित्तिय कारोबार गरिरहेको जानकारी दिए । उनले बैंकले स–सानो कर्जा प्रवाहलाई विशेष महत्व दिएको जानकारी दिंदै राज्यले तोकेको क्षेत्रमा विशेष ध्यान पुर्याएको बताए । बैंकका शाखा प्रबन्धक धु्रव बहादुर कार्कीले काठमाडांैमा प्रधान कार्यालय रहेको कैलाशले देशभर ७१ वटा शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । उनले बचतमा आकर्षक ब्याजदर, सहज ऋण, एसएमएस बैकिङ सेवा प्रदान गरिरहेको जानकारी दिंदै एटिएम भिसाकार्ड सेवाको तयारी गरिरहेको बताए ।