‘घरमा हिजोआज मेरा बारे आश्चर्य व्यक्त गर्न थालिएको छ,’ नेपालगन्जका अग्रणी व्यवसायी सन्जय थापा आफ्नो अति व्यस्त दिनचर्याबीचको प्रशन्नतामा आफन्तले गरेको चियोबारे सुनाउदै थिए, ‘अबेर विहानसम्म विछ्यौनामा भेटिने मान्छे ४ बजे नै उठेर कहाँ जान्छ ?’ यसो सुनाइरहँदा थापाको मुस्कान ओठमा मात्रै होइन, अनुहारमैं झल्कन्थ्यो मुक्तकण्ठको हाँसो ।
दिनभर तनावपूर्ण व्यवसायिक व्यस्तता झेल्न अभ्यस्त थापा केही महिना यताको बिहानी ‘ह्याप्पिनेस’ कक्षामा बिताउँछन् । उनीसँगै नेपालगन्जका अन्य उद्यमी–व्यवसायी, पत्रकार पनि सुर्य नमस्कार देखि सुदर्शन क्रियासम्मका योग र योगगुरु काव्य लम्सालका मधुर प्रवचनमा मुग्ध भेटिन्छन् । ह्याप्पिनेस प्रोग्रामलाई निरन्तर जारी राख्ने बताउँने थापा छोटो समयमै एड्भान्स ध्यान कक्षा सञ्चालन गरिएकाले धेरैलाई लाभ मिल्ने बताउँछन् ।
पत्रकार शंकर खनाल देखि बैंकर्स सरोज रेग्मीमात्र होइन युवा उद्यमी माला शर्मादेखि व्यवसायी उमा गौतम सम्मका कयौं नेपालगन्जका व्यस्त व्यवसायीहरु द आर्ट अफ लिभिङका स्वयम्सेवक बनेका छन् । बाँकेमा अहिले योगको लहर चलेको छ । द आर्ट अफ लिभिङले आयोजना गरेको ह्याप्पिनेसले योगसँगै आध्यात्मिक कक्षामा सहभागी हुन युवा युवतीको लहर चलेको हो ।
योग प्रशिक्षणका लागि योग गुरु काव्य लम्साल असार यता बाँके जिल्लामा रहेर काम गरिरहेका छन् । उनी योग, ध्यान, सत्सङ र सेवाका माध्यमबाट जीवनलाई सार्थक बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘दैनिक एक डेढ घण्टा मात्र योग, ध्यान र सुदर्शन क्रिया गरेमा दिन भरी स्पूmर्तीका रुपमा काम गर्न सकिन्छ । ह्याप्पिनेस प्रोग्रामले कुलत फस्नबाट जोगाउने र ब्यक्तिलाई अहिंसात्मक बनाउँछ ।’
एक वर्षदेखि बाँकेमा सक्रिय योग गुरु लम्सालले विद्यालय र कलेजहरुमा एक दिने ध्यान र ज्ञानका कक्षा सञ्चालन गरिरहेको बताए । ७ वर्षदेखि योग साधनामा समर्पित लम्सालका अनुसार, बाँकेमा ४ सय बढीले योग प्रशिक्षणमा सहभागिता जनाएका छन् । नेपालगन्जमा मात्र ह्याप्पिनेस प्रोग्रामबाट शनिबार सातौं ब्याचका ४४ जनासमेत गरी झन्डै तीन सय युवाले योग तथा ध्यानको शिक्षा लिइसकेका छन् । गत असारको पहिलो साता यता नियमित रुपमा ह्याप्पिनेस प्रोग्राम जारी रहेको अभियन्ता माला शर्माले जानकारी दिइन् ।
शनिवार सातौं ब्याचको ६ दिने ह्याप्पिनेस प्रोग्रामको समापनको अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले समाजमा सकारात्मक सोचको विकास गर्न योग र ध्यानको महत्वपूर्ण भूमिका हुने बताए । ‘युवायुवतीले योग, ध्यानका कुरा ध्यान दिएमा समाज परिवर्तन हुन मद्दत मिल्छ’, अध्यक्ष कक्षपतिले भने, ‘सबैभन्दा बढी योग तथा ध्यानको खाँचो त दलका नेतालाई छ । योगबाट उनीहरुमा सकारात्मक सोंचको विकास हुन्छ ।’
कार्यक्रममा सातौं ब्याचका सहभागी चार तारे होटल सिद्धार्थ भ्यूका सञ्चालक कम्पनी, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिका निर्देशक कृष्ण भण्डारी र अर्का सहभागी गोविन्द रेग्मीले ह्याप्पिनेस प्रोग्रामले आफ्नो साेंच र काम गर्ने तौरतरिकामा परिवर्तन आउन थालेको भन्दै खुसी ब्यक्त गरे । सो अवसरमा आर्ट अफ लिभिङका स्वयंसेवकहरु प्रेस युनियनका जिल्ला अध्यक्ष जयनारायण शाह, अन्नपूर्ण पोस्टका उप–सम्पादक शंकरप्रसाद खनाल, गणपति प्लाष्टिक उद्योगकी सञ्चालक डिला शाह लगायतले योग, ध्यान, सत्सङ, ज्ञान, सेवाले गर्ने परिवर्तनबारे धारणा राखेका थिए ।
नेपालगन्जमा केही वर्ष अघि आर्ट अफ लिभिङको कक्षा सञ्चालन भए पनि निरन्तरता पाउन सकेको थिएन । ‘आर्ट अफ लिभिङको योग, ध्यान र ज्ञानबाट आपूm डिप्रेसनबाट मुक्त भएर अरुलाई खुसी बाँडिरहेको’ अभियन्ता माला शर्माको भनाइ छ । हुनपनि के व्यवसायी, के उद्यमी, के पत्रकार, के बैंकर्स सबैलाई एउटै थलोमा ल्याउर नाच्ने गाउने, हाँस्ने रमाउने कला चलिरहेको छ, ह्याप्पिनेस आर्ट । ‘अब आठौं ब्याचको तयारी भइसकेको छ,’ अभियन्ता शर्माले दैनिक नेपालगन्ज सँग भनिन् ।