प्रदेश स्तरीय सुरक्षा गोष्ठी
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान्ति सुरक्षाको विषय बहुआयामिक रहेको बताएका छन् । प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अपराध नियन्त्रणलाई मात्र शान्ति सुरक्षाका रुपमा नबुझ्न आग्रह गरे ।
शान्ति सुरक्षा सुशासनसंग पनि प्रत्यक्ष जोडिएको विषय भएकाले सिण्डिकेट, डन संस्कृति आदीका माध्यमबाट कानुनलाई हातमा लिन खोज्नेहरु, असंवैधानिक र कानुन विपरित काम गर्नेहरुलाई कडाइका साथ निरुत्साहित गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोखरेलल शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासंग जोडिएर काम गर्नुपर्ने बताए ।
जनतासंग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने ठोकुवा गर्दै उनले जनतासंगको सम्बन्ध जीवन्त बनाउन मुख्यमन्त्री पोखरेलको सुझाव थियो । नेपाली सेना लगायत नेपालका सुरक्षा निकायहरुलाई राष्ट्रिय सुरक्षाका लागि कुनै विदेशीसंग युद्ध लड्न पर्ने अवस्था नरहेको उल्लेख गर्दै राष्ट्र निर्माणको राष्ट्रिय मनोविज्ञान तयार गर्ने काम गर्नुपर्ने धारणा राखे ।
सुरक्षाको विषय स्थानीय, प्रदेश र संघको भनेर छुट्याउन नमिल्ने भन्दै मुख्यमन्त्री पोखरेलले कञ्चनपुर घटनाले सिंगो देशमा तरङ्ग ल्याएको उदाहरण दिए । प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको उनले बताए । ‘नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ, तीन ठूला राजनीतिक क्रान्ति हँुदा पनि समाज बदलिन सकेन त्यसको असर प्रदेशमा पनि छ,’ पोखरेलले भने, ‘अधिकार प्राप्तिका लागि संविधान भन्दा बाहिरको बाटो उपयुक्त छैन ।’ ‘सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले गरेको कामको पनि नागरिकले राम्रो मूल्याङ्कन गरेका छन् । अब प्रदेश सरकारसँग नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर काम हुन्छ,’ उनले भने ।
अपराधी पहिचान हुन समय लाग्नसक्ने तर नागरिकले अनुसन्धानमा सुरक्षा निकायले उपेक्षा गरेको महसुस गरे त्यहाँ अविश्वास र समस्या पैदा हुने मुख्यमन्त्री पोखरेलले बताए । कतिपय अवस्थामा घटना र अनुसन्धानलाई प्रभावित पार्न अपराधीहरुको पनि घुसपैठ हुने भन्दै मुख्यमन्त्रीले उनीहरुलाई समयमै पहिचान गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर विकेले प्रदेशभित्रको शान्ति सुरक्षा कसरी सबल र सक्षम बनाउने भन्ने उद्देश्यले गोष्ठी गरिएको बताए । गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका पृतनापति सहभागिता रहेको थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा गोष्ठीमा १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौति, समस्याको समाधान र महिला हिंसा, सवारी दुर्घटना, लागू औषध नियन्त्रण, चोरी निकासी नियन्त्रणमा गरिएका उपायहरुबारे कार्यक्रममा जानकारी गराए । यस्तै प्रदेश ५ ट्राफिक कार्यालयले प्रदेशको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणको प्रयास, चुनौति र योजना, राष्ट्रिय अनुसन्धान निर्देशकबाट सूचना संकलन तथा वितरणको अवस्था, प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतले समग्र सुरक्षा अवस्था र योजनाको बारेमा जानकारी गराएका छन् ।