पेशाको पुस्तान्तरण

अहिंसा नै धर्म हो । जैन धर्मावलम्बीहरुको मुल मन्त्र यही हो । यही मुलमन्त्रलाई आत्मसात गर्दै जीवनयात्रामा अघि बढेका नेपालगन्जका जडीबुटी व्यवसायी राजेश जैन धर्म, कर्म र प्रतिफलबाट सम्भवतः साँच्चिकै सन्तुष्ट छन् । उनीभित्रको आत्मविश्वास, सेवाभाव र इच्छाशक्ति हेर्दा भन्न करै लाग्छ शिक्षाले हैन इच्छाले मानिसलाई महान बनाउँछ । महान वैज्ञानिक चाल्र्स डार्विनले पनि कतै यस्तै भनेका छन् शिक्षाले हैन इच्छाले महान बनाउँछ ।
उनको शैक्षिक पृष्ठभुमि हाइस्कुल तहसम्मको मात्र हो । तर पुस्तैनी व्यवसायमा उनको अनौपचारिक अध्ययन विद्यावारिधी भन्दा कम छैन । जडीबुटीका उनी विज्ञ हुन् ।

 

 
महानगर गाथा समृद्ध नेपालगन्जको सपना देख्नेहरुका लागि एउटा साझा मञ्च हो । सपना देख्ने मात्र हैन साकार पार्न प्रयत्न गर्नेहरुका लागि खुल्ला मञ्च हो । यसकै पात्र खोज्ने क्रममा हामी सुर्खेतरोड नजिकै (घरवारीटोल जाने बाटो) जैन निवास पुगेका थियौं । आवास र केन्द्रीय कार्यालय एउटै भवनमा राखेका राजेश जैन हामीलाई देख्ने बित्तिकै स्वागत गरे र भित्रपट्टि रहेको साँघुरो कार्यालयमा लगे, जहाँबाट उनी करोडौंका डिल गर्छन् ।

 

 
नेपालको आर्थिक क्रान्तिमा प्रचुर सम्भावना बोकेको जडिबुटी व्यवसाय उनका हजुरबुवा बब्बन जैनले थालेका थिए । त्यसैलाई परिमार्जित र परिष्कृत गर्दै व्यवसाय चार पुस्तासम्म पुस्तान्तरण भइसकेको छ । ‘बाजेपछि बुवाले पनि पहाडबाट घिउ डोकोमा आउँथ्यो । त्यो घिउ जस्तो आयो, त्यस्तै बेच्नुहुन्थ्यो ।’ उनी भन्छन्, ‘हामीले प्रशोधन गरेर बेच्न थाल्यौं, निर्यात गर्न थाल्यौं । अब हाम्रा छोराहरुले प्याकेजिङ र ब्रान्डिङ गरेर बिक्री वितरण गर्ने तयारी गरेका छन् ।’ उनको छोरा पुस्ताले स्थानीय तहमा उपलब्ध कच्चा पदार्थबाट पफर््युम उत्पादनको तयारी गरिरहेको उनले जानकारी दिए । ‘परिक्षण गरिसकेका छन्, अझैं अध्ययनको गहिराइसम्म पुग्न खोज्दैछन्,’ उनले भने । अन्य उत्पादनलाई पनि प्याकेजिङ र ब्रान्डिङ गरेर बिक्री वितरणका साथै विदेश निर्यातमा सम्भावना खोजिरहेको उनले बताए ।

 

 
वि.सं. २०३४ सालदेखि पुर्णरुपमा यस व्यवसायमा होमिएका ५६ बर्षिय राजेश जैनका भतिजा प्रिन्सु जैन र छोरा स्वप्निल जैनले उत्तराधिकारीका रुपमा आफुलाई उभ्याइसकेका छन् । समग्र व्यवसायको बागडोर सम्हाल्न तम्तयार भएर बसेका छन् । उनीहरु कसरी यसलाई आधुनिकीकरण गर्ने, प्याकेजिङ र ब्रान्डिङ गरेर संस्थागत गर्ने भन्ने चिन्तनमा लागिसकेका छन् । ‘अहिले रिसर्च र अध्ययनमै व्यस्त छन्,’ राजेश जैनले भने, ‘उनीहरु यसलाई आधुनिकीकरण गर्ने सवालमा धेरै अघि बढिसकेका छन् ।’ भतिजा प्रिन्सुले बेलायत तथा छोरा स्वप्नील भारतबाट दुवैले एमबीए अध्ययन पूरा गरेर नेपाल फर्किएका हुन् । यी दुई एमबीए गरेर उद्योग तथा व्यापार सम्हाल्ने तयारीमा छन् भने अन्य छोरा र छोरीहरु कोही चिकित्सक त कोही इन्जिनियर छन् । शिक्षाको महत्वलाई राम्रोसँग आत्मसात गरेको छ जैन परिवारले ।


राजेश जैनको अर्को पनि विशेषता छ । उनी सन्तानलाई विदेशी माटोमा रम्न दिने पक्षमा छैनन् । अध्ययनका सिलसिलामा भारतमा रहेका छोरा स्वप्नीलले त्यहीं जागिर गर्ने मनसाय बनाएपछि राजेशले भनिदिए, ‘तिमीले जागिर लिने हैन, दिने हो ।’ छोरा, भतिजा सबैलाई नेपालमै बोलाएर पुस्तैनी व्यवसायमा संलग्न गराउन सफल भए । गनापुरमा बाहुबली हर्बल एसेन्स एण्ड एसट्याक्ट प्रालि उद्योग सञ्चालनमा छ । यो उनीहरुको सगोलको व्यवसाय हो । उनका जेठा दाजु पवन जैन र कान्छा भाइ सञ्जय जैनसहितले यो पुस्तैनी व्यवसायलाई सामुहिक कर्मबाट अघि बढाइरहेका छन् । महान दार्शनिक अज्ञातको भनाइ नै छ, समुहको अर्थ नै सफलता हो, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सक्दछन् । यो भनाइ जैन परिवारले राम्रोसँग बुझेको आभाष हुन्छ । सफलताको मार्गमा अनवरत अघि बढेको छ ।

 

 
साथै हेनरी फोर्डले भने झैं साथ जोड्नु सुरुवात हो, साथ रहनु प्रगति र साथ काम गर्नु सफलता हो । पदम कुमार जैन र सावित्री कुमारी जैनका तीन छोरी चल्दै आएको परम्परा र संस्कारलाई पछ्याउने क्रममा वैवाहिक बन्धनमा बाँधिएर पराइका घर पुगे । तीन छोरा पवन, राजेश र सञ्जयका परिवार अहिले पनि एउटै भान्सामा रमाइरहेका छन् । यी तीन भाइले हेनरी फोर्डलाई राम्ररी सम्झिएका छन् । साथ जोड्नु, साथ रहनु र साथ काम गर्नुका फाइदा देखेर नै उनीहरु सामुहिक कर्ममा बिश्वास गरिरहेका छन् ।
आमा सावित्रीको अभिभावकत्वमा तीन छोरा व्यवसायिक कर्ममा व्यस्त छन् भने बुहारीहरु गृहिणी जीवनमा सभ्यता र संस्कारलाई पछ्याइरहेका छन् । उनको संरक्षकत्वमा यो सामुहिक कर्म अघि बढिरहेको छ । जैन धर्मावलम्बीको संस्कारलाई आमाले जीवन्त बनाइरहेको राजेश बताउँछन् । ‘हाम्रो धर्ममा सुर्यास्तपछि खाना वर्जित हुन्छ ।’ उनले सुनाए, ‘आमा, भाउजु, श्रीमती र बुहारीले यसलाई अनुशरण गरिरहेका छन्, हामी पुरुषमा यो लागु गर्न व्यवहारिक कठिनाइ छ ।’ उनी आफु उच्च शिक्षाको अवसरबाट बञ्चित भएपनि पढालिखा श्रीमति भित्राउन सफल भए । भारती बाराबंकीमा जन्मिएकी राजेश पत्नी संगीता जैन स्नातक उत्तीर्ण छिन् । ‘व्यवसायमा व्यस्तताका कारण पढाइलाई निरन्तरता दिन सकिएन,’ उनी भन्छन्, ‘तसर्थ श्रीमति पढेको हुनुपर्ने मेरो मान्यता थियो, ताकी सन्तानलाई उच्च शिक्षा दिन सहज होस । पढेकी श्रीमति नै पाएँ ।’ यति भनिरहँदा उनी मुस्कुराए । उनले व्यवसायमा अलिक बढ्ता ध्यान दिए भन्न सकिन्छ । किनकी उनका दाजु र भाइ पनि उच्च शिक्षा हासिल गर्न सफल भए । व्यवसायमा उनको व्यस्तता र कमान्डिङ हेर्दा उनले सुरुवाती दिनदेखि नै व्यापारमा ध्यान दिए । परिक्षामा असफल हुँदैमा केही हुँदैन, असफल त जीवनमा पो हुनु भएन भन्ने मान्यतालाई आत्मसात गर्दै राजेश अघि बढे, बढिरहे ।
नेपालगन्जमा मात्र हैन, उनले नेपालमै प्रतिष्ठित जडिबुटी व्यवसायीको पहिचान स्थापित गरेका छन् । उनले नेपाल जडिबुटी व्यवसायी संघ (जवान)को केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका छन् । व्यवसायीको नेता भइसकेका कारण पनि उनी व्यवसायीका समस्यालाई नजिकबाट नियालेका छन् । सरकारी नीतिनियमले पारेको अप्ठ्यारो राम्रोसँग बुझेका छन् । जडिबुटी भन्नेबित्तिकै आममानिसमा फरक धारणा रहेको उनले बताए । ‘देशकै अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ यो व्यवसाय,’ उनी भन्छन्, ‘तर राज्यले वातावरण बनाउनुपर्यो ।’
जडिबुटी कुल उत्पादनको ९० प्रतिशत जंगलमा आश्रित हुनुपरेको र १० प्रतिशत मात्र खेती हुने गरेको पनि उनले जानकारी दिए । ‘जंगलको जडीबुटी टिप्नका लागि हरेक दुई बर्षमा मात्र खुल्ला रहने प्रावधान बनाउनुपर्छ,’ उनी सुझाउँछन्, ‘अन्यथा परिपक्व बस्तु प्राप्त गर्न सकिंदैन ।’ यति मात्र हैन यो व्यवसायमा अरु धेरै उल्झनहरु छन् । राज्यको नीति नै स्पष्ट छैन । आयात र निर्यातमा झन्झटिलो प्रक्रिया बर्षौंदेखि झेल्दै आउनुपरेको छ । विदेश निर्यात गर्दा पहिले नमुना पठाउनुपर्ने हुन्छ । विदेशबाट आयात गर्दा पनि नमुना मगाएर नै आवश्यक भए नभएको वा बिक्रीवितरण हुनसक्ने वा नसक्ने भन्ने निस्कर्षमा पुगिने हो । ‘अन्य देशबाट नमुना (स्याम्पल) मगाउँदा सजिलै आइपुग्छ,’ उनी भन्छन्, ‘हाम्रो स्याम्पल पठाउँदा धेरै झमेला बेहोर्नुपर्ने अवस्था अझै विद्यमान छ ।’ यसलाई राज्यको माथिल्लो तहबाट नै निरुपण गर्न सकिने उनको भनाइ छ । सरकारबाट व्यवसायीका समस्याहरुको प्रभावकारी सुनुवाइ हुन नसकेको उनको गुनासो छ । प्रधानमन्त्रीको विदेश भ्रमणमा जडिबुटी व्यवसायीलाई समेट्न नसकेकोमा उनी हल्का दुखी पनि छन् । किनकी नेपालको जडीबुटी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । निर्यात गर्न सकिने उत्पादन हो यो । यहाँको प्राकृतिक भुबनोट र हावापानीका कारण यहाँको जडिबुटी अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग छ ।
‘सरकारलाई विदेशको बजार खोजिदिन हामीले भनेका छैनौं,’ उनी भन्छन्, ‘प्रक्रिया मात्र सहज बनाइदिए अन्तर्राष्ट्रिय बजार व्यवसायी आफैंले खोज्न सक्छन् ।’ उनी आफैंले जर्मनी, बंगलादेश, पाकिस्तान र भारतमा निर्यात गरिरहेका छन् । युरोप र अमेरिकामा नेपालको जडिबुटीको माग बढ्दो रहेको उनी बताउँछन् । यता देशभित्रकै कुरा गर्ने हो भने पनि जटामसी निकासीमा सरकारले प्रतिबन्ध लगाइदिएको छ । कर्णालीवासीको नगदेबालीका रुपमा रहेको जडिबुटी अन्तर्गत जटामसीको निकासीमा डेढ बर्षदेखि प्रतिबन्ध लगाइदिंदा स्थानीयवासी त मारमा परेकै छन्, लगानी गरेर व्यवसाय गर्न थालेका व्यवसायी थप मारमा परेका छन् । उनले टिमुर र जटामसीको तेल निर्यात गरिरहेका छन् । राप्तीदेखि महाकाली सम्म ५० देखि ६० लाख किलो कच्चा पदार्थ उत्पादन भइरहेको उनको आँकलन छ । यो कच्चा पदार्थलाई यहीं सदुपयोग गर्न सके रोजगारीदेखि धेरै काम हुन सक्ने उनको बुझाइ छ ।
नेपालगन्ज वा फेरिफेरिमा केमामाइल, मेन्थाको खेती गर्न सकिने उनको भनाइ छ । जडिबुटी सम्बन्धि साना साना उद्योग खोलेर युवाहरु स्वरोजगार बन्न सक्ने पनि उनी सुझाउँछन् । सफलताको लागि पैसा खोज्ने हैन, काम सिक्नुपर्दछ भन्ने धिरुभाइ अम्बानीको भनाइसँग सहमति राख्ने राजेश जैन आम युवाहरुलाई काम सिक्न आग्रह गर्दछन् । करिब तीन सय सदस्यहरु रहेको जवानसँग सहकार्य गरेर सरकारले तराईमा उत्पादन हुने केमामाइल, मेन्था, कुरिलो र खसखस खेतीमा जोड दिनसक्ने उनी बताउँछन् । यसले पर्यटन प्रवद्र्धनमा समेत सघाउने हुँदा नेपालगन्जको समग्र विकाससँग यसको सम्बन्ध रहेको छ । उनले एक दशक अघि भएको सार्क कार ¥यालीको स्मरण पनि गरे । ‘सार्क कार ¥यालीका सहभागिहरुलाई ढकेरीस्थित उद्यानमा एकछिन विश्राम गर्ने माहोल मिलाएका थियौं,’ उनले सुनाए, ‘उनीहरु निकै रमाएका थिए ।’ विदेशीहरु प्राकृतिक वातावरणमा रमाउँछन् । तसर्थ उनी नेपालगन्जलाई हराभरा बनाउन सुझाउँछन् । हरियालीले वातावरणलाई नै सफा र स्वच्छ बनाइदिन्छ । अझ नेपालगन्ज नजिकैका ग्रामिण बस्तीमा जडिबुटी खेतीलाई प्रश्रय दिन सके पर्यटन प्रवद्र्धन र आम्दानीको स्रोत दुवै बन्न सक्ने देखिन्छ । खाँचो छ त केवल दृढ इच्छाशक्तिको ।

प्रतिक्रिया

प्रतिक्रिया