अवैध सम्बन्धको शंकामा सम्बन्धविच्छेद र हत्या

न्यायीक समितिमा पुरुषकै उजुरी बढी

रुपा गहतराज
दैनिक नेपालगन्ज
सँगै जिउने सँगै मर्ने कसम खाई विवाह बन्धनमा बाँधिएका श्रीमानले गत असारमा आफ्नै श्रीमतीको घाँटीरेटी बिभत्स हत्या गरे । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले २७ वर्षीया श्रीमती मन्सुरको टाउको छुट्याएर प्रहरीमा आत्मसमर्पण गरेका थिए । घटनास्थल पुग्दा मृतकको शरीर र छ महिनाकी छोरी भेटिइन् । छोरीको प्रहरीले तत्कालै उद्दार गर्यो ।

 

 
यही साउन २३ गते नेपालगन्ज उप–महानगरपालिका वडा नं. २३ हिरमिनियाका जंगलीसिंह पूर्वाका शेरअली शेषले आफ्नै श्रीमतीको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरे । प्रहरीका अनुसार शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई सीमासँगै जोडिएको भारतीय अब्दुल्लागन्ज जंगलमा हातले घाँटी थिचेर हत्या गरेका थिए । करिब डेढ महिना अघि विदेशबाट आएका शेषले श्रीमतीको आचरण माथि शंका लागेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
गत चैतमा बाँकेमा एक युवाले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परे । श्रीमती शान्तिदेवीको हत्या गरेको आरोपमा डुडुवा गाउँपालिका वडा नम्बर – ३ बनकट्टिका ३० वर्षीय बर्मालाई प्रहरीले पक्राउ गर्यो । बर्माले स्थानीय प्रशाशनबाट अनुमति प्राप्त बाह्रबोरले राती घरमा सुतेको अवस्थामा गोली प्रहार गरेका हुन् । उनको ११ बर्षिय छोरी छिन् ।

 

 
यी सबै हत्याका कारण थिए । पर पुरुषसँग लागेको शंका । प्रहरीले उल्लेखित घटनाको अनुसन्धान तथा बयानका आधारमा हेर्दा पत्नी माथिको शंकाले नै हत्या भएको देखिएको बताएको छ । बैदेशिक रोजगारमा जाने, पत्नीलाई शंका उपशंका गर्ने परिणाम स्वरुप सम्बन्ध विच्छेददेखि हत्या सम्मका घटना हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार, शंका कै आधारमा बढी जसो श्रीमानले श्रीमतीको हत्या तथा सम्बन्धबिच्छेद गरेको देखिन्छ । धेरै अभियुक्तहरु बयानमै प्रमाण भन्दा शंकाकै भरमा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

 

 
अवैध शंकाको आशंकाले बाँकेमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । सम्बन्ध विच्छेदका लागि स्थानीय निकायको न्यायीक समितिमा परेका उजुरीलाई हेर्दा जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । मधेसी र मुस्लिम समुदायमा सम्बन्ध विच्छेदका घटना धेरै हुने गरेको छन् । नेपालगन्ज उपमहानगरपालिकाको न्यायीक समितिमा सम्बन्ध विच्छेदका ३२ वटा मुद्दा दर्ता भएका छन् । यी मध्ये दुईवटा मात्र मेलमिलाप भएको छ ।
कानुन उपशाखा प्रमुख माया शर्माका अनुसार, ३२ मुद्दामा १८ वटा मुद्दा अदालतमा पठाइएको छ । भने एक वटा मुद्दामा मात्र मिलापत्र सम्भव भएकाले बाँकी १२ मुद्दा पनि अदालत पठाउने तयारी छ । न्यायीक समितिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिनेमा अधिकांश पुरुष छन् । भारतबाट बिहे गरेका पुरुषले श्रीमती संग सम्बन्ध राम्रो नभएको भन्दै सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेका छन् । एक वर्षको अवधिमा बाँकेमा ८३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

 

 
कोहलपुर नगरपालिकाको न्यायीक समितिमा सम्बन्धविच्छेदका ६ वटा मुद्दा दर्ता भएको उपप्रमुख एवं न्यायीक समितिका संयोजक सञ्जुकुमारी थारूले जानकारी दिइन् । ‘सम्बन्ध विच्छेदका मुद्दामा श्रीमान श्रीमतीबीच मेलमिलापका लागि गरिएको प्रयास सफल भएनन्,’ उनले भनिन्, ‘दर्ता भएका ६ मुद्दामध्ये चारवटा अदालत पुगेका छन् ।’ बाँकी दुईवटा पनि अदालत पठाउने तयारी भइरहेको उपप्रमुख थारुले जानकारी दिइन् ।

 

 
राप्तीसोनारी गाउँपालिकाम पनि गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ६ वटा मुद्दा दर्ता भएका उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् । ‘त्यसमध्ये एउटा मुद्दामा मात्र मिलापत्र भयो,’ खत्रीले भनिन्, ‘अन्य पाँच मुद्दा छलफलकै चरणमा छ ।’
सम्बन्ध विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीमा रहेका पतिपत्नी धेरै छन् । खजुरा गाउँपालिकामा सम्बन्ध विच्छेदका पाँच वटा निवेदन दर्ता भएका छन् । त्यसमध्ये एउटा मेलमिलाप भएर टुंगिएको उपाध्यक्ष एकमाया विकले बताइन् । अन्य मुद्दामा छलफल चलिरहेको छ ।

 

 
नरैनापुर गाउँपालिकामा सम्बन्ध विच्छेदका २० मुद्दा दर्ता भएको उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन् । त्यसमध्ये १५ मुद्दा मेलमिलाप मार्फत सहमति गराइएको श्रीवास्तवले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया