स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरुका प्रतिबद्धता र प्राथमिकता सुन्न क्रियटिभ ह्याण्ड्सले ‘पाँच बर्ष, पाँच प्रतिवद्धता’ कार्यक्रम आयोजना गरेको थियो । उपमेयर उमा थापा मगरले खाल्डाखुल्डी रहित सहर बनाउनेदेखि खेलकुदमा साँच्चिकै परिवर्तन ल्याउनेसम्म प्रतिवद्धताका सुची पेश गरेकी थिइन् । मेयर धवलशमसेर राणा कार्यक्रममा बस्नुभन्दा मतदाता कहाँ पुग्दा मत बढ्ने भन्दै पन्छिए । तर, उनले नेपालगन्जको समग्र मुहार फेर्ने भाषणका फेहरिस्त भने पेश गरिरहे । अन्ततः फरक पार्टीका यी दुवैले आआफ्नो प्रतिद्वन्द्वीलाई पछाडि पार्दै नेपालगन्ज उपहानगरपालिकाको बागडोर सम्हाल्ने अवसर प्राप्त गरे ।
स्थानीय सरकारको एक बर्ष पूरा भइसकेको छ । अब बिस्तारै उपमहानगरपालिकाको समिक्षा, प्रशंसा र रचनात्मक आलोचना सुरु हु“दैछ । प्रसंग आउ“दो मंसिरमा नेपालगन्जमा हुने बृहत आठौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिको बैठकको हो । यही साउन दोस्रो साता भएको त्यो बैठकमा आतिथ्य नगरका नगरप्रमुख वा उपप्रमुखको उपस्थिती देखिएन । मेयर धवलले यसको महत्व बुझेनन्, या बुझ्ने प्रयत्न नै गरेनन् । नेपाल सरकारको क्याबिनेट मन्त्रीको अध्यक्षतामा भएको त्यो महत्वपूर्ण बैठकमा उनले सहभागी हुने आवश्यकता किन ठानेनन् ? खेलकुद् पृष्ठभूमिकी उपमेयर उमा पनि अनुपस्थित रहिन् । नेपालगन्जमा हुने बृहत राष्ट्रिय खेलकुदका लागि नेपालगन्जमा भएको मुल समितिको पहिलो बैठकमा नेपालगन्जकै प्रमुख तथा उपप्रमुख अनुपस्थित रहनु आयोजकका लागि पहिलो गाँसमै ढुंगा लागेजस्तै हो ।
राष्ट्रियस्तरको त्यो बैठकमा नपुगेका धवल केही दिनअघि एक प्राइभेट कम्पनीले खोलेको अत्याधुनिक हेल्थ फिटनेस जिम क्लब उद्घाटनमा भने थिए । उदेक लाग्दो कुरा, त्यो कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरीक्षक टेकबहादुर तामाङ थिए । नेपालगन्ज उपमहानगरपालिका मेयर अतिथिका रुपमा पुगे । आयोजकको आग्रहमा खादा ग्रहण गरे, मन्तव्य पनि दिन भ्याए । प्राइभेट कम्पनीका दोकानहरु उद्घाटनका रिबन काट्न जाने मेयर र उपमेयरको बानी सहरलाई नौलो लाग्न छाडेको छ । यो एक बर्षको अवधिमा दुवैले संयुक्त रुपमा नीजि पसल उद्घाटन गरेका सूचि लामै छ । मेयरलाई बोलाएको कार्यक्रममा उपमेयरलाई पनि बोलाउनु र संयुक्त रुपमा उद्घाटन गराउने नेपालगन्जको परम्परा भईसकेको छ । निर्वाचित हुनुअघि मात्र यो पार्टी वा उ पार्टीको प्रतिनिधी हो । निर्वाचित भईसकेपछि मेयर र उपमेयर एउटै तहका फरक ओहोदा हुन् भन्ने बिर्सने यो अभ्यासले उपमहानगरपालिकाका जनप्रतिनिधीहरुको प्राथमिकता निर्धारणको अस्तव्यस्तता झल्काईरहेको छ ।
जुनसुकै राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि मेयरलाई मेयरकै दर्जामा र उपमयेरलाई उपमेयरकै दर्जामा राख्नु सरोकारवाला निकाय र कार्यक्रम आयोजकको दायित्व र कर्तव्य हो । जुन यहाँका कार्यक्रम आयोजकले बिर्सिएको जस्तो देखिन्छ । यद्यपी, शहरकै इज्जत र प्रतिष्ठासँग जोडिएको बृहत आठौं राष्ट्रिय खेलकुदलाई उपमहानगरपालिकाले कम आँकेको हो कि भन्ने संशय पैदा भएको छ । युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको मुल समितिको पहिलो बैठकको महत्व बुझ्न नसक्दा खेलकुद्को सहरको परिचय बनाएको नगरका मेयर–उपमेयर आलोचनाका भागीदार बनेका छन् । मेयर उपस्थित हुनै नसक्ने भए उपमेयरलाई पठाउनुपर्ने चर्चा नचलेको हैन । उता, पुर्वराजा ज्ञानेन्द्र शाहको व्यक्तिगत भ्रमणमा स्वागत गर्न विमानस्थलसम्म जाने समय व्यवस्थापन गर्न सक्ने उपमेयर उमाले खेलकुद बैठकमा समय व्यवस्थापन गर्न नसक्दा पनि टिकाटिप्पणी भएको छ । कार्यक्रममा सहभागि एक पाका प्रशिक्षक भन्दैथिए, ‘हामी सबैले एकढिक्का भएर भोट हालेका हौं, खेलकुदको मर्म र भावना बुझ्लिन भनेर । तर उनीबारे धेरै नै मूल्यांकन गरिएछ ।’
कुनै पनि बृहत खेलकुद् उक्त शहरको विकास र समृद्धि देखाउने ठुलो अवसर हो । र, त्यसको अपनत्व स्वयं आयोजक शहरले लिनुपर्दछ । खेलकुद वास्तवमा कुनै पनि समाजको विकास र समृद्धिको ऐना हो । समाज कत्तिको विकसित छ, कति सभ्य छ । आर्थिक रुपमा कति समृद्ध छ । शिक्षाको अवस्था के छ ? स्वास्थ्य अवस्था कस्तो छ ? सडक पुलपुलेसाका के कस्तो अवस्थामा छन् ? लगायतका विषय आधुनिक समाजले खेलकुदमार्फत देखाउने गरेको छ । चीनले सन् २००८ मा ओलम्पिकको भव्य आयोजना गरेर विकास र समृद्धिमा आफू पश्चिमा मुलुकभन्दा अघि बढिसकेको सन्देश दियो । चार वर्षपछिको पालो थियो, वेलायतको । वेलायतले सन् २०१२ मा आफ्नो इतिहास र सभ्यतालाई ओलम्पिकमार्फत अझै भव्य र सुन्दर ढंगले देखाएर चीनलाई जवाफ दियो । सन् २०१६ मा ब्राजिलले पनि रियो ओलम्पिक मार्फत संसारमा आफ्नो सभ्यता र संस्कृतिको उल्लेख्य प्रवद्र्धन गरेर आफ्नो सामथ्र्य पेश गर्यो । अब जापान सन् २०२० को ओलम्पिक पर्खेर बसेको छ । उसले पनि फेरि एकपटक संसारलाई चक्मा दिने तयारी गरेको छ । हालै सम्पन्न विश्वकप फुटबलमार्फत रसियाले संसारमा आफ्नो शक्ति प्रदर्शन गरेको छ, आफ्नो विकास र समृद्धिको सन्देश विश्वलाई दिन सफल भएको छ ।
वास्तवमा खेलकुदको आयाम धेरै फराकिलो हुन्छ । खेलकुद आफैमा एउटा खेल मात्र होइन । खेलकुद मनोरञ्जन हो । खेलकुद शिक्षा हो । खेलकुद स्वास्थ्य हो । खेलकुद आपसी भाइचाराको माध्यम हो । खेलकुद सकारात्मक सोचको द्योतक हो । खेलकुद स्वच्छ प्रतिस्पर्धा हो र खेलकुद संस्कार पनि हो । खेलकुद् शान्ति र सद्भावको माध्यम पनि हो । हामी सद्भावको धेरै चर्चा गर्छौ । तर, त्यसको मुख्य माध्यम बन्न सक्ने खेलकुद्लाई बिर्सेर धर्मगुरुलाई हातेमालो गराएर सद्भावको कामना गर्छौं । सद्भाव कामनाले बन्दैन, संस्कार र संस्कृतिले बन्छ । त्यसको एउटा मुख्य माध्यम खेलकुद् हुनसक्छ ।
स्थानीय शासनमा विद्यावारिधी गरेका मेयर धवलले यो बुझेका छन् कि छैनन ? आज प्रश्न उब्जिएको छ । हुन त, उनी हक्कीका राष्ट्रियस्तरका खेलाडी कहलिएका छन् । तर, खेलाडीमा जस्तो अरुलाई सुन्ने धैर्यता उनीमा देखिंदैन । एशियाली विकास बैंकको अनुदानमा निर्माण भइरहेका सडक निरीक्षण गर्नु मात्र उनले जिम्मेवारी ठानेजस्तो देखिन्छ । एडिबीको परियोजना निरीक्षण गर्नु, त्यसमा सेल्फी खिच्नु, नीजि पसल उद्घाटन गर्न पुग्नु, खुद्रे कार्यक्रममा प्रमुख अतिथि हुनु, भाषण गर्नु नै उनका खास शौख देखिएको छ । स्थानीय तह ०५४ को नगरपालिका चलाएजस्तो हैन, स्थानीय सरकार हो भन्ने बुझ्न र त्यही अनुसार व्यवहार गर्न अझै समय लाग्ने देखिन्छ । निर्वाचनताका उनले प्रतिवद्धता गरेको सुची आम नागरिकसँग सुरक्षित छ । एक बर्षमा के कति काम गरे ? उनले आत्ममुल्यांकन गरेका होलान् ? गर्नैपर्ने काम पनि गरेका छैनन् ।
उपमहानगरपालिकाको भुकम्प प्रतिरोधात्मक नयाँ भवन निर्माण भएपश्चात द्वन्द्वले जिर्ण धराप जस्तो पुरानो भवन भत्काउने लिखित सम्झौता नै थियो, निर्माण कम्पनीसँग । तर, मेयर धवलकै कारण जिर्ण अवस्थामा रहेको भुकम्पीय जोखिममा रहेको पुरानो भवन झण्डै साढे २ लाख खर्चेर डेन्टिङ–पेन्टिङ गरेर संचालन गरिरहेका छन् । यसैले उनको सोचाईको धरातल देखाउ“छ । नगरभित्र भुकम्पिय जोखिममुक्त घरका नक्सा मात्र पास गर्ने उपमहानगरपालिकाका कर्मचारीहरु कतिबेला भत्किने ठेगान नभएको कार्यालयमा बसेर काम गरिरहेका छन् । ससाना निह“ुमा द्वन्द्व चर्किरहने वीपीचोकको सिंहदरबारका उपप्रमुख उमा वा अरु जनप्रतिनिधीको धारणा के हो सार्वजनिक छैन ।
बरु यतिबेला महानगरोन्मुख नेपालगन्ज उपमहानगरपालिकामा उपसचिव स्तरका कर्मचारी रहनेगरी महाशाखा राख्ने बिषयमा मेयर र उपमेयरबीच मतान्तर रहेको छ । महाशाखा राख्नुपर्ने लाइनको नेतृत्व उपमेयर उमाले गरिरहेकी छन् भने महाशाखा आवश्यक नरहेको लाइनको कमान्ड मेयर धवलसँग छ । एकबर्षको अन्तरालमा यस बिषयमा मेयर र उपमेयरबीच राजनैतिक ध्रुवीकरण बढ्दै गएको देखिन्छ ।
त्यसो त, धवलसँग नेपालगन्जका नगर प्रमुख भईसकेको अनुभव छ । त्यो बेलाको लोकप्रियता नै यसपटक पुनः निर्वाचित हुने आधार बनेको विश्लेषण गरिन्छ । उनले अघिल्लो कार्यकालमा नगरलाई शहर बनाउन केही छनक दिएकै हुन् । उनले तयार गरेका ती संरचना वास्तवमा प्रयोगात्मक र दुरदर्शी थिए कि थिएनन् त्यो छुट्टै बहसको विषय हो । त्यसको इतिहासले मुल्यांकन गर्ने नै छ । तर, उनले रानीतलाउ, महेन्द्र पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजेका थिए । वाटरपार्कलाई उत्कृष्ट गन्तव्य बनाउने सपना देखाएका थिए । साँघुरा गल्लीलाई चौडा सडक निर्माण गराएका थिए ।
अघिल्लो कार्यकालमा विकास निर्माणको काम गरेर वाहवाही बटुलेका धवललाई समग्र नेपालगन्जको मुहार फेर्नसक्ने नेताका रुपमा मुल्यांकन गरी नेपालगन्जवासीले यसपटक विजयी माला पहिर्याएका हुन् । नेपालगन्जवासीले उनीबाट बढ्तै आशा गरे । तर, यो एक बर्षको कार्यमुल्यांकनको बेलासम्म उत्साहजनक छैन । हुन त, ०४९–०५४ को कार्यकालमा पनि कांग्रेसबाट निर्वाचित मेयर विजय गुप्ताको योजना नै कार्यान्वयन गरेको भन्ने कांग्रेसी जमात पनि ठुलै छ । अर्कोतर्फ, तत्कालीन एमालेका तर्फदेखि निर्वाचित भएका कारण एमालेको नीति तथा कार्यक्रमलाई अनुशरण गरेको र नगरका हरेक योजना बैठकका तयारी र निर्णयहरु सबै एमाले कार्यालयबाट हुने गरेकाले धवल सफल मेयर भएको तत्कालिन एमालेजन (हालको नेकपा)को दाबी छ । एमाालेको जिल्ला कमिटीले सबै योजना तर्जुमा गरिसकेपछि मेयरले कार्यान्वयन मात्र गर्ने गरेको एमाले निकट एक युवा नेताले बताए । अहिले उनको काम गर्ने तौरतरिकाबाट आजित एक वडाध्यक्षले भन्छन,–‘आफ्नै क्षमताले गर्ने भए अहिले परिणाम देखिनुपर्छ ।’
यतिबेला उनलाई मार्गनिर्देश गर्ने तहमा शहरमा अर्को कोइ देखिदैन । उनी राप्रपाका केन्द्रीय महामन्त्री हुन् । सबै बिषयको जानकार आफैं भएजस्तो भाव प्रकट गर्छन् । यही उनको कमजोरी हो । कसैको कुरा नसुन्ने उनको बानी छ । आफै पनि दीर्घ सोच र दृष्टिकोण देखाउ“दैनन । देखाउ“थे भने पुष्पलालचोक देखि बसपार्क सम्मको सडक नागबेली र बिच सडकमै ढलको दुर्दशा देख्नु पर्दैनथ्यो । मेयर धेरै सुन्ने, कम बोल्ने, बढी कार्यान्वयन तहमा जोड दिने पद हो, जिम्मेवारी हो । तर उनको रुची रिबन काट्न र पुरस्कार बाँड्नमै रहेको पाइन्छ । कार्यक्रमको गाम्भीर्यता नबुझ्ने मेयरका रुपमा उनी स्थापित हुँदैछन् । उनी यस्तै पथमा रहिरहे नेपालगन्जवासीका सपना पुरा हुने छाँट देखिंदैन । उनीसँग न सपना छ, न त योजना नै छ । सपना र योजनाविहिन मेयरले शहरको कायापलट गर्छु भन्नु हा“स्यास्पद् सिवाय केही हुदैन ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षता बसेको बैठकमा आठौंका भेन्यु रहेका दाङ, बाँके र बर्दियाका संघीय सांसद, प्रदेश सांसद, खेल आयोजनास्थल भएका नगर तथा गाउँपालिका प्रमुखलाई निम्त्याइएको थियो । तुलसीपुर, ठाकुरबाबा, बाँसगढी, गुलरिया, कोहलपुर र खजुरा गाउँपालिका लगायतका प्रमुखहरुले सफल आयोजनामा आफ्नो प्रतिवद्धता जाहेर गरे । नेपालगन्जमा आयोजना भएको बैठक तथा नेपालगन्जले नै आयोजना गर्ने आठौं राष्ट्रिय खेलकुदका लागि यहाँकै नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवल र उपप्रमुख उमा दुबै नदेखिनुले दालमे कुछ काला है को संकेत गरेको छ ।