सनत रेग्मी
नेपालगन्जको विषयमा मैले लेख्ने थालेपछि यस विषयमा बहस चल्न थालेको छु । यो नेपालगन्जका लागि सकारात्मक कुरो हो । किनभने लेखेका कुराहरु सबै पढिजान्ने र सुनिजान्ने कुराहरु हुन् । २०३० सालतिरको कुराको हो, मलाई नेपालगन्जको विषयमा जान्ने खुल्दुल्ली भयो । यसको मुख्य कारण थियो, मैले पढेको पुस्तकहरुमा आएको जानकारीहरु । डा. मोतीचन्द्रको ‘सार्थवाह’, चिरञ्जीवि पौड्यालको ‘आफ्नो कुरा’, उ.प्र. सरकारको प्रकाशन ‘नाना साहब’ र अमृतलाल नागरले लेखेको ‘गढरके फुल’ मा नेपालगन्जको विषयमा धेरै कुरा लेखिएको थियो । तिनै सन्दर्भका आधारमा नेपालगन्जको पृष्ठभूमिमा एउटा उपन्यास लेख्ने विचार भयो ।
यस विषयमा वि.विकास दाजुसँग सल्लाह गर्दा उहाँले भन्नुभयो, ‘यति जानकारीका आधारमा उपन्यास लेख्न सकिंदैन, यसमा अलि गहिरिएर नेपालगन्जको इतिहासलाई अध्ययन गर्न यहाँका बुढापाकाहरु सँग कुराकानी गरेर जानकारी लिनुपर्छ । नेपालगन्जको विषय वस्तुलाई समेटेर तीन चार सय पृष्ठको राम्रो उपन्यास लेख्नुपर्छ । यस काममा म पनि सघाउँछु, तिमी र म भएर एउटा संयुक्त लेखनको उपन्यास लेखौंला ।’ वि. विकास दाजुको यो प्रस्ताव मलाई चित्त बुझ्यो र हामीले कुराकानी गर्ने एउटा लिष्ट तयार गर्यौं । त्यस लिष्टमा नेपालगन्जका बौद्धिक व्यक्तित्व, कृष्ण गोपाल टण्डन, कन्हैयालाल वैश्य, भुवनेश्वर खनाल, सीताराम हलवाई, रामप्रसा ढेवा, योगेश्वर मिश्रा, पूर्वराज उपाध्याय, खेमराज श्रेष्ठ, महावीर प्रसाद गुप्त, आदीको नाम थियो । सोही क्रममा पहिला बुढापाका र नेपालगन्जका विषयमा जानकार, कृष्णगोपाल टण्डन, कन्हैयालाल वैश्य महावीर प्रसाद गुप्तासँग अन्तरवार्ता लिइयो ।
नेपालगन्जका विषयमा लेखिएका पुस्तकहरु पढियो । उपन्यासको रुपरेखाका विषयमा वि.विकास दाईसँग निरन्तर संवाद भइरहे । त्यसैबखत महावीर प्रसाद गुप्त, नेपालगन्ज नगर पंचायतको मेयर भएको बखत, नेपालगन्जमाथि एउटा पुस्तिका नेपालगन्ज नगर पञ्चायतले प्रकाशित गर्ने निर्णय गर्यो र सो पुस्तिका लेख्ने जिम्मेवारी मलाई र रामचन्द्र टण्डनलाई दिइयो । मैले पढे लेखेको कुराहरु र पछि अन्तरर्वार्ता लिएका सामाग्रीहरुको आधारमा हामीले ‘नेपालगन्ज एक परिचय’ पुस्तिका तयार गर्यौं र सो पुस्तिका नेपालगन्ज नगरपालिकाले प्रकाशित गर्यो । नेपालगन्जबारे लेखिएको त्यो पहिलो पुस्तिका थियो ।
त्यस पुस्तिकाको प्रकाशनपछि त्यसको जानकारीलाई सन्दर्भ लेखिन पर्छ भन्दै तत्कालीन राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक अन्वेषक र निबन्धकारले खोज अनुसन्धान गरेर नेपालगन्ज बजार निर्माण हुनुपूर्व, तुलसीपुरका स्टेटका राजाले बाँकी किल्लाबाट जारी गरेको काजियाना र नौनियानाको सनद फेला पार्नु भयो । त्यस सनदमा लेखिएको सन् र नेपालगन्जको र तुलसीपुरको इतिहास मेल नखाएपछि हामी (देवीचन्द्र श्रेष्ठ र म) लगायतले निकै शोधखोज गरेपछि तत्कालीन तुलसीपुर स्टेट अवधका नवावको करद राज्य भएकाले त्यो हिजरी सम्वत नै हो देवीचन्द्र श्रेष्ठले ठोकुवा गर्नुभयो र हिजरी सम्वत्लाई पनि इस्वी सन् भने जस्तै सन् नै भनिदो रहेछ । बागेश्वरी मन्दिरका प्रबन्धका लागि बागेश्वरी गुठीको व्यवस्था गर्न जारी भएको सनदमा पनि हिजरी सन् नै प्रयोग भएको रहेछ । मेरो लेखमा थप सामाग्री समेतको सन्दर्भ मिलाएर देवी चन्द्र श्रेष्ठले । ‘यो हो नेपालगन्ज’ र ‘अल्लाहको चिच्याहटमा बिउझन्छ नेपालगन्ज’ भन्ने दुई वटा नियात्रा मधुपर्क मासिकमा छपाउनु भयो । दुई वटै नियात्राहरु उहाँको नियात्रा ‘घाम पानीको छाप बिदो’ मा संग्रहित छन् । यो पुस्तक तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो । ‘भेरीका लोक साहित्य’को बाँके रावलको भारतमा, सुर्खेत रजौटा चौधौं शताब्दी तिर तल तराई तिर आफ्नो बाबुलाई खोज्न गएको कथांश र थारुहरुका लोक देवता ‘कर्णेरजवा’को किंवदन्तीले बाँके रावलले बाँके जिल्लामा नयाँ राज्य कायम गरी आफ्नो इश्वरीको स्थापना गरी ‘बाँके इश्वरी’ नाम करण गरेको तर्फ बाँके रावलको धमारीले संकेत गरेको झै लागेर मैले त्यो कुरा लेखेको हुँ ।
देवीचन्द्र श्रेष्ठको नियात्राको सन्दर्भ, खेमराजजीले सुनाउनु भएको संस्मरण आदीलाई आधार बनाएर मैले, पुन ‘गरिमा’ पत्रिकामा २०३९ सालमा एउटा सहरको कथा लेखें । यस लेखको प्रकाशन पछि पन्नालाल गुप्त र सच्चिदानन्द चौबेबाट नेपालगन्जको पुराना कुराहरुका बारेमा मैले प्रशस्त जानकारी पाएपछि ‘एउटा सहरको कथालाई’ परिमार्जित गरेर नेपालगन्ज उद्योग व्यापार संघको मेरै सम्पादनमा निस्केको पहिलो स्मारिकामा सो लेख पुनः प्रकाशित भएको छ ।
दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेज्यू एक दिन मेरो घर आउनु भयो र भन्नुभयो, ‘दाई यो भाईले बढो आँटका साथ दुस्साहस गरेर दैनिक नेपालगन्जलाई रंगीन र ठुलो आकार (ब्रोडसिट)मा प्रकाशित गर्ने र यसलाई प्रादेशिक पत्रिकाका रुपमा विस्तारित गर्ने जमर्को गरेको छ । म दाईबाट सहयोग माग्न आएको ।’
मैले भने, म बाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ? ‘कुनै ठूलो सहयोग होइन गहकिलो सहयोग चाहेको हुँ दाई । दाईले दैनिक नेपालगन्जको लागि एउटा नियमित स्तम्भ लेखि दिनुपर्यो । म अहिले लेखका लागि पारिश्रमिक दिन सक्दिन अखबार राम्ररी चलेपछि दुई भाई बसेर पारिश्रमिकका विषयमा कुरा गरौंला । दाईले तबसम्म मलाई सहयोग गर्नुपर्यो ।’
झलकजीको आग्रह टार्न सकिन र मैले लेख्ने वचन दिएँ र उनीसँग भनें, ‘मैले नेपालगन्जका विषयमा अध्ययन गरेका र विभिन्न व्यक्तिहरुका संस्मरणहरु सुनेका आधारमा नेपालगन्जको पुरानो इतिहास र समयका बारेमा ‘हाम्रो नेपालगन्ज’ स्तम्भ धारावाहिक रुपमा दैनिक नेपालगन्जलाई दिन्छु ।’ म त्यही समयदेखि नेपालगन्जको विषयमा प्रत्येक साता लेख लेख्दै छु र यस आलेखका साथै हाम्रो नेपालगन्जको लेखनलाई विट मार्दै छु ।
दैनिक नेपालगन्जको लेखनका क्रममा नेपालगन्जको इतिहासबारेमा नयाँ जानकारी पाएको सन्दर्भमा नयाँ लेखमा त्यो सामाग्री दिएको छु । ती सबै सामाग्री र मेरा ती आलेखहरुमा धेरै कुरा दोहोरिएका छन् । धेरै कुरा छुटेका छन् । ती सबैलाई परिमार्जन गर्दै छुटेका कुरालाई थपथाप गर्दै सम्पादित र परिमार्जित रुपमा पुस्तककार ‘नेपालगन्जको गाथा’को पाण्डुलिपिको तयारीमा लाग्नु परेको छ । यस विषयमा तपाई पाठकहरुलाई नेपालगन्जको विषयमा ज्ञान भएको कुराहरु र नेपालगन्जका पुराना तस्वीरहरु छन् भने मलाई उपलब्ध गराई दिनु हुन विनम्र अनुरोध गर्दछु ।
हाम्रो नेपालगन्ज नभएपनि अन्य विषयमा मेरो यो स्तम्भ जारी रहनेछ । र, केही दिनको विश्राम पछि ‘मैलेदेखि जानेको’ नेपालगन्जको विषय लिएर पुनः हाम्रो नेपालगन्ज स्तम्भमा आउने नै छु । अहिलेलाई यत्तिकै …।