उत्तरप्रदेशका साँढेको आतंक नेपालगन्जमा

उत्तर प्रदेशबाट अन्य क्षेत्रमा बिक्री रोक्का भएपछि छाडा चौपाया नेपाल भित्रिने गरेका छन् ।
उत्तर प्रदेशमा दुई वर्ष अघि चौपाया माथि लागेको प्रतिबन्धको असर नेपाली क्षेत्रमा पनि देखा पर्न थालेको छ । उत्तर प्रदेशबाट मासुजन्य प्रयोजनका लागि अन्य प्रदेशहरुमा गाई गोरु बिक्री गर्न प्रतिबन्ध लगाएपछि छाडा गरिएका चौपाया नेपाल भित्रिँदै गरेका छन् ।

 

 
नेपालगन्ज मात्रै हैन, ग्रामीण क्षेत्रमा पनि चौपायाको बिगबिगी उस्तै छ । भारतीय क्षेत्रबाट भित्रिएका गाई गोरुले कृषिबालीमा क्षति गर्दै आएको कृषकहरुको गुनासो छ । परसपुर क्षेत्रमा धानबालीमा चौपायाले क्षति गरेपछि स्थानीय बासिन्दाले २५ बढि गाई गोरुलाई नियन्त्रण राखेर उपमहानगरपालिका कर्मचारीको जिम्मामा दिएका छन् । निरीक्षण शाखा इन्चार्ज पवन कनोजियाले अझैपनि सहरमा एक हजार भन्दा बढि चौपाया रहेको बताएका छन् ।
पछिल्लो १५ दिन भित्र ११ ट्रक चौपाया जंगलमा छाडिएको कनोजियाले बताए । ‘३ सय बढी गाई गोरुलाई जंगलमा छाडिएपछि सहरमा अझै धेरै चौपाया रहेको अनुमान छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘काँजी हाउसमा राख्दा कुनै ब्यक्ति सोधपूछ गर्न आउँदैनन् ।’ मंगलवार फुल्टेक्रा काँजीहाउसबाट एकसय चौपाया ४ ट्रक जंगल तर्फ लगिएको छ । नेपालगन्ज क्षेत्र सहित गाउँमा पनि क्षति पुर्याउँदै आएकोले अहिले अभियान सक्रिय बनाइएको कनोजियाले बताए ।

 
भारत उत्तर प्रदेशबाट, महाराष्ट, पश्चिम बंगाल, दक्षिण भारत लगायत क्षेत्रमा मासुजन्य प्रयोजनका लागि गाई बिक्री कारोबार हुँदै आएकोमा २ वर्ष अघि उत्तर प्रदेश सरकारले प्रतिबन्ध लगाएपछि यत्रतत्र छाडिएका चौपाया नेपाल भित्रिँदै आएका छन् । ‘खुल्ला सिमाना भएका कारण चौपाया नियन्त्रण गर्न सकिएको छैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै कनोजियाले भने, ‘ग्रामीण क्षेत्रबाट पनि नेपालगन्जमा चौपाया भित्रिँदै आएका छन् ।’

 

 
गाउँ गाउँमा चौपायाबाट भएको क्षतिको अनुमान गर्न गार्हो छ । यसअघि हालै मात्र इन्द्रपुर गाउँमा मकै ध्वस्त बनाएका चौपायाले बसुदेवपुर, पुरैना, पुरैनी, बेतहनी, कम्दी, कोहलपुर, खजुरा सहित राप्तीपारि क्षेत्रमा समेत कृषिबाली क्षति पुर्याउँदै आएका छन् । ‘काँजी हाउसको ब्यवस्था नभएका स्थानहरुमा धेरै समस्या छ’, कनोजियाले भने, ‘नेपालगन्जको चारैतिरबाट चौपाया भित्रिने क्रम जारी रहेको र त्यसका विरुद्ध अभियान पनि सक्रिय रुपमा चलिरहेको छ ।’

 

जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त प्रयासमा चौपाया नियन्त्रणको अभियान अघि सरेको हो । ‘चौपायाले गरेको क्षति बारे गाउँले कृषक झन समस्यामा छन्’, पुरैना बस्ने असलम दर्जीले भने, ‘धान जोगाउनका लागि बालबालिकालाई दिनभरि खेतमा बसाल्नु पर्छ ।’ चारैतिर छाडा गाई गोरु देखिएपछि बाली जोगाउनै सास्ती भइरहेको उनले बताए । जंगलमा लगेर छाड्दा पनि चुनौती हुँदै आएको अभियानकर्ताहरुले बताएका छन् । चौपायालाई कुनै गाउँ नजिक स्थानीयहरुले छाड्नै दिँदैनन् । जंगलमा समेत निकुन्जले अवरोध उत्पन्न गरिरहेको हुन्छ । चौपायाकै कारण नेपालगन्ज क्षेत्रमा महिनामा कम्तिमा एक दर्जन दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अभिलेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया