खासगरि तराई केन्द्रित समस्याको रुपमा मानिदै आएको बालविवाह मधेशी समुदाय भित्रको ठूलो समस्याको रुपमा रही आएको छ । सरकारले २० वर्ष पुगेपछि मात्र विवाह गर्नु पर्ने कानून लागु गरेपनि मधेशी समुदायमा १० वर्षमा विवाह, १५ वर्षमा गौना र १७ वर्ष भित्रै आमा बन्ने समस्या सरकारी स्तरमै चुनौती सावित भएको छ ।
विद्यालय भर्ना गराएको र कक्षा ५ पास हुन नपाउँदै घरको काममा संलग्न गराउने किशोरीको विवाह १२ वर्ष भन्दा पहिलै हुने गरेको विभिन्ने सर्भेहरुले देखाएका छन् । प्रहरीले बाँकेमा पछिल्लो ३ वर्ष भित्र २२ वटा बालविवाह विरुद्ध स्थलगत कारवाही गरेपनि सो भन्दा कयौं गुणा बढि विवाहहरु भारतीय भूमिमा सम्पन्न हुने गरेको पाइएको छ ।
जन्मदर्ता फेरिएको, विवाहको स्वरुप फेरिएको, भारतीय क्षेत्रमा गएर विवाह गरेको र मन्दिरमा मुण्डनको नाममा विवाह सम्पन्न गरेको सन्दर्भमा सञ्चारमाध्यममा पटकपटक समाचार आउने गरेका छन् । ‘सानो उमेरमा विवाह गर्दा केटा सजिलै पाउने र दाइजो पनि कम दिनु पर्ने भएकोले सानो उमेरको विवाहले प्राथमिकता पाएको हो’, मधेशी समुदायमा बालविवाह विरुद्ध अभियान चलाउँदै आएका भेरी वातावरणीय विशिष्ठता समूह बिग्रुपका कार्यक्रम संयोजक राम निवास यादवले भने, ‘यो गरिबी संग जोडिएको बहस हो ।’
‘मानिसले न्यूनतम रुपमा शिक्षा, स्वास्थ्य र सुरक्षित सामाजिक वातारण प्राप्त गर्न पाउने ब्यवस्था नभएका कारण बालविवाह गम्भीर सामाजिक समस्याको रुपमा अडिग छ’, यादवले भने, ‘यसलाई चिर्नका लागि थुप्रै किसिमका मापदण्ड र योजनामा काम गर्नु पर्ने देखिन्छ ।’ किशोरी प्रेमी संग जाँदा वा प्रेम सम्बन्धमा पर्दा सामाजिक इज्जत गुम्ने जोखिमलाई ब्यवस्थापन गर्न नसक्ने समुदायले बालविवाहलाई समाधानको रुपमा हेर्दै आएको यादवले बताए ।
‘२० वर्षको छोरीका लागि केटानै पाउन मुस्किल हुन्छ’, कारकाँदोका समयदीन गोडियाले भने, ‘धेरै छोरा छोरी भएका कारण शिक्षा लगायत ब्यवस्था राम्रो हुन नसकेपछि विवाह गरेर छोरीहरुलाई जिम्मेवार बनाउने गरिएको छ ।’
‘२० वर्षको उमेर हुँदा छोरी भाग्यो भने कसले जिम्मा लिने ?,’ लग्दहवा बस्ने नसिमा खाँले दैनिक नेपालगन्ज संग भनिन्, ‘हामीलाई छोरीको ग्यारेन्टी लिने मान्छे चाहियो ।’ २० वर्षको उमेरमा विवाह गर्नु पर्छ भन्ने जानकारी आफुलाई भएको बताउँदै उनले छोरीको लागि यति खतरा मोल्न नसकिने बताइन् ।
छोरी अर्काको सम्पत्ती भएको बताउँदै नसिमाले भनिन्, ‘हामीले सुरक्षा र रेखदेख गरिदिएको हो, जति चाँडै विहे भयो त्यति नै राम्रो हुन्छ ।’ विवाह पछिको स्वास्थ्य समस्या र चुनौती बारे आफुलाई जानकारी भएको दावी गर्ने उनले कस्तो समस्या हुन्छ भन्ने प्रष्ट पार्न सकिनन् ।
समुदायगत कुरो गर्दा मधेशी समुदायमा मागी विवाह र पहाडी समुदायमा भागी विवाहको अवस्था उच्च छ, बालविवाह सम्बन्धी विरुद्ध अनुसन्धान र विश्लेषणमा सक्रिय रहेका सिविन नेपालका प्रमुख सिद्धराज पनेरुले भने, ‘बालविवाहको अवस्था देशैभरि उच्च रहेको पाइयो ।’
‘बालविवाह अपराध हो भन्ने सचेतना पनि चौतर्फी रुपमा फैलिएको छ, मागी र भागीको रुपमा बालविवाह भइरहेको अवस्था पनि छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै पनेरुले भने, ‘विभिन्न प्रयासपछि केही हदसम्म बालविवाह घटेको र यसबारे अभिभावकहरु सतर्क भएको पाइएको छ ।’
‘धार्मिक र सामाजिक मुल्य मान्यताको रुपमा कुसंस्कारको रुपमा चलीरहेको परम्पराका आधारमा पनि बालविवाह हुन्छन्’, पनेरुले भने, ‘पछिल्लो अध्ययनबाट पहाडी समुदायका किशोर किशोरीहरु भागी विवाहमा बढि सक्रिय रहेको पाइएको छ ।’ ‘धेरै कारणहरु मध्ये प्रविधिको दुरुपयोग र त्यसबाट फैलिएको मानसिक प्रभाव पनि भागी विवाहको कारण हो’, पनेरु भन्छन्, ‘अभिभावकहरु सचेतना र शिक्षाको पक्षमा पछि परेका कारण यस्ता घटनाहरु दोहोरिने गरेका छन् ।’
बासका निर्देशक नमस्कार शाहले बालविवाह संस्कार संग जोडिएको विषय भएको बताएका छन् । यसलाई आफ्नो पहिचान र संस्कार भन्ने गलत मान्यताका कारण वर्षौं देखि समाजमा बालविवाह हुँदै आएको छ ।
बालविवाह बारे सामाजिक रुपमा अभियानहरु चलेपनि सरकारी स्तरबाट हुनु पर्ने कार्य प्रभावकारी रुपमा नभएको शाहको भनाइ छ । सरकारले जसरी खुल्ला दिसामुक्त अभियान संचालन गर्यो, त्यसैगरि बालविवाह विरुद्धको अभियानपनि चलाउन सके बालविवाह न्यूनीकरण हुने शाहको भनाइ छ ।
बालविवाह ‘गरिबी कनेक्सन’
दाइजो कम लाग्ने सुविधा र किशोरी भाग्ने डर बालविवाहको जरो