राप्तीपारिलाई नेपालगन्ज संग जोड्ने एकमात्र निर्माणाधीन सडक हुलाकी राजमार्ग समयमा ग्राभेल हुन नसकेका कारण स्थानीयहरु सास्ती खेप्न बाध्य छन् ।
नेपालगन्ज संग जोड्ने एकमात्र सडक वर्षाका कारण अधिकांस स्थानमा हिंड्न नसक्ने गरि हिलाम्मे भएपछि निर्माण कम्पनी विरुद्ध जनगुनासो बढेको हो । वर्षौंको प्रतिक्षा पछि जसोतसो निर्माण हुन लागेको राप्तीपारिलाई जोड्ने सडक हुलाकी राजमार्ग समयमा ग्राभेल हुन नसकेका कारण आवतजावतमा चुनौती थपिएको यात्रीले बताएका छन् ।
‘पुरैनीदेखि कम्दीसम्म र फत्तेपुरको सोनपुरदेखि कटकुईंयासम्म माटो र गिट्टी फिलिङको काम अघि बढेपछि राप्तीपारि क्षेत्रमा काम पूरा हुन सकेन’, निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज इन्द्र केसीले भने, ‘विभिन्न पुलको डाइभर्सन निर्माण गरिरहँदा पानी परेपछि काम अधुरो रहन गएको हो ।’
‘वर्षायाम अघि ग्राभेल हाल्न नसके आवतजावत नै अवरुद्ध हुने किसिमले यसअघि वन कार्यालय संग भएको विवादमा भनेका थियौं, हप्तौंसम्म काम अवरुद्ध भएका कारण बेलैमा ग्राभेल भएन’, केसीले भने, ‘तरपनि हामी निरन्तर प्रयासरत छौं ।’
२ महिना अघि जिल्ला वन कार्यालय र केहि स्थानीय ब्यक्तिहरुले राप्ती खोलाबाट गिट्टी झिक्न अवरोध उत्पन्न गरेपछि एक साता सम्म निर्माण कम्पनीको काम रोकिएकोले वर्षायाम अघि हुने काममा ढिलाई भएको केसीले बताए ।
बाँकेमा ४४.६ किलोमिटर सडक निर्माणका लागि सुरु भएको काम विच विचमा पूरा हुन सकेको छैन । ‘माटो मात्र हालिएको स्थानमा हिलाम्मेका कारण सवारी साधन फस्ने गरेका छन्’, नरैनापुरका खुर्सीद खाँले भने, ‘नेपालगन्ज पुग्न नै एक दिन खर्च हुने गरेको छ ।’ राप्तीपारिबाट दिनहुँ नेपालगन्ज आउने दुग्ध ब्यवसायी, गल्ला ब्यवसायी र हार्डवेयर कारोबारीलाई पनि बाटोले समस्या थपेको बताएका छन् । ‘ढिला भएकै कारण दुध बिग्रिने अवस्था आउँछ’, झगडियाका नरेश गद्दीले भने, ‘बाटोको विभिन्न स्थानमा ग्राभेल नभएकाले निकै समस्या खेप्नु पर्छ ।’
फत्तेपुरको नर्सरी क्षेत्रमा एक साता अघि मात्रै ग्राभेल गरिएको निर्माण कम्पनीले जनाएको छ । राप्तीपारिको अधिकांस स्थानमा कच्ची सडक रहेको र डोजरबाट खनेपछि ग्राभेल हाल्न नसकेका कारण परेको पानीले बाटो हिलाम्मे भएको हो ।
नेपालगन्जको पुष्पलाल चोकदेखि कटकुईंया गाबिसको सुईया अर्थात नेपाल भारत सीमाना सम्म ४४.६ किलोमिटर सडक कालो पत्रे निर्माण गर्न सुरु भएको हुलाकी राजमार्ग अहिले आधा सडकमा लेभल मिलाउने र ग्राभेल हाल्ने काम मात्र भएको छ । निर्माण कम्पनीले २.५ वर्षमा निर्माण सक्नु पर्ने हिसाबले ठेक्का लिएको जनाएको छ । २०७३ फाल्गुन ४ गते सम्झौता भएको सडक अझै गति लिन नसकेको स्थानीयहरुको गुनासो छ ।
६६ करोडको लागतमा बाँकेको हुलाकी सडक निर्माण कार्य अघि बढेको हो । ११ मिटर चौडाई ग्राभेल र त्यसभित्र साढे पा“च मिटर कालोपत्रे सडक बन्ने योजना रहेको सडक अहिले ग्राभेल हुने काम भइरहेको छ ।
बेहाल सडक, विवश जनता
ग्राभेल नहुँदा २ घण्टाको बाटोमा एक दिन खर्चिनु परेको गुनासो, कारोबार चौपट